काठमाडौं-सुनकोसीमा गएको पहिरोले बाटो अवरुद्ध हुँदा नेपाल–चीनबीचको एकमात्र व्यापारिक कारोबार हुने तातोपानी नाका ठप्प भएको छ। पाँच दिनदेखि तातोपानी नाकामा सामान बोकेका कन्टेर रोकिएका छन्। चीनबाट आयात हुने ठूलो परिणामका स्याउ नाकामा रोकिँदा मूल्य उक्कालो लागेको छ।
व्यवसायीका अनुसार अहिलेको अवरोधले दसैं–तिहारसमेत प्रभावित हुनेछ। दसैंका लागि अहिलेनै व्यवसायीले सामान अर्डर गर्छन्।
'बाटो अवरुद्ध हुँदा सामान बोकेका कन्टेनर तातोपानी नाकामा थन्किएका छन्। यसले खासाका सामान आउन सकेको छैन,' सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजेन्द्र श्रेष्ठले नागरिकसँग भने, 'बाटो खुलाउन अझै केही समय लागे दसैंको लत्ताकपडा ल्याउन मुस्किल पर्छ। यसले उपभोक्तालाई समेत असर गर्छ।'
दसैं–तिहारलाई भनेर लोड गरिएका सामानले तातोपानी भन्सार भरिसकेको श्रेष्ठले बताए। उनका अनुसार अहिले तातोपानी भन्सार नाकामा चार सय कन्टेनर लोड भएर बसेका छन्। यो समय दिनमा कम्तीमा ३० देखि ४० ट्रक भित्रन्छ। यही बेला भएको अवरोधले उपभोक्तामा ठूलो असर गर्ने नेपाल हिमालय सिमापार व्यापार संघका प्रमुख कार्यकारी अधिकृत हिमाल थापाले बताए।
'चीनबाट ठूलो परिणामा फलफूल यो नाका हुँदै नेपाल आउँछ,' थापाले भने, 'यसले गर्दा चाडपर्बको बेलामा फलफूलको मूल्य अकासिन सक्छ।' यस नाकाबाट खासगरी स्याउ आयात हुन्छ। यसको असर बजारमा देखिसकेको छ। अहिले नै बजारमा स्याउको मूल्य २५० को हाराहारीमा पुगिसकेको छ। दिनमा ४ करोडसम्म राजश्व उठेको यो नाका बन्द हुदा दसै तिहारलाई भनेर लोड गरिएका लत्ता कपडा, जुत्ता, रेडिमेट सामान, विद्युतीय समाग्री नाकामै अड्किएर बसेका छन्।
वैकल्पिक रुटको रुपमा केरुङ नाका भए पनि यहाँबाट ठूलो परिणाममा सामान भित्रिन नसक्ने थापाले बताए। यो बाटोमा बेलाबेलामा पहिरो गइरहने समस्या छ। डोजर राखेर बाटो खुलाए पनि कच्चि सडक भएकाले दिनमा ५/७ वटाभन्दा धेरै गाडी आउन नसक्ने थापाले बताए। यो क्षमताले बजारको मागलाई पुरा गर्न सक्दैन्।
त्यस्तै कलकत्ता नाकाबाट पनि सामान ल्याउने गरिए पनि दसै नजिकिदै गएको यहाँबाट सामान ल्याउन धेरै समय लाग्छ। हङकङ, सेन्जिङ, गन्जाङ जस्ता सहरबाट कलकत्तामा सामान ल्याउन कम्तीमा ३०–३५ दिन लाग्ने र त्यहाँबाट काठमाडौं ल्याइपुर्यारउन १५/१६ दिन लाग्ने भएकाले यो रुट पनि तत्कालको समस्या टार्न गाह्रो हुने थापाले बताए। 'दसै धेरै नजिक छ,' थापाले भने, 'कलकत्ताको रुट समयका हिसाबले लामो हुन सक्छ।'
अवरुद्ध बाटो खुल्न अझै कम्तीमा २ हप्ता लाग्ने अुनमान गरिएको छ। सरकारले तदारुक्दा देखाएर छिटोछिटो गरेन भने बाटो खुल्न समय लाग्ने श्रेष्ठले बताए। सबैभन्दा पहिला त ताल भएर जम्मा भएको पानीको निकासी हुनुपर्योल। पानीको निकासी पछि मात्र अबरुद्ध बाटो खुलाउने काम हुने थापाले बताए।
अबरुद्ध बाटोमा गाडी हिड्न नसक्ने भएकाले बोकेर सामान ओहोरदोहोर गराउन सकिने तर लोड अनलोड गर्दा महंगो पर्न सक्ने थापा बताए। ट्रक पार्किङ र हिड्न सक्ने कस्तो अवस्था छ यस कुरालाई पनि ध्यान दिनु पर्ने थापाले बताए।
यहि समस्यालाई मध्यनजर गरेर खाडीचौरबाट लामोबाटो खोल्ने कुरा भइरहेको श्रेष्ठले बताए। यो बाटो खुलाउन सडक विभागसँग कुरा भइरहेको उनले जनाए। 'हाम्रो संघबाट पनि पहल गरिरहेका छौं,' उनले भने, 'सरकारको संवेदनशिलता आवश्यकता छ।'
खाडीचौरको बाटो खुले पनि ठूलो गाडी भने हिड्न सक्दैनन्। यो बाटोबाट चार पांग्रे गाडी मात्र हिड्न सक्ने श्रेष्ठ बताए। यो बाटो दुई तीन दिनमा खुल्न सक्ने उनले जानकारी गराए।
दसै धेरै नजिक आइसकेपछि नाका खुल्दा एकै पटक नाकामा दबाव पर्ने भएकाले बाटो छिटो खोल्नु पर्ने श्रेष्ठ बताए। 'नाकामा एकै पटक चाप पर्न सक्छ,' श्रेष्ठले भने, 'यसले नाकामा थप समस्या हुनसक्छ।'
सुनकोसीको यो भिषण पहिरोले त्यहाँका वासिन्दामा ठूलो पीडा भएकाले यसबाट उत्पन्न भएका समस्यालाई राज्यले छिटो सम्बोधन गर्नु पर्ने श्रेष्ठको भनाइ छ। 'पीडित स्थानियको पिडा कम गर्न सरकारले उनीहरूलाई व्यवस्थित गर्नुका साथै अबरुद्ध बाटोलाई पनि छिटो खुलाउनु पर्छ,' श्रेष्ठले भने, 'जति छिटो समस्या समाधान भयो उनीहरूलाई राहतको अनुभव हुन्छ।'