काठमाडौं-विदेशी लगानीको वातावरण बन्दै गएको भनिए पनि गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा विदेशी लगानी कम भित्रिएको छ। आर्थिक वर्ष २०७०/०७१ मा नेपालमा २० अर्ब ३१ करोड ३९ लाख ४० हजार रुपैयाँ विदेशी लगानी भित्रिएको छ। यो अघिल्लो वर्षको तुलनामा झन्डै एक अर्बले कम हो।
उद्योग विभागका महानिर्देशक ध्रुवलाल राजवंशीले लगानीको वातावरण बन्दै गए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा कम लगानी आएको बताए। आर्थिक वर्ष २०६९/०७० मा २१ अर्ब ४२ करोड १० लाख १० हजार रुपैयाँ विदेशी लगानी आएको थियो।
विभागको अभिलेख अनुसार गत वर्ष विदेशी लगानीका तीन सय चार उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०६९/०७० मा यस्ता तीन सय १७ उद्योग दर्ता भएका थिए। गत वर्ष ५७ देशका सात सय ४५ लगानीकर्ता नेपाल आएका छन्। वैदेशिक लगानीका उद्योगमा ६० प्रतिशतभन्दा धेरैमा पूरै विदेशी लगानी छ। बाँकीमा ३३ देखि ९९ प्रतिशतसम्म उनीहरुको लगानी छ।
गत वर्ष दर्ता भएका विदेशी लगानीका उद्योगमा १४ वटा ठूला छन्। मझौला २७ र साना दुई सय ६३ उद्योग दर्ता भएको विभागले जानकारी दिएको छ। यी उद्योग सञ्चालनमा आए ११ हजार सात सय चारजनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने विभागले जनाएको छ। गत वर्ष काठमाडौं जिल्लामा विदेशी लगानीका एक सय ३३ उद्योग दर्ता भएका छन्।
नेपालको गैरपर्यटकीय भिसा प्रक्रिया जटिल भएकाले अपेक्षाकृत विदेशी लगानी आउन नसकेको महानिर्देशक राजवंशी बताउँछन्। 'पाँचवर्षे भिसा सिफारिस रोकिँदा समस्या आएको छ,' महानिर्देशक राजवंशीले भने, 'विदेशी लगानीसम्बन्धी ऐन समयसापेक्ष नहुनुले पनि विदेशी लगानी हामीले चाहेअनुसार हुन सकेको छैन।' प्रभावकारी रुपमा उद्योग अनुगमन हुन नसक्नु पनि समस्याको रुपमा रहेको उनले बताए।
विदेशी लगानीका उद्योगमध्ये सबैभन्दा धेरै सेवासम्बन्धी छन्। तथ्यांकअनुसार सेवा उद्योग एक सय पाँच छन्। त्यस्तै पर्यटनसम्बन्धी ८७, कृषि तथा वनजन्य उद्योग ४७, निर्माणसम्बन्धी ४४, खनिजसम्बन्धी ११ र ऊर्जासम्बन्धी १० वटा छन्।
विदेशी लगानीकर्तामा चिनियाँ बढी छन्। गत वर्ष चीनका चार सय ४७ लगानीकर्ता नेपाल आएका छन्। उनीहरुले सबैभन्दा धेरै लगानी सेवा उद्योगमा गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरुले ३२ सेवा, २९ पर्यटन, २८ कृषि तथा वन, २० निर्माण र तीनवटा ऊर्जा उद्योग दर्ता गराएका छ।
चीनपछि सबैभन्दा धेरै लगानीकर्ता दक्षिण कोरियाका छन्। त्यहाँबाट ४७ जना आएका छन्। त्यस्तै अमेरिकाबाट ३६, भारतका २४ र बेलायतबाट २० जना लगानीकर्ता नेपाल आएका छन्।
आर्थिक वर्ष २०६९/०७० भन्दा गत वर्ष कूल उद्योग दर्ता (स्वदेशी र विदेशी दुवै) कम भए पनि लगानी भने धेरै छ। आर्थिक वर्ष २०६९/०७० जम्मा चार सय ४५ उद्योग दर्ता भएकोमा गत वर्ष यस्तो संख्या तीन सय ७१ मात्र छ। आर्थिक वर्ष २०६९/०७० मा चार सय ४५ उद्योगमा एक खर्ब १९ अर्ब ५९ करोड ११ लाख ३० हजार रुपैयाँ लगानी भएकोमा गत वर्ष बढेर दुई खर्ब ८९ अर्ब ३० करोड ७६ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको छ। उद्योगमा भनेअनुसारको लगानी नहुनुमा औद्योगिक व्यावसाय ऐन समयसापेक्ष नभएको र उद्योग अनुगमनको लागि बजेट अभाव भएको विभागले आफ्नो वार्षिक समीक्षामा उल्लेख गरेको छ।