काठमाडौं-उपभोक्ताको अधिकार र अनुगमन गर्ने प्रशासनिक निकाय सिंहदरबार भित्र सञ्चालन भएका चमेनागृहहरू (क्यान्टिन) नै फोहर भेटिएका छन्।
वाणिज्य तथा आपूर्ति मन्त्रालयअर्न्तगत वाणिज्य तथा आपूर्ति व्यावस्थापन विभागको बजार अनुगमन टोलीले मंगलबार सिंहदरबार भित्रका मन्त्रालयमा गरेको अनुगमनमा उपभोक्त हितबिपरित क्यान्टिन सञ्चालन गरेको भेटाएको हो।
अनुगमन टोलीका प्रमुख कम्प्युटर अधिकृत हेरम्बराज पोखरेलले सिंहदरबारभित्र पाँचवटा मन्त्रालयका क्यान्टिनमा अनुगमन गरेको बताए। विभागको टोलीले मंगलबार गृह मन्त्रालय, उद्योग/वाणिज्य तथा आपूर्ति, सामान्य प्रशासन, अर्थ र प्रधानमन्त्रीको कार्यलयको क्यान्टिनमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा क्यान्टिनहरू व्यावसाय दर्ता तथा प्यान दर्ता नगरी सञ्चालन गरिएको पाइएको छ। क्यान्टिन सञ्चालन गर्दा सरसफाइमा ध्यान नदिएको, मूल्य सूची तथा साइनबोर्ड नराखेको पाइएको पोखरेलले बताए।
क्यान्टिनहरूमा मन्त्रालय भित्रकै कर्मचारी वा आफन्तले नै क्यान्टिन सञ्चालन गरेको पाइएको थियो। कर्मचारीकै मिलेमतोमा सञ्चालन भएका क्यान्टिनमा आवश्यक सरसफाइको कमी पाइएको थियो।
देशको सबैभन्दा ठूलो प्रशासनिक क्षेत्रमा सञ्चालन भएका क्यानटिनको सरसफाइको कुरामा गुनासो आउन थालेपछि अुनगमन सुरु गरिएको पोखरेलले बताए।
प्रधानमन्त्रीको कार्यलयमार्फत सिंहदरबारभित्र क्यान्टिनहरू धेरै फोहर भएको गुनासो आएपछि अनुगमन गरेको पोखरेलले बताए। उनका अनुसार प्रधानमन्त्रीको कार्यलयको हेलो सरकारबाट यस्ता गुनासाहरू आएका थिए।
उक्त मन्त्रालयहरू सञ्चालन भएका क्यान्टिनहरूलाई ३ दिन भित्र मूल्यसूची तथा साइनबोर्ड राख्न, खानेकुराहरू सफासुग्घर राखी छोपेर राख्न, नीलो सिलिन्डिरको प्रयोग गर्न, सरसफाइमा विशेष ध्यान दिन, एप्रोनको प्रयोग गर्न, ढक्कन भएको डस्टबिनको प्रयोग गर्न निर्देशन दिएको छ।
मन्त्रालयमा रहेका क्यान्टिनहरूमा अनुगमन जारी राख्ने पोखरेलले बताए। 'हामीले मंगलबार पाँचवटा मात्र क्यान्टिन अनुगमन गर्न भ्यायौं,' पोखरेलले भने, 'यो अनुगमनलाई निरन्तरदा दिने छौं। सम्पूर्ण क्यान्टिनलाई हामीले अनुगमन गर्दैछौं।'
सिंहदरबार भित्र अहिले २५ वटा मन्त्रालय र यसका प्रशासनिक निकाय रहेका छन्। सम्पूर्ण मन्त्रालयमा आफ्नै क्यान्टिन छन्। यी मन्त्रालय र प्रशासनिक निकायमा सयौं कर्मचारीले यही क्यान्टिन प्रयोग गर्छन्। त्यसबाहेक नेपाल टेलिभिजन र रेडियो नेपालको कार्यलय पनि सिंहदरबार भित्र छन्।