पोखरा-ग्राहकले पैसा झिक्न आउलान् भनेर मुक्तिनाथ विकास बैंकको मुख्य शाखा कार्यालय नागढुंगामा २ करोड रुपैयाँको नगद मौज्दात राखिन्छ। सामान्य समयमा यसले पुग्छ। 'दसैंको माहौल सुरु भएयता त्यति पैसा त १ घन्टामै सकिन थालेको छ,' मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भरतराज ढकाल भन्छन्, 'दसैंमा खर्च गर्न ग्राहक पैसा झिक्न आइरहेका छन्।'
बैंकबाट पैसा निकाल्ने क्रम अरु बेलाको तुलनामा ५/६ गुणाले बढेको जानकारी उनले दिए। यो बेला रेमिटेन्स लगायत शीर्षकबाट आएको रकम निक्षेपका रुपमा संकलन पनि उत्तिकै हुने उनी बताउँछन्। तर पनि राख्नेभन्दा झिक्ने धेरै हुने उनको अनुभव छ। आइतबारमात्रै मुक्तिनाथको निक्षेप ३ करोड ४४ लाख रुपैयाँले घटेको थियो।
'अहिले पैसा निकाल्छन् र बजार पुग्छ,' ढकालले भने, 'दसैंपछि फेरि राख्नेहरु आउँछन्। त्यतिबेला खुद्रा पैसा समेलिनसक्ने गरी आउँछ।' नेपाली अधिकांश उपभोक्ता घरायसी सामानदेखि लत्ताकपडा र घर अनि गाडी पनि दसैंकै मौका पारेर किन्छन्। त्यही कारण नै बैंकबाट पैसा निकाल्नेको संख्या ह्वात्तै बढ्छ भन्छन् बैंकर ढकाल। झन् त्यसमाथि पोहोरभन्दा यसपालि पैसा निकाल्न बैंकमा लाइन बढेको उनको अनुभव छ। 'खर्च गर्ने प्रवृत्ति बढेको छ र महँगी पनि थपिएको छ,' उनले भने, 'त्यसैले नै बैंकमा भिड थुप्रियो।'
ओम फाइनान्सका महाप्रबन्धक बुद्धि मल्ल दसैंका बेला नै उपभोक्ताले ऋण पनि यही बेला थप्ने गरेको बताउँछन्। 'पहिल्यै स्वीकृत भएको ऋण पूरै प्रयोग गर्ने बेला पनि दसैं हुन्छ,' उनले भने, 'व्यवसायीले दसैंमा स्टक थप्न पनि ऋण झिक्छन्।' उनका अनुसार दसैंको सेरोफेरोमा निक्षेप पनि बढ्छ। 'अरुबेलाभन्दा ५/६ गुणा बढी कारोबार हुन्छ,' उनले भने।
दसैंमा नेपालीले खर्च गर्ने अर्को वस्तु भनेको सवारी साधन पनि हो। दसैं खर्चको शीर्षक छुट्याउँदा यसैमा सबैभन्दा बढी रकम पर्छ। दसैंको वरिपरि कार र मोटरसाइकल बिक्री बढी हुन्छन् भन्छन् गण्डकी अटोमोबाइल डिलर एसोसियसनका अध्यक्ष ध्रुव थापा। 'वर्षभरिका बिक्री हुने सवारीमध्ये ४० प्रतिशत दसैंताका बिक्री हुन्छन्,' उनले भने। थापाका अनुसार यो दसैंमा सबैथरि ब्रान्डका गरेर ३ सय जति कार बिक्री भएका छन् भने मोटरसाइकलको संख्या ३ हजार जति छ।
पोखरामा फोर्ड, हुन्डाई, महिन्द्रा, निसान, सुजुकी लगायतका कार बिक्री हुन्छन् भने बजाज, हिरो, होन्डा, यामाहा, सुजुकी लगायत चल्तीका सबैजसो मोटरसाइकलको राम्रो बजार छ। 'प्रायजसोले २० देखि २५ लाख पर्ने कार किन्छन्,' गाडी किन्ने उपभोक्ताको रोजाइबारे थापाले भने, 'पाउन त पोखरामा डेढ करोड रुपैयाँसम्मको गाडी पाइन्छ तर मध्यमखाले किन्नेले ५० लाख रुपैयाँभित्रको किन्छन्।'
दसैंमा सबैभन्दा बढी कारोबार हुने अर्काे वस्तु मासु हो। यसपालिको दसैंका लागि मात्रै पोखरामा २५ हजार भेडाच्यांग्रा भित्रने खसीबोका व्यवसायी समितिका अध्यक्ष गोकर्ण भण्डारी। 'यसपालि एउटै च्यांग्राको न्यूनतम पनि १५ देखि अधिकतम २५ हजार रुपैयाँ मूल्य परेको छ,' अर्का व्यवसायी गोविन्द तिवारीले भने।
खर्चका हिसाबले दसैंमा ठूलै चहलपहल भए पनि यसपालि र पोहोरको तुलनामा मूल्य अन्तर नभएको बताउँछन् उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइराला। 'मूल्य बढेको छैन र बढ्नुपर्ने आधार पनि छैन,' जिल्ला आपूर्ति व्यवस्था समितिको सदस्यसमेत रहेका उनले भने, 'मूल्य बढाइए कालोबजारी मानिन्छ।' उनले उपभोग्य वस्तुको स्टक पर्याप्त रहेकाले मूल्य बढ्नुपर्ने कारण नदेखिएको जानकारी दिए।
दसैंलाई लक्ष्य गरी घरायसी सामानदेखि सवारी साधनका बिक्रेताले विभिन्न उपहार योजना सार्वजनिक गरेका छन्। त्यही बाहनाले पनि बिक्रीलाई बढाएको छ। दैनिक उपभोग्य वस्तुको मूल्य सुलभ बनाउने योजना भने सफल हुन नसकेको कोइरालाले बताए। 'सस्तो पसल खोल्ने योजना सफल भएन,' उनले भने, 'साल्ट टे्रेडिङ एउटाले मात्रै पसल खोलेको छ, अरु धेरै खोल्ने र धेरै सामान उपलब्ध गराउने योजना विफल भयो।' साल्ट टे्रडिङले दसैंका लागि भनेर खोलेको पसलमा नुन र चिनीबाहेक अरु केही पाइन्न।