दुर्गा प्रसाद पौडेलको टोली दुई वर्ष अगाडि म्याग्दीको गाउँमा पुगेको थियो। उनीहरूको उद्देश्य गाउँका महिलालाई स्वास्थ्य सम्बन्धी जानकार दिनु थियो, खासगरी गर्भावस्थाको विषयमा। उनीहरूले ल्यापटपबाट जानकारीमूलक प्रोग्राम भएको भिडियो देखाए।
'भिडियोबाट दिएको जानकारी धेरै प्रभावकारी देखियो,' पौडेलले भने, 'हामी निकै उत्साही भयौं।'
उनीहरू त्यो उत्साहलाई खेर जान दिएनन्। वेबसाइटबाट पनि यसलाई प्रसार गर्न खोजे तर यो अलि प्रभावकारी हुन सकेन। उनीहरूले एप्स बनाउने जुक्ति निकाले। टोलीका सदस्य अंकित बाटाजुले एप्स बनाउने काम सुरु गरिहाले 'आमाको माया'। एप्स बनाउँदाबनाउँदै बाटाजु जापान लागेपछि पौडेलले एप्सलाई पूर्णता दिए।
सफ्टवयर इन्जिनियरिङका विद्यार्थी पौडेल पछिल्लो समय बजारमा देखिएको एप्सको चर्चाबाट उत्साही छन्। एप्समै आफ्नो करियर खोज्दै गरेका स्याङ्जाका २५ वर्षे पौडेल भन्छन्, 'एप्समा केही गर्न सक्ने अवस्था छ।' यहि भविष्य देखेरै उनी एप्स बनाउन तल्लिन छन्।
प्रविधि र मान्छेलाई एप्सले जोड्दै छ। यागितेनमा काम गर्ने पौडेलले बनाएको 'आमाको माया' एप्सलाई अहिले मकवानपुरका चार वटा हेल्थ पोस्टमा प्रयोग गरिदै छ। गर्भावस्था भएपछि के के गर्नु पर्छ, के के कुरामा ध्यान दिनु पर्छ जस्ता विषयमा एप्सले जानकारी दिन्छ। यही एप्समार्फत अहिले ती हेल्थपोस्टबाट महिलालाई जानकारी दिइन्छ। पौडेलकै कम्पनीले उक्त हेल्थपोस्टममा मोबाइल फोन पनि उपलब्ध गराएको छ।
छ सात वर्षअघि नेपालमा वेबसाइट बनाउने काम निकै लोकप्रिय थियो। धेरैले आफ्नो वेबसाइट बनाए। वेबसाइट बनाउने सयौं कम्पनी आए। त्यही अवस्था अहिले एप्स बनाउनेको छ। छ वर्षदेखि एप्स बनाउन तल्लिन रहेका एप्स डेभलपर विश्वास ढकालले भने, 'अहिले एप्स बनाउने कम्पनी सयौंको संख्याका आइसके।'
सन् २००८ देखि नेपालमा एप्स बनाउन सुरु भएको उनी बताउँछन्। नयाँनयाँ मोबाइल हातमा पर्न थाले पछि नयाँ एप्सको खोजी धेरै भइरहेको छ।
उनी अहिले चार वटा कम्पनीसँग आबद्ध भएर विभिन्न किसिमका एप्स बनाइरहेका छन्। कम्पनीहरू दिनप्रति दिन थपिदै छन्। कम्पनीमार्फत मात्र होइन व्यक्तिगत रुपमा पनि एप्स बनाउन सकिन्छ। अहिलेसम्म उनले सयभन्दा धेरै एप्स बनाइसकेको बताए।
कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) का अध्यक्ष विनोद ढकालले एप्स निर्माणमा दक्ष जनशक्ति लागिरहेको बताए। 'यसमा राम्रो करिअर छ, बजार र दायरा फराकिलो भएपछि व्यवसाय र आम्दानी पनि बढिरहेको छ, त्यसैले यसमा आउने युवापुस्ता बढिरहेका छन्। हामीले नेपाली एप निर्माण यसको प्रवर्द्धन र विस्तारका लागि नै भनेर सफ्टेकको आयोजना वर्षेनी गर्दै आइरहेका छौं,' उनले भने।
बजार हेरेर एप्स बनाउन सकियो भने सफलता पाउन सकिने यसमा संलग्न युवाहरू बताउँछन्। एप्स बनाउन कुनै कम्पनीसँग संलग्न हुनुपर्दैन्। घरमै बसेर आफ्नो कलालाई तिर्खान सकियो भने घरमै बसेर आफ्नो करियर बनाउन सकिने युवाहरू बताउँछन्।
एप्समा रुचि राख्ने दिक्षित भट्टले 'ब्लामेथेस्टर' नामको एप्स बनाएका छन्। उनको एप्स ज्योतिषी सम्बन्धी हो। चिना बनाउने, ग्रह दशा हेर्ने परम्परालाई आधुनिक बनाउने उनको एप्सले सहयोग गर्छ। 'ज्योतिषी पेशामा लागेकालाई यो एप्सले सहयोग गर्छ,' भट्टले भने, 'भारतमा यसको चलन धेरै भएको छ।' उनले आगामी दिनमा म्युजिकल एप्स बनाउन लागेको जानकारी गराए।
तपाइको मोबाइलमा लोडसेडिङ हेर्ने एप्स त पक्कै छ होला। यसले छिटोछिटो परिवर्तन हुने लोडसेडिङ तालिका हेर्न सजिलो बनाएको छ। यो एप्स बनाएका हुन एजिला श्रेष्ठका दम्पत्तिले। उनीहरू बनाउको एप्स हो 'नेपाल लोडसेडिङ सेड्युल'। यो एप्स एजिला श्रेष्ठका दम्पत्तिले बनाएका हुन्।
कम्प्युटर इन्जिनियरिङ पढेकी श्रेष्ठले यो क्षेत्र अहिले तीब्र रुपमा विकास भइरहेको बताइन। 'यसमा स्कोप राम्रो छ,' उनले भनिन्, 'भविष्यमा राम्रो पेशा बन्न सक्ने देखिन्छ।' एप्स बनाउँदा धेरै लगानी गर्न नपर्ने तर मेहनत भने धेरै गर्नु पर्ने उनले बताइन। पछिल्लो समय हरेक व्यक्तिको हातमा मोबाइल पुगेपछि एप्सको मार्केट पनि बढेको उनको अनुभव छ।
नेपाली युवाले बनाएको एप्सले विश्व बजारमा पनि प्रशंसा पाउँदैछन्। दुई वर्ष अघि दिपेन चापागाँई र रिचन श्रेष्ठको समूहले निर्माण गरेको एनलोकेट मोबाइल एप्सले पिभोट नेपाल प्रतियोगितमा ४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको थियो।
दैनिक जीवनमा काम लाग्ने साधारण किसिमका एप्स बनाउन सकियो भने बजारम छिट्टै चर्चित हुने यसमा संलग्न युवाहरू बताउँछन्।