काठमाडौं-सरकारले मुलुकका कम विकसित क्षेत्रमा उद्योग स्थापना गर्न विशेष सहुलियत दिए पनि उद्योग स्थापना भने न्यून रहेको छ। संयुक्त राष्ट्र संघले तयार पारेको मानव विकास सूचकांकमा अन्तिममा परेको बाजुरामा एउटामात्रै उद्योग स्थापना भएको छ। यसबाहेक डोल्पा, जाजरकोट, मनाङ, ओखलढुंगा र सल्यानमा पनि एउटा/एउटा उद्योग स्थापना भएको उद्योग विभागको तथ्यांक छ।
ती जिल्लामा जलविद्युत, सिमेन्टदेखि साना लगानीका बीउ उत्पादन र होटल स्थापना भएका छन्। ती ६ जिल्लाको जनसंख्या ७ लाख ३९ हजार ८ सय छ भने स्थापना भएका उद्योगले ६ सय ८४ लाई रोजगारी दिएका छन्।
बाजुरामा गत वर्ष बीउ उत्पादन गर्ने इन्नोभेटिभ एग्रो सोलुसन उद्योग स्थापना भएको थियो। विनोद थापाको लगानी रहेको यो उद्योगबाट वार्षिक ३ हजार ५ सय २० किलो तरकारीका उन्नत बीउ उत्पादन गर्ने लक्ष्य छ। ३ करोड ९९ लाख लगानी भएको उद्योगले २९ जनालाई रोजगारी दिएको छ।
डोल्पामा २०४८ सालमै पहिलो उद्योग दर्ता भएको थियो। मध्यपश्चिमको यो हिमाली जिल्लामा त्यसपछि कुनै पनि उद्योग दर्ता भएका छैनन्। ब्लुसिप ट्रेकिङ कम्पनीका रुपमा दर्ताका भएको कम्पनीका सञ्चालक अंगदकुमार हमाल भएको तथ्यांकमा उल्लेख छ। कम्पनीले पर्यटकका लागि सेवासुविधा उपलब्ध गराउने उद्देश्ले १० कोठासहितको एक होटल सञ्चालन गरेको थियो। ४७ लाख १५ हजार लगानी भएको यो होटलमा २१ जनाले रोजगारी पाएका छन्।
मध्यपश्चिमाञ्चलको जाजरकोटमा २०६९ मा निर्वाणकुमार चौधरीले पहिलो उद्योग दर्ता गरेका थिए। यो जिल्लाकै एकमात्र उद्योगका रुपमा रहेको छ। अर्मेट मिनरल्स एन्ड मेटल नेपालको नाममा दर्ता भएको यो उद्योगमा ५ करोड लगानी रहेकोे विभागको तथ्यांकमा उल्लेख छ। फलाम उत्पादन गर्ने यो उद्योगमा ५५ जनाले रोजगारी पाएका छन्।
हिमाली जिल्ला मनाङमा मनाङ मर्स्याङदी जलविद्युत कम्पनी दर्ता भएको छ। यो नै यस जिल्लाको पहिलो उद्योग हो। गत वर्ष भारतीय र नेपालीको संयुक्त लगानीमा सुरु भएको यो जलविद्युतबाट १ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। ९० करोड लगानी भएको यसमा ८८ प्रतिशत लगानी भारतको छ। यसमा २ सय ५६ जनाले रोजगारी पाएका छन्।
ओखलढुंगा पूर्वाञ्चल विकास क्षेत्रमा एक मात्र उद्योग दर्ता भएको जिल्ला हो। गत वर्ष १ अर्ब २१ करोड ४० लाख लगानीमा मोलुङ हाइड्रोपावर दर्ता भएको छ। सात मेगावाट विद्युत उत्पादन क्षमता राखेको यो हाइड्रोपावरमा ५० ले रोजगारी पाएका छन्। स्वदेशी लगानीकर्ताबाट आयोजना निर्माण हुनेछ।
सल्यानमा २०६१ सालमा पहिलो उद्योग दर्ता भएको थियो। दाङ सिमेन्टका रुपमा दर्ता भएको उद्योगले सल्यानका २ सय ७३ लाई रोजगारी दिएको छ। ६ अर्ब २० करोड लगानी भएको यसमा सिमेन्ट, क्लिंकर, लाइमस्टोन उत्पादन भइरहेको छ।
औद्योगिक व्यावसायिक ऐनले दुर्गम क्षेत्रमा लगानी गर्ने व्यवसायीलाई आय कर र अन्य सुविधा दिने व्यवस्था गर्दैछ। ऐन आइसकेपछि दुर्गममा पनि लगानी बढ्ने उद्योग मन्त्री कर्णबहादुर थापाले बताए।