काठमाडौं-तीन वर्षअघिसम्म सुधा बस्नेत महिलाका विषयमा लेख लेख्थिन्, महिलाको काम, सामाजिक–आर्थिक अवस्था, आय आर्जन, शिक्षा, सीपमूलक तालिम जोडेर। तर, उनले जुन वर्गलाई लक्षित गरिन्, लेखको सन्देश उक्त समूहसम्म पुगेजस्तो लागेन। अनि ठहर गरिन्, 'लेखभन्दा प्रभावकारी माध्यम सीपमूलक तालिम नै हुन सक्छ।'
काठमाडौं, महाराजगन्जकी बस्नेतले केही गर्न खोज्ने महिला जम्मा गरिन् र उनीहरूलाई आफ्नो 'आइडिया' बताइन्, 'सीपमूलक काममार्फत रोजगारीका अवसर सिर्जना गर्ने।' अन्य महिलाले पनि हातमा हात मिलाए। बस्नेतकै प्रयासमा १५ महिलाको समूह बन्यो। नाम जुर्योअ, 'विमन्स ड्रिम मल्टी सर्भिस प्रालि'।
यो समूहकी अध्यक्ष उनै बस्नेत हुन्। 'महिलालाई सीप सिकाउन हामीले यो समूह बनाएका हौं,' उनी भन्छिन्, '१५ जना महिलाको लगानीमा व्यवसाय सुरु गरेका हौं।' अनि छोटो समयमै उनीहरूले व्यवसायमा सफलता पनि पाइरहेका छन्। उनीहरूको सफलता भनेको नेपालमै पेसिन्ल उत्पादन गर्नु हो। अहिले उनीहरू पेपर पेन्सिल उत्पादन गरिरहेका छन्। नेपालमै पेन्सिल उत्पादन गर्ने आफूहरू नै पहिलो भएको बस्नेत दाबी गर्छिन्।
नेपाली बजार पहिल्यैदखि चीन र भारतका पेन्सिलले ढाकिँदै आएको छ । विदेशी पेन्सिलले कब्जा जमाइरहेका बेला जुझारू महिलाको समूहले दुई वर्षदेखि नेपाली पेन्सिल बजारमा पठाइरहेको छ। 'हामीलाई एक वर्ष त यस विषयमा अध्ययन गर्न समय लाग्यो,' बस्नेत भन्छिन्, 'चीन र भारतमा कसरी पेन्सिल उत्पादन भइरहेछन् भनेर गहिरो अध्ययन गर्यौंल।' खास गरी उनीहरूको चासो पेपर पेन्सिलमा थियो।
यी महिलाका साथमा थिए, नीरज पौडेल। बस्नेतका अनुसार पेपर पेन्सिलबारे अध्ययन गरेका पौडेलले उनीहरूलाई 'आइडिया' पनि दिएका थिए। त्यही 'आइडिया' अगाडि बढाउँदै लगे। 'हामी अहिले पेपर प्रयोग गरेर पेन्सिल उत्पादन गरिरहेका छौं,' बस्नेतले भनिन्, 'सामूहिक प्रयासमा यो सम्भव भएको हो।'
महाराजगन्जमै अफिस राखेको समूहले पुराना पत्रपत्रिका प्रयोग गरेर पेन्सिल बनाइरहेको छ। पछिल्लो समय वातावरणलाई ध्यान दिँदै चाउचाउको खोल पनि प्रयोग गर्न थालेको बस्नेतले जानकारी दिइन्। विश्वमा पेन्सिल बनाउनकै लागि लाखौं रूख काटिन्छन्। वातावरण संरक्षणमा पेपर पेन्सिल अन्यन्तै उपयोगी हुने बस्नेतको भनाइ छ।
पेन्सिल उत्पादन गर्न उनीहरूले तीन वर्षअघि चीनबाट १५ लाख रुपैयाँको मेसिन ल्याएका थिए। त्यही मेसिनको सहायताले कागजका पेन्सिल उत्पादन गरिरहेका छन्। 'अहिले दिनमा तीनदेखि चार सय पेन्सिल बिक्री हुन्छन्,' बस्नेतले भनिन्।
माग भए ३० हजार थानसम्म उत्पादन गर्न सक्ने क्षमता उनीहरूसँग छ। उनका अनुसार पेपरबाट पेन्सिल बनाउँदा मेसिनको काम २० प्रतिशत मात्र हुन्छ। अरु काम सबै हातैले गर्नुपर्छ।
