केहीदिन अघिको बेमौसमी बाढीले धेरैतिरको धान खेतीमा क्षति गर्यो। प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलनामा गण्डकीमा यो पटक क्षति कम छ। अझ बागमती प्रदेशमा त झनै कम क्षति छ। पाक्ने बेलाको धान बाढीमा डुब्दा धेरैतिरका किसानले मार खेप्नुपरेको छ।
धानका विज्ञ बेनीबहादुर बस्नेतका अनुसार योपटक गण्डकी प्रदेशमा बेमौसमी बाढीले धान खेतीमा पारेको क्षति कम छ। यो हुनुमा गण्डकी प्रदेशका धेरैजसो ठाउँमा स्थानीय जातको धान खेती हुन्छ, जुन अन्यत्र भन्दा ढिला पाक्ने गर्छ। ‘मुस्किलले यो पटक धान जोगिएको हो। बेमौसमी वर्षाद गण्डकी प्रदेशमा पनि नपरेको होइन,’ बस्नेतले भने, ‘तर, अन्यत्रको तुलनामा गण्डकीमा मंसिरमा मात्र पाक्ने जातको स्थानीय धान रोपिएको छ। ढिला पाक्ने जातको धान रोप्दा क्षति कम भएको हो।’
पोखरा क्षेत्रमा मंसिरमा मात्र पाक्ने धानको खेती अधिक रहेको र त्यो धान काट्ने काम अझै सुरु भईनसकेको उनले बताए। उनका अनुसार तराईतिर हाइब्रिड धान बढी रोपिन्छ। धान काटेपछिको बालीका लागि पनि तराईका किसानले हाइब्रिड धान रोप्छन। तीन बालिका लागि हाइब्रिड खेती राम्रो हो। धान काटेपछि गहुँ, तोरी र तरकारी लगाउन हाइब्रिड खेती राम्रो हो। तर, गण्डकीका धेरै क्षेत्रमा हाइब्रिड धानको खेती कम हुँदा यो पटक धानको क्षति जोगिएको उनले बताए।
‘धान उत्तिसारो ढालेको पनि छैन। धान ढिला पाक्ने भएकोले यहाँ तोरी, गहुँ, र तरकारी कम उत्पादन हुन्छ,’ उनले भने, ‘प्रतिकुल मौसमका बाबजुत पनि यो पटक क्षति कम भएको हो। अब फेरि यस्तै वर्षा भयो भने अन्यत्रको तुलनामा यहाँ बढी क्षति हुन्छ।’
उनका अनुसार पोखराको शिशुवा, हेम्जा र पूर्वी नवलपुरका केही क्षेत्रमा हाइब्रिड धान खेती हुन्छ। तराई र पहाडी भेगमा एकैपटक जसो धान रोप्ने भएपनि पाक्ने बेलामा भौगोलिक वनोट अनुसार केहीदिनको अन्तर पर्ने उनले बताए। ‘हाइब्रिड एकैपटक रोप्ने भएपनि गण्डकी प्रदेशका जिल्लामा पाक्ने बेला बल्ल भएको छ। अब बल्ल धान काट्ने सुरु भएको छ,’ बस्नेतले भने, ‘तर तराईमा दुई साता अघि नै काटियो।’
पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनहर कडरियाका अनुभवमा पूर्वतिर सक्रिय भएको वायु पश्चिम सर्दै जाँदा गण्डकीमा आइपुग्दा कमजोर भएको र पश्चिमबाट सक्रिय भएको वायु सर्दै गण्डकीमा आइपुग्दा कमजोर हुँदा गण्डकी प्रदेशले क्षति कम भोगेको हो। ‘पूर्व र पश्चिममा बढी क्षति भयो। तर, गण्डकी र बागमतीमा कम क्षति छ। यो हुनुमा वर्षा नै नभएको भने होईन,’ कडरियाले भने, ‘दुवैतिरबाट भित्रिएको वर्षा गण्डकीमा आइपुग्दा केही कमजोर हुँदा जोगिएको हो।’ वर्षा गराउने वायु पूर्व र पश्चिममा सक्रिय भएपनि सर्दै गण्डकीमा आइपुग्दा कमजोर भएकोले धानमा क्षति कम भएको उनले बताए।
