काठमाडौं-मुख्य सचिव र नेपाल राष्ट्र बैंकका गभर्नरले अनुदान सुविधा दिन नहुने भन्दै अडान लिएपछि माथिल्लो कर्णालीको आयोजना विकास सम्झौतामा (पिडिए) अन्योल उत्पन्न भएको छ।
पिडिए छलफल टुंग्याउन अर्थ मन्त्रालयका अधिकारीसहित लगानी बोर्ड र जिएमआरबीच बिहीबारदेखि भएको वार्ता शनिबार पनि टुंगो नलागेपछि समय लम्बिएको छ। शनिबार साँझदेखि नै बोर्डले यसको राजनीतिक तहबाटै निकास खोज्ने प्रक्रिया पनि सुरु गरेको छ।
मुख्य सचिव लीलामणि पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा ओजनाको प्रवर्द्धक भारतीय जिएमआर इनर्जी कम्पनीलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने विपक्षमा छन्। अनुदान दिनेबाहेक अन्य सम्पूर्ण विषयमा टुंगो लागे पनि राज्यकोषबाट अनुदान दिन नहुने उनीहरुको तर्क छ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत २०७९/८० सम्म बिजुली उत्पादन गर्ने प्रवर्द्धकलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ। स्वदेशी निजी क्षेत्रलाई यस्तो अनुदान दिनेमा सकारात्मक रहे पनि निर्यातमूलक आयोजनाको हकमा दिन नहुने मुख्य सचिव र गभर्नरको अडान छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले समेत अनुदान दिएर पिडिए गर्न नहुने तर्क राखेकाले समस्या जटिल बनेको लगानी बोर्ड स्रोतले बतायो। एमालेका केही व्यक्तिको अनुदान दिनेमा असहमति रहेपछि बोर्ड अधिकारी शनिबार गृहमन्त्री बामदेव गौतमसमक्ष पुगेका थिए। बोर्ड स्रोतले भन्यो, 'बोर्ड सञ्चालक समितिको बैठक आइतबार बस्नेछ, यसपछि केही निकास निस्केला।'
राजनीतिक तहमै छलफल गरेर अनुदान विवादको टुंगो लगाउने तयारी भइरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलले बताए। 'मुख्य सचिव र गभर्नर पनि पिडिए गर्नै हुन्न भन्नेमा हुनुहुन्न,' उनले शनिबार नागरिकसँग भने, 'वार्ता भइरहेको छ, एक/दुई दिनमा सहमति जुट्छ।'
राष्ट्रिय योजना आयोग उपाध्यक्ष पोखरेलको नेतृत्वमा गठित प्राविधिक कार्यदलको सदस्यसमेत रहेका पौडेल र खतिवडाले प्रतिवेदनमा गत साता लिखित असहमति जनाएका थिए। त्यसयता जिएमआरसँग पटकपटक छलफल हुँदै आए पनि पिडिए प्रक्रिया लल्बिँदै गएको बोर्ड अधिकारी बताउँछन्।
बोर्डका अनुसार जिएमआरले निर्माण अवधिभर करिब साढे नौ अर्ब रुपैयाँ भ्याट तिर्छ। निर्माण सकिएपछि उसलाई साढे चार अर्ब रुपैयाँ बराबरको भ्याट फिर्ता दिने हो। राज्यकोषबाट नगदै अनुदान दिन नपर्ने पनि बोर्ड अधिकारीले बताए।
चालु वर्षको वर्षको बजेट संसदले पारित गरेको छैन। 'बजेटमा अनुदानको व्यवस्था राखिए पनि बजेट पास गर्दा अनुदान दिने वा नदिने भन्ने निर्णय हुन्छ, बोर्डका एक उच्च अधिकारीले भने, 'बोर्डले चाहेर पनि दिन सक्दैन, यसमा विवाद गर्नु व्यर्थ छ।'
