ड्यामसाइट् (सिन्धुपाल्चोक)- नयाँ ट्रयाकले अवरुद्ध अरनिको राजमार्ग जोडेपछि व्यापारीले मंगलबारबाट मालबाहक कन्टेनर भ्यान सञ्चालनमा ल्याएका छन्।
दसैं लक्षित चिनियाँ सामग्री बोकेर ट्रयाकमा गुड्दै एकै दिन ३५ कन्टेनर राजधानी भित्रिएका छन्। यससँगै ढिलै भएपनि चाडबाडमा चिनियाँ सामग्री सहज आपूर्ति हुने विश्वास निजी क्षेत्रले गरेको छ।
कान्ले पहिरो ४५ दिनदेखि टुटेको चीन जोड्ने राजमार्ग सम्पर्क ट्रयाकले स्थापित गरेपछि सोमबारबाटै साना तथा मझौला यातायात साधन तातोपानी–काठमाडौं वारपार गर्न थालेपनि व्यापारीले औपचारिक रुपमा समारोह नै गरेर मालबाहक कन्टेनर सञ्चालनमा ल्याएका हुन्। नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष प्रदीपजंग पाण्डेले कन्टेनर सञ्चालन शुभारम्भ गरे। राजधानीदेखि पहिरो क्षेत्रबाट खोलिएको ट्रयाकमा गाडीमा गुड्दै उनी राम्चे पुगेका थिए।
नेपाल–चीन कारोवार र स्थानीय समस्यालाई ध्यान दिंदै आफ्नै पहल र प्रयत्नमा राजमार्ग सञ्चालनमा ल्याएको भन्दै उनले निजी क्षेत्रलाई धन्यवाद दिए। 'निजी क्षेत्र सरकारको सहयोगी पनि हो। यो तथ्य यहाँका व्यापारिले आत्मसात गर्दै पूरा गरेका छन्,' मालबाहक कन्टेनर भ्यान सञ्चालन गर्दै भने। पहिरोले दैनिक १३ करोड रुपैयाँका चिनियाँ सामग्री आयात हुने राजमार्ग अवरुद्ध हुँदै सबैभन्दा ठूलो मार निजी क्षेत्रका साथै मध्यमबर्गीय नेपाली उपभोक्ताले खेप्दै आएका थिए।
व्यापारीले तीन साता अघि नै राम्चेको कल्लेरीबाट डेढ सय मिटर उचाइ लिंदै तीन किमी सडक ट्रयाकले ड्यामसाइट छिचोलेर अवरुद्ध राजमार्ग जोडेका थिए। सुनकोसी तालको बहाब र निरन्तरको वर्षाका कारण राजमार्ग सञ्चालनमा आउन भने ढिलाइ भयो। घटनापछि पहिलो पटक सोमबार एम्बुलेन्स, पर्यटन, सरकारी लगायत २५ वटा साना तथा मझौला गाडी तातोपानी–राजधानी वारपार गरेका थिए। 'ट्रायल' को रुपमा केही कन्टेरन पनि गुडेका थिए।
एक सातामा राजमार्ग जोड्ने लक्ष्य साथ व्यापारीले भदौ ३१ बाट ट्रयाक खन्न थालेपनि निरन्तरको भारी बर्खाले उनीहरुलाई साथ दिएन। सरकारले सेनामार्फत प्राथमिकताको ड्याम–टेकानपुर– धुस्कुन–सुनकोसी ट्रयाक खोल्न थालेपछि असन्तुष्टि जनाउँदै व्यापारी आफैं कस्सिएका थिए। सातादेखि सेनाले नदी पारी (दायाँ) खनेको ट्रयाक पनि सञ्चालनमा आएको छ। दाबी र सुनकोसी खोलामा बेलिब्रिज नराखिएकाले राजमार्ग भने जोडेको छैन।