कडरियाले पनि गण्डकी प्रदेशमा हाइब्रिड धान रोप्ने चलन निकै नै कम रहेको बताए। हावापानी चिसो हुने भएकोले यहाँ सबैतिर धान काट्ने बेला नभएकोले जोगिन पुगेको उनले बताए। तराई र यो भेगमा एकै समयमा रोपेको धान पनि फरक समयमा पाक्ने गरेको उनले बताए। ‘एकै समयमा रोपिएको धान पनि तराइमा पाकेको थियो। तर, यहाँ पाकेको थिएन र अझै पाकिसकेको छैन,’ उनले भने, ‘तराईमा पनि बढी क्षति हुनुमा धान काटिसकेको भएर मात्र हो।
बोटमै रहेको भए क्षति कम हुन्थ्यो।’ यहाँको बिरौटा, फेवा, अर्मला, काहुँफाँट, लेखनाथ लगायतका फाँटमा अझै धान नपाकिसकेको उनले बताए। कडरियाका अनुसार गण्डकी प्रदेशमा पनि पोखरा क्षेत्रमा रोपिनेमा अधिकांश स्थानीय जातको धान छ। पोखरा क्षेत्रका धेरैजसो फाँटमा जेठोबुढो, मनसुली, गुर्दी, पहेँले, अनदी, गुडुरा लगायतका जातको धान रोपिन्छ। जुन, हाइब्रिड भन्दा निकै नै ढिलागरि पाक्ने गर्छ। ‘हुन त अन्यत्रको तुलनामा वर्षा पनि कम भयो। अनि एकैपटक रोपिएको हाइब्रिड पनि यहाँ ढिलागरि पाक्छ,’ उनले भने।
उनका अनुसार महानगरभित्र करिब ६५० रोपनी क्षेत्रफलमा धान क्षति भएको छ। महानगरभित्रको ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। त्यसमध्ये ५ सय रोपनी जतिमा काटेको धानमा क्षति पुगेको छ। काटेको खण्डको सतप्रतिशत नै क्षति छ। करिब १५० रोपनीको धान ढलेकोले केही क्षति पुगेको छ। ढलेको धानमा २५ प्रतिशत क्षति हुन्छ। ‘ढिलागरि धान पाक्नुमा चिसो हावापानी भएकोले त्यही अनुसार स्थानीय जात रोप्ने चलन छ,’ उनले भने, ‘महानगरले पनि पछिल्लो समय पोखरेली जेठोबुढोलाई ब्राण्डिङ गर्दा हाइब्रिड खेती कम भएको हो।’
उनको अनुमानमा महानगरभित्र हाइब्रिडले १५ प्रतिशत मात्र हिस्सा ओगट्छ। अरु सबै स्थानीय हुन्। जेठोबुढो ४० प्रतिशत र अन्य उन्नत ४५ प्रतिशत र बाँकी हाइब्रिडको खेती हुने गरेको छ। महानगरभित्र मात्र ३९ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ।
गण्डकी प्रदेश कृषि निर्र्देशनालयका निर्देशक बासु रेग्मीका अनुसार प्रदेशमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। त्यसमध्ये ११ सय ९२ हेक्टरको मात्र धान पूर्णरुपमा क्षति भएको उनले बताए। बाँकी ३ हजार हेक्टरको आंशिक क्षति रहेको रेग्मीको भनाई छ। ‘गण्डकी प्रदेशको १ लाख १३ हजार हेक्टर क्षेत्रफलको धान सुरक्षित रहेको छ। ढिलागरि पाक्ने जातको धानखेती भएकोले यो पटक जोगियो,’ रेग्मीले भने, ‘कास्की मात्र नभई तनहुँ, स्याङजा, पर्वत क्षेत्रमा पनि क्षति कम छ।’
ढिलागरि पाक्ने जातको धान रोप्ने भएकोले यो पटक जोगिन पुगेको उनले बताए। उनका अनुसार प्रदेशमा मात्र बेमौसमी धानखेतीले करिब १३ करोड रुपैयाँको क्षति गराएको छ। बढी क्षति नवलपुरको केही खण्डको धान हो।’ रेग्मीका अनुसार गण्डकी प्रदेशमा वर्षमा करिब साढे ३ लाख टन धान खेती हुन्छ। ‘भौगोलिक विविधता र ढिलागरि पाक्ने जातको धान खेती हुने भएकोले यो पटक बेमौसमी वर्षादबाट जोगिएको हो,’ उनले भने।
कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते धान खेती गर्दै आएका छन्। बाढी र डुबान क्षेत्रमा राम्रो उत्पादन हुने भएपछि पतीरामले दुई बिघा क्षेत्रफलमा यस वर्ष पनि चैते धानको रोपाइँ गरे।
राम्रो उत्पादन दिने र वर्षात् कम भयो भने दुईपटकसम्म उत्पादन दिने भएकाले बर्खे धान रोप्न छोडेर चैते धान रोप्न थालेको पतीरामले बताए। ‘उत्पादन बर्खे धानकै जस्तो हुन्छ। बर्खामा पानी कम पर्यो भने भदौमा दोस्रोपटक पनि उत्पादन दिन्छ’, उनले भने, ‘बर्खे धान रोपाइँ गर्दा बाढी र डुबानका कारण कहिल्यै राम्रो भएन। त्यसैले वर्षात्को समयमा धान रोप्नै छाडिदिए।’
भजनीका रुपलाल चौधरीले एक वर्षमा तीन खेती गर्छन्। उनी हिउँदे खेतीमा तोरी लगाउनुहुन्छ भने चैतमा चैते धान र असारमा पुनः धान रोपाइँ गर्छन्। ‘खेती गरेरै जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा वर्षौँदेखि छ। पहिले–पहिले बाढी र डुबान अत्यधिक हुने हुँदा हिउँदे बाली अर्थात् एउटा खेतीमात्रै गर्न सकिन्थ्यो’, रुपलालले भने, ‘चैते धानखेती सुरु गरेपछि खेत बाँझो राख्नुपरेको छैन। उजाड देखिने उर्वर फाँट वैशाख÷जेठको गर्मीमा पनि हरिया देखिन थालेका छन्।’
भजनी–८ का किसन चौधरीले ११ वर्षदेखि चैते धानखेती गर्दै आएका छन्। वर्षात्को समयमा पथरैया नदी र काढा नदीको डुबानका कारण खेती गर्न नसकिने भएपछि किसनले चैते धानबाट घरमा आवश्यक खाद्यान्नको आवश्यकता पूरा गर्दै आएका छन्।
‘बर्खाको समयमा बाढी र डुबानका कारण कृषियोग्य फाँट सबै बाँझा हुन्छन्। लगाएको खेती पनि डुबानले सबै नष्ट हुन्छ’, किसनले भने, ‘बर्खाको विकल्प फागुन–चैतमा धान रोप्ने र असारमा भित्र्याउने किसानको सङ्ख्या बढ्दै गएको छ।’ उत्पादनका हिसाबले पनि चैते धान राम्रो रहेको उनको बुझाइ छ।
नगरपालिकाको वडा नं. ८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चैते धानको जोन नै सञ्चालनमा ल्याइएको छ। नगरपालिकामा सबैभन्दा बढी चैते धानको आकर्षण वडा नं. ३, ६, र ८ मा भएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोधन अधिकारीले जानकारी दिए।
‘पालिकामा बजेट कम हुँदा चैते धान लक्षित कार्यक्रम यस वर्ष सञ्चालन गर्न सकिएन। किसानलाई प्राविधिक सहयोग भने गरिरहेका छौँ’, उनले भने, ‘बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका किसान चैते धानमा आकर्षित छन्। त्यसलाई फैलाउँदै लैजान नगरपालिकाले रणनीतिक योजना बनाइरहेको छ।’
नगरपालिकामा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैते धानको खेती भइरहेको छ। गत वर्ष आठ सय हेक्टर क्षेत्रफलमा किसानले चैते धानको खेती गरेका कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिए। उनका अनुसार चैते धानका चार–पाँच प्रजातिका छन्।
