काठमाडौं-मलेसिया भिएलएन नेपाल प्रालिले मलेसियन भिसा प्रोसेसिङ शुल्कको नाममा रकम लिइरहेको विषयमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अनुसन्धान गर्ने भएको छ।
गत नोभेम्बर १ देखि मलेसियन दूतावासले कामदारको भिसा शुल्क सात सय रुपैयाँबाट बढाएर ३९ सय पुर्यााएको छ। दूतावासले ३९ सय रुपैयाँ लिए पनि सात सय रुपैयाँको मात्रै रसिद दिन्छ। बाँकी रकम प्रोसेसिङ शुल्कका नाममा भिएलएनले लिन्छ। उक्त रकम लिने भिएलएनको वैधता जाँच्न संसदीय समितिले छानबिन गर्न लागेको हो। समितिले विभिन्न निकायबाट कागजपत्र मगाएर अनुसन्धान गर्ने जनाएको छ। आइतबार बसेको समिति बैठकले सात दिनभित्र अनुसन्धान गर्ने निर्णय गरेको छ। भिएलएनले मलेसिया जाने कामदारलाई आर्थिक भार थपेको समितिको निष्कर्ष छ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको भिएलएनले कामदारमाथि आर्थिक भार थप्ने गरी रकम उठाएको गुनासो आएपछि श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङसँग जानकारी मागेको समितिका सभापति प्रभु साहले बताए। मन्त्री गुरुङले लिखित जवाफमा भिएलएनलाई अवैधानिक र गैरकानुनी भन्दै श्रमले कारबाही गर्ने तयारी गरे पनि परराष्ट्रले उसैलाई साथ दिएकाले अन्योल भएको बताएका छन्।
साहले कम्पनी रजिस्ट्रारको कार्यालय, मलेसियास्थित नेपाली दूतावास लगायत सम्बद्ध निकायबाट भिएलएनको कागजपत्र झिकाएर छानबिन गर्ने बताए। 'भिएलएनमाथि अनुसन्धान हुन्छ, त्यसपछि कारबाहीको प्रक्रिया अगाडि बढ्छ,' उनले भने।
भिएलएनले गैरकानुनी काम गरेको भन्दै श्रम तथा रोजगार मन्त्रालयले कारबाही गर्न खोजेको थियो। तर, परराष्ट्रले गत जेठमा दूतावासले शुल्क बढाउन नेपालसँग सहमति लिनु नपर्ने बेहोराको पत्र पठाएको थियो। परराष्ट्रले जेठमा अर्थ मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई पठाएको पत्रमा भिसा प्रोसेसिङ शुल्क वृद्धि र अन्य व्यवस्था मलेसिया सरकारको आन्तरिक मामिला र अधिकार भएकोले सोसम्बन्धी शुल्क र प्रक्रियाबारे नेपाल सरकारलगायत अन्य कुनै पनि देशको पूर्वसहमति लिनु नपर्ने आशय थियो।
भिएलएन नेपाल प्रालिका प्रबन्ध निर्देशक राम श्रेष्ठ भने आफूहरुले कानुनअनुसार दर्ता भएर नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत सम्बन्धित सबै निकायबाट अनुमति लिई कारोबार गरिरहेको बताउँछन्। आफूहरुले कानुनले तोकेअनुसारको कर बुझाइरहेको उनले जानकारी दिए।
सभापति साहका अनुसार संसदीय समितिमा बायोमेटि्रकका विषयमा पनि श्रम मन्त्रालयले विरोध गर्दागर्दै परराष्ट्रले साथ दिएको राज्यमन्त्री गुरुङले बताएका थिए। बायोमेटि्रकका विषयमा पनि मन्त्रालयबीच छलफल गरेर थप अनुसन्धान गर्ने समितिले जनाएको छ। मलेसियाको बेस्टिनेटसँग सम्झौता गरेर नेपाल स्वास्थ्य व्यवसायी महासंघमा आबद्ध ४६ व्यवसायीले मलेसिया जाने कामदारको स्वास्थ्य परीÔणमा करिब १५ सय रुपैयाँभन्दा बढी उठाइरहेका छन्। मलेसिया सरकारले कामदार आपूर्ति गर्ने नेपाललगायत १५ मुलुकमा बायोमेटि्रक प्रणाली लागू गर्ने भन्दै बेस्टिनेट कम्पनीलाई एजेन्ट तोकेको छ। त्यही कम्पनीसँग नेपालमा महासंघले सम्झौता गरेको हो। बायोमेटि्रकका लागि आवश्यक उपकरण र सफ्टवेयर जडान गर्न ४६ स्वास्थ्य संस्थाले बेस्टिनेटलाई आठ लाख रुपैयाँका दरले बुझाएका छन्। उनीहरुले वर्षेनी दुई लाख ६४ हजार रुपैयाँ तिरेर सफ्टवेयर नवीकरण गर्नुपर्ने हुन्छ।
नेपाल सरकारले स्वीकृति नदिएका मुलुकमा कामदार गइरहेको विषयमा बुझ्न समितिले श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। नेपाल सरकारले स्वीकृति नदिएका मुलुकमा कामदार कसरी भइरहेका छन्, बुझेर समितिलाई जानकारी दिन निर्देशन दिइएको सभापति साहले बताए। 'कुन म्यानपावरले कति कामदार पठाएका छन्, यस विषयमा छानबिन हुन्छ र त्यही अनुसार कडाइ पनि,' साहले नागरिकसँग भने।