व्यापारीको सडकलाई सरकारले सहयोग गर्दा सेनाले आपत्ति जनाएपछि दुबै बीच कसले पहिला काम सक्ने भनेर प्रतिस्पर्धा नै भएको थियो। प्रतिस्पर्धाले दुबै सडक छिटो सम्पन्न भइ सञ्चालनमा आएपछि स्थानीय भने मख्ख छन्। यो ट्रयाकमा धेरै चट्टान काटिएकाले 'फोरह्वील' नभएका गाडी पनि चल्न सक्छन्। यो ट्रयाक एकोहोरो भएपनि अधिकांश स्थानमा 'साइट' दिन मिल्छ। हिलोले सताउने स्थानमा ग्राभेलिङ गरिएको छ भने अत्यावश्यक ठाउँमा जाली गाह्रो लगाइएको छ। पहिरो क्षेत्रको ट्रयाकमा भने क्षण–क्षणमै ढुंगामाटो बगेर थुप्रिने भएकाले त्यहाँ एउटा एस्क्साभेटर तैनाथ राखिएको छ। चाँडो बाटो बिगार्ने भएकाले केही दिन यात्रु बस यहाँबाट चल्ने छैनन्।
राजमार्ग अवरुद्ध हुँदा माथिल्लो तटीय क्षेत्रका १४ गाविस नाकावन्दीमा पर्नुका साथै नजिकिंदो दसैंमा चिनियाँ सामग्रीको व्यापारी चौपट हुने देखिएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ र नेपाल ट्रक कन्टेनर व्यवसायी संघले व्यापारीबाट खर्च जुटाउने गरी ट्रयाक खोल्ने कामको अगुवाइ गरेका थिए। ट्रयाक खोल्न थालिएसँगै तत्काल राजमार्ग सञ्चालनमा आउने आसमा व्यापारीले १२ सय कन्टेनर दसैं लक्षित चिनियाँ सामग्री (लत्ताकपडा, जुत्ता, चप्पल) झिकाइ सकेका छन्। ६ सय कन्टेनर सामग्री खासास्थित गोदामबाट अघि बढेका छन् भने बाँकी गोदाममै छन्।
तातोपानी भन्सारबाट जाँचपास भएर सय कन्टेनर भ्यान बाह्रविसेमा आइपुगेका छन्। बुधबार ती राजधानी भित्रने छन्। केही दिनयता व्यापारीले भरियालाई बोकाएर चिनियाँ सामग्री राजधानी भित्र्याउँदै आएका थिए। सामग्री बोकेर आयात गर्न थालेपछि भन्सारले व्यवहारिकता हेर्दै खुला भन्सार गर्दै आएको थियो। राजमार्ग अवरुद्ध हुँदा दैनिक १३ करोड रुपैयाँको आयात र झण्डै २ करोड राजस्व गुम्दै आएको छ। प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले राजमार्ग सञ्चालनमा आएकाले बुधबारदेखि नियमित कारोवारमा फर्कने बताए। 'अब शिलबन्दी गरी पठाउँछौं,' उनले भने।
दसैंमा चिनियाँ सामग्रीको सम्भावित अभाव टरेको आयातकर्ता बुद्धराज बस्नेतले बताए। 'अधिकांश बजार हिस्सा चिनियाँ लत्ताकपडाले ओगटेको छ। सामग्री आउन थालेकाले मध्यमबर्गीय उपभोक्तालाई लाभ मिल्ने विश्वास छ,' उनले भने। राजमार्ग सञ्चालनले माथिल्लो तटीय क्षेत्रका १४ गाविसमा राजमार्गको अघोषित नाकावन्दी समेत फुकुवा भएको छ।
१ सय ५६ को ज्यान लिंदै तीन गाउँ सुनकोसीमा बिलय गराउने साउन १७ गतेको कान्ले पहिरोले एक किमी राजमार्ग बगाएको थियो। पहिरोले सुनकोसी थुन्दा त्यति नै दुरी राजमार्ग डुबाएको थियो। डुबानमा परेको ६ सय मिटर सडक उत्रेपनि अझै राजमार्गको केही भाग डुविरहेकै छ।