अनुदान विवादले पिडिए रोकिन नहुँने भन्दै पूर्व ऊर्जा मन्त्री प्रकाशशरण महतले जलविद्युत विकासमा बाह्य लगानी ल्याउने वातावरण सिर्जना गर्नुपर्ने बताए। 'अनुदानको सुविधा आन्तरिक लगानीकर्तालाई दिने गरी ल्याइएको हो, अहिले बाह्य लगानीलाई समेत दिने भनिएको छ,' उनले नागरिकसँग भने, 'अनुदान नदिने गरी सहमति गर्न सकियो भने राम्रो हो तर यही कारणले लगानी फर्कने अवस्था निम्त्याउनु हुँदैन।'
अनुदान दिनै हुन्न र दिनैपर्छ भन्नेमा विवाद गर्नुभन्दा बीचको बाटोबाट सहमति निकाल्नुपर्नेमा पनि महतले जोड दिए। उनले भने, 'लगानी बोर्ड र कम्पनीको छलफलबाट सहमति खोज्न सकिन्छ तर कम्पनी फर्किने अवस्थामा पुर्याेउन हुन्न।'
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा ४५ दिनभित्र विद्युत व्यापार सम्झौता (पिटिए) र पिडिए गर्ने निर्णय भएको थियो। पिटिएमा प्रारम्भिक हस्ताक्षर भए पनि झण्डै ४० दिन गुजि्रसक्दा पिडिएको टुंगो लागेको छैन।
आयोजनाबाट १२ प्रतिशत बिजुली र २७ प्रतिशत निःशुल्क सेयर दिने समझदारी भइसकेको छ। बोर्डका अनुसार जिएमआरले सेयरबापत आयोाजना सञ्चालन अवधिसम्म सरकारलाई करिब १ खर्ब ४४ अर्ब रुपैयाँको सम्पत्ति उपलब्ध गराउनेछ भने एक खर्ब २१ अर्ब रुपैयाँ बराबरको रोयल्टी तिर्नेछ।
अछाम, दैलेख र सुर्खेत जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि छुट्टै दुई मेगावाटको आयोजना बनाउन पनि जिएमआर सहमत भएको छ। यसै गरी बिजुली निर्यात गर्न चार सय केभीको ७६ किलोमिटर लामो अन्तरदेशीय प्रसारण लाइन सरकारकै स्वामित्वमा बनाउन पनि कम्पनी तयार रहेको उल्लखे छ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले भने माथिल्लो कर्णालीबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा छोएरमात्रै निकासी हुने हुँदा अनुदान दिनु उचित हुने बताउँदै आएका छन्। सिँचाइ तथा तल्लो तटीय क्षेत्रमा पर्ने असरबारे भने पिडिएमा हस्ताक्षर भएको ६ महिनाभित्र तेस्रो पक्षले वातावरणीय अध्ययन गर्ने र उक्त अध्ययनले गरेको सिफारिस जिएमआरले पूरा गर्नुपर्नेछ।
प्राविधिक टोलीले सिँचाइ आयोजनामा असर पर्न नहुने, रोजगारीको सुनिश्चितता र सरकारले कम जोखिम लिनुपर्ने विषय प्रतिवेदनमा समेटेको छ। कैलाली जिल्लामा बनिरहेका रानी जमरा, कुलरिया र बर्दियाको राजापुर सिँचाइ आयोजनामा प्रतिकूल असर नपर्ने गरी पिडिए हुनुपर्नेमा निचोड निकालिएको छ।
दुई ठूला नदी कर्णालीमा मिसिने हुँदा रानी जमरा, कुलरिया र राजापुर सिँचाइ आयोजनाका लागि पर्याप्त पानी पुग्छ। माथिल्लो कर्णाली पिकिङ (तीन घन्टा पानी सञ्चित गर्न सकिने) आयोजना भएकाले एकैपटक नदीमा छोडिने पानीले पार्ने असररको जिएमआरले सुनिश्चित गर्ने पनि सहमति भइसकेको छ।