पेन्सिल उत्पादनमा १५ महिला नियमित संलग्न छन्। केहीले घरमै लगेर काम गर्छन्।
पेन्सिलको बजार भने फरक किसिमले खोजिरहेको बस्नेतले बताइन्। उनका अनुसार स्थानीय पसलमा भन्दा स्कुलमा सिधै सम्पर्क गरेर नानीहरूको हातमा पेन्सिल पुर्या इन्छ। 'अहिले पाँचवटा स्कुलमा पेन्सिल दिइरहेका छौं,' बस्नेतले भनिन्।
उनीहरूले अहिले काठमाडौं भ्याली स्कुल, शिवपुरी उच्च माध्यमिक विद्यालय, महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयलगायतमा सिधै पेन्सिल बेचिरहेका छन्।
विदेशीले पनि कागजबाट बनेको पेन्सिल धेरै मन पराएकाले ठमेलको पिलग्रिम्स र समिट बुक हाउसबाट पनि यसको बिक्री भइरहेको छ। यसलाई अनलाइनमार्फत बेलायतमा पनि बिक्री गरिरहेको बस्नेतले बताइन्।
बजारका अन्य पेन्सिलसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको बस्नेतको अनुभव छ। उनका अनुसार नेपालमा अहिले कसैले पनि पेन्सिल उत्पादन गर्दैन। केही वर्षअघि बालाजु औद्योगिक क्षेत्रमा काठको पेन्सिल बनाउने प्रयास गरिए पनि त्यो सफल हुन नसकेको उनले बताइन्।
भारत र चीनबाट आएका काठका पेन्सिलसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। विदेशबाट आयातित पेन्सिलमा धेरै मार्जिन हुने भएकाले व्यापारीले स्वदेशी उत्पादन बेच्न गाह्रो मान्ने अनुभव बस्नेतसँग छ।
'बाहिरबाट ल्याएका र हामीले उत्पादन गरेकाको मूल्य लगभग एउटै पर्छ,' बस्नेतले भनिन्, 'उनीहरूले व्यापारीलाई धेरै नाफा दिन्छन्, हामी लगानी धेरै पर्ने भएकाले उनीहरूको जति मार्जिन दिन सक्दैनौं।'
आयातित पेन्सिलको पूरै काम मेसिनबाट हुने हुँदा उत्पादन लागत कम पर्छ। उनीहरूसँग प्रतिस्पर्धा गरेर बजार लिन गाह्रो भएको उनको अनुभव छ।
उनीहरूले उत्पादन गरेका पेपर पेन्सिलको प्रतिगोटा ७ देखि १५ रुपैयाँसम्म पर्छ। पत्रपत्रिका देखिनेलाई प्रतिगोटा सात रुपैयाँ र लोक्ता कागज र्यााप गरिएकोलाई १५ रुपैयाँ पर्ने उनले बताइन्। 'स्कुलमा हामीले पेपर देखिने पेन्सिललाई ६ रुपैयाँमै दिएका छौं,' बस्नेतले भनिन्।
अहिले अरूको सहयोगमा नेपालमै पेपर पेन्सिल बनाउने मेसिन बनाएको पनि उनले बताइन्। 'कसैले अर्डर गरे हामी मेसिन बनाइदिन्छौं,' बस्नेतले भनिन्, 'हामीले बनाएको मेसिन सेटलाई तीन लाख पर्छ।'
तीन वर्षदेखि सञ्चालित उद्योगलाई उनीहरू सँगसँगै विस्तार पनि गर्दै छन्। त्यसयता डेढ सयभन्दा धेरै महिलाले तालिम लिइसके भने १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
सेवा विस्तार गर्ने क्रममा समूहले पेन्सिलबाहेक सिलाइकटाइ, ब्युटिपार्लरजस्ता सीपमूलक तालिम सञ्चालन गरिरहेको छ। दुई महिनादेखि लन्च सर्भिस (अफिसहरूमा खाजा पुर्यासउने) पनि गरिरहेको बस्नेतले जानकारी गराइन्। 'हामी अहिले सातवटा अफिसमा खाजा पुर्यााइरहेका छौं,' उनले भनिन्।