चितवन-पर्यटकीय क्षेत्र सौराहामा ठूला लगानीका होटलमा स्विमिङ पुल बनाउने लहर चलेको छ। पहिला स्विमिङ पुल भएका होटल निकै कम थिए। स्विमिङ पुल बनाउन ५० लाख रुपैयाँ हाराहारी लागनी गर्नुपर्ने व्यवसायी बताउँछन्।
अहिले ठूला लगानीका होटलले धमाधम स्विमिङ पुल बनाइरहेका छन्। 'यो खर्चिलो छ। त्यसैले सबै होटलले बनाएका छैनन्। धेरै लगानीमा होटल खोल्नेले बनाउँछन्,' क्षेत्रीय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष सुमन घिमिरेले भने। केही समययता स्विमिङ पुल बनाउने लहर नै चलेको उनको भनाइ छ। तैपनि सौराहामा स्विमिङ पुल भएकाभन्दा नभएका होटल बढी छन्।
प्रथम उपाध्यक्ष घिमिरेका अनुसार यस क्षेत्रमा सानाठूला गरेर सवा सय होटल छन्। तर स्विमिङ पुल भएका होटल औंलामा गन्न सकिनेमात्रै छन्। 'लगानी धेरै गर्नुपर्ने भएकाले स्विमिङ पुल बनाउँदैनन,' उनले भने।
'पर्यटकले स्विमिङ पुल खोज्न थाले, त्यसैले हामीले राख्नैपर्ने भयो। लगानी चाहिँ धेरै नै हुन्छ। लगानी धेरै हुन्छ भनेरमात्रै पनि नहुने,' सौराहामा एक वर्षअघि खुलेको होटल सेभेन स्टारका महाप्रबन्धक माधव दