काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको दोस्रो जहाज आउने मिति अनिश्चित भएको छ। चीनले यसअघि दिएको मितिअनुसार जहाज साउन ९ (शुक्रबार) काठमाडौं अवतरण गर्ने तालिका थियो।
चिनियाँसँग कागजातको समस्या त छँदैछ, त्यसमाथि उसले अंग्रेजी भाषा बोल्ने प्रशिक्षक पाइलट उपलब्ध गराउन नसक्दा दोस्रो जहाज आउने मिति अनिश्चित भएको हो। बजार हिस्सा ओगट्दै जाने निगमको रणनीति यो घटनाबाट चिनियाँकै कारण असफल हुँदै जान थालेको छ।
'चिनियाँ जहाज निर्माता कम्पनीले साउन ९ मा दोस्रो जहाज काठमाडौं अवतरण गर्ने तालिका दिएको थियो,' निगमका एक उच्च अधिकारीले बिहीबार नागरिकसँग भने, 'तर, अन्तिम समयमा आएर प्रशिक्षक पाइलट नभएकाले जहाज पठाउन नसकिने जानकारी गराए। अब जहाज आउने मिति अनिश्चित झैं भएको छ। यसखाले समस्या आउँछ कि भन्ने शंका हामीलाई पहिले नै थियो।'
उनका अनुसार जहाज अब कम्तीमा एक सातायता काठमाडौं आउने छैन। यसअघि आएको पहिलो जहाजको चीनमा दर्ता खारेज गरिएको सामान्य कागजात माग्दा त झन्डै डेढ महिना झुलाउने चीनले अब दोस्रो जहाजलाई अरू कति दिन झुलाउने हुन् ठेगान छैन।
निगमले चीनसँग अहिले लिन लागेको जहाज १८ सिटयुक्त 'वाई१२–ई' मोडेलको हो। यो अनुदानमा पाइने दोस्रो जहाज हो। यसअघि अनुदानको पहिलो जहाज ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) मोडेल यहाँ आएर नियमित व्यापारिक उडान सुरु गरिसकेको छ।
निगमका पाइलटहरूले चिनियाँ जहाज उडाउने तालिम नलिएका कारण ती जहाज उडाउन पनि चीनबाटै पाइलट ल्याउनुपर्ने बाध्यता छ। एमए–६० हालसम्म चिनियाँ पाइलटले नै उडाइरहेका छन्। तर, सँगै ककपिटमा निगमका पाइलट पनि तालिम लिइरहेका छन्।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार जहाज उडाउने पाइलटले विमानस्थल टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) सँग अंग्रेजी भाषामै कुराकानी गर्नुपर्छ। यो नियम संसारभरका उड्डयन प्राधिकरणको छाता संगठन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको हो।
नेपाली उड्डयन प्राधिकरण पनि आइकाओको सदस्य राष्ट्र हो। चीनबाट अंग्रेजी भाषा बोल्ने पाइलट आए भने सुरुमा तिनको योग्यता प्राधिकरणले प्रमाणित गर्नुपर्छ। त्यसपछि मात्र तिनले चिनियाँ जहाज उडाउन पाउँछन्।
यसअघि आएको एमए–६० उडानमा पनि यस्तै समस्या आएको थियो। अंग्रेजी भाषा बोल्न सक्ने पाइलट तुरुन्त उपलब्ध नगराइदिनु तथा चीनमा दर्ता खारेज भएको पत्र नपठाइदिँदा उक्त जहाज झन्डै दुई महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको थियो।
सम्बद्ध अर्का एक अधिकारीका अनुसार चीनसँग जहाज खरिद–बिक्री सम्झौता हुँदा यसबारे सबै स्पष्ट हुनुपर्थ्यो। चिनियाँले जहाजमात्र बेच्ने तर सहयोगी संयन्त्र उपलब्ध नगराउने गरेको यसबाट पुष्टि भएको छ।
'हामीले अमेरिकी जहाज निर्माता कम्पनी बोइङको जहाज उडाउन थालेको झन्डै तीस वर्ष भयो,' उनले भने, 'अझैसम्म पनि ती जहाजमा कुनै प्राविधिक समस्या आएर बोइङसँग परामर्श लिइरहेका छौं। जगेडा सामान भएसम्म उनीहरूले उपलब्ध पनि गराइरहेका छन्। तर, चीनसँग यसखाले संयन्त्र विकास गर्न सकेको छैन।'
चीनले गत असार पहिलो साता दोस्रो जहाज लिन निगमलाई पत्राचार गरेको थियो। त्यसपछि निगमका महाप्रबन्धक मदन खरेलको टोली असार १८ मा जहाज लिन त्यसतर्फ गएको थियो। खरेललाई असार २२ मा जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट म्यानुफ्याक्चरिङ कर्पोरेसनले उक्त जहाज हस्तान्तरण गरेको थियो।
जहाज आएपछि प्राधिकरणमा दर्ता गर्ने, एयर वर्दिनेस प्रमाणपत्र, वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिनेजस्ता प्रक्रिया सुरु गरी दुई साताभित्र नियमित व्यापारिक उडान सुरु गर्ने योजना निगमको थियो। यो जहाजलाई मुलुकको पश्चिमतर्फका दुर्गम भेगमा बढी प्रयोग गर्ने योजना निगमसँग थियो।
निगमको यो जहाजलाई प्राधिकरणले यसअघि नै '९एन–एकेएस' कलसाइन दिइसकेको छ। निगमले यो जहाजको नाम 'कोइली' राखेको छ। यसअघि आएको एमए–६० जहाजलाई भने 'रारा' नाम दिएको छ।
नेपाल र चीनबीच भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार एमए–६० दुई र वाई१२–ई चारवटा उपलब्ध हुनेछन्। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिनेछ।
सहुलियत ऋणमा पाइने चारमध्ये एउटा एमए–६० असोज १४ तथा बाँकी तीनवटा वाई–१२ई कात्तिक १३ मा आइपुग्ने आपूर्ति तालिका चीनले यसअघि नै निगमलाई दिएको थियो। निगमले यसापालिबाट सबै जहाजको बाहिरी रंग, आवरण ढाँचा (लिभरी) अहिले भएका जहाजमा भन्दा नयाँ स्वरूपको बनाएको छ।
'यसअघि एमए–६० ल्याएपछि जेजस्ता समस्या भोग्नुपरेको थियो, अब त्यस्तो नहोस् भन्नेमा धेरै नै सचेत थियौं,' सम्बद्ध अधिकारीले भने, 'तर, पनि हाम्रो कारण नभई चिनियाँकै कारण जहाज आउन ढिलाइ हुने भयो। चिनियाँसँगको कारोबार हामीलाई असाध्यै महँगो पर्ने भयो।'
चीनबाट पहिलो एमए–६० गत वैशाख १४ मा आएको थियो। त्यसको भोलिपल्ट निगमले जहाजको स्वामित्व पाएको थियो। नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर '९एन–एकेक्यु' कलसाइन पाएको उक्त जहाजको चीनमा दर्ता खारेज गरिएको कागजात्र पठाइदिन निगमले वैशाख २२ मा निर्मातालाई पत्राचार गरेको थियो।
उताबाट सकारात्मक आश्वासन आए पनि कागजात भने आउन ढिलाइ भइरहेको थियो। त्यसपछि यहाँको प्राधिकरणले पनि फेरि चिनियाँ प्राधिकणलाई पत्राचार गरी कागजात मागेको थियो। तारन्तार आग्रह गरेको ३६ दिन (जेठ २७) मा बल्ल उताबाट दर्ता खारेज भएको पत्र पठाइदिएका थिए। चीनले उत्पादन गरेको वाई१२–ई मोडेलको जहाजले सन् १९८२ मा पहिलो उडान गरेको थियो। १९८५ देखि उसले यस्ता जहाज उत्पादन गरिरहेको छ।