नगरपालिकाले किसानको पहिचान खुल्ने गरी कृषि व्यक्तित्व (प्रोफाइल) निर्माणको तयारी पनि गरिरहेको छ। नगरपालिकामा झण्डै ११ हजार हेक्टर कृषियोग्य जमिन रहेको कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिए। उनका अनुसार पालिकाका अनुसार वर्षायाममा झण्डै तीन हजार जमिन बाढीको समस्याका कारण बाँझो रहने गरेको छ।
टीकापुर नगरपालिकामा पनि चैते धानको विस्तार सुरु गरिएको छ। राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले चैते धान विस्तारको कार्यक्रम अघि सारेको हो।
नगरपालिकाको वडा नं. ६, ७ र ८ को डुबान क्षेत्रमा चैते धान विस्तार भइरहेको नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले जानकारी दिए। ‘गत वर्ष भन्दा यस वर्ष केही किसानले धानखेती गरेका छन्। त्यसमा नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको छ’, उनले भने, ‘किसानलाई चैते धानप्रति आकर्षण बढाउन आगामी दिनमा नगरपालिकाले कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।’
जोशीपुर गाउँपालिकामा पनि बर्सेनि चैते धानको खेती विस्तार हुँदै गएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख किशोर पन्तले गत वर्षको तुलनामा यस वर्ष चैते धान खेती गर्नेको सङ्ख्या बढेको बताए। ‘यस वर्ष झण्डै २० हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ भएको पाइन्छ। जुन गत वर्षको भन्दा बढी हो’, उनले भने, ‘गाउँपाकिकाले मात्रै १० हेक्टर क्षेत्रफलका लागि किसानलाई धानको बीउ वितरण गरेको थियो।’
गाउँपालिकको वडा नं. ५ मा किसानले सबैभन्दा बढी चैते धान रोप्ने गरेका भन्दै पन्तले यहाँ एक हजार एक सय २० हेक्टर कृषियोग्य जमिन रहेको जानकारी दिए।
कुनै समय चैते धानप्रति किसानको निकै आकर्षण रहेको जानकी गाउँपालिका–४ र ७ मा भने सिँचाइको समस्याका कारण खेती गर्न छाडेका छन्। राष्ट्रिय गौरवको आयोजना सुरु भएपछि सहजरूपमा सिँचाइको पहुँच नहुँदा किसानले चैते धानखेती छाडेका बिज वृद्धि कृषक सहकारी संस्थाका व्यवस्थापक गोविन्दराज रावतले बताए।
‘सहकारीले चैते धानको बिज वृद्धिको कार्यक्रमअन्तर्गत खेती गर्दै आएको थियो। त्यसमा किसानलाई प्रोत्साहन गर्ने काम पनि सहकारीले गर्दै आएको थियो’, रावतले भने, ‘आयोजनाको काम हुँदा सिँचाइमा समस्या भएपछि अहिले पूर्ण रूपमा धानखेती रोकिएको छ।’ सिँचाइको सहज सुविधा भए पुनः चैते धानखेती विस्तार कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ।
जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले पालिकाभित्र यस वर्ष करिब तीन हेक्टर क्षेत्रफलका मात्रै चैते धानको खेती भएको बताए। ‘केही वर्ष पहिले पालिकाभित्र मात्रै आठ–नौ हेक्टरमा यो धानखेती गरिन्थ्यो। सिँचाइको सहज सुविधा नहुँदा अहिले अधिकांशले छाडेका छन्’, उनले भने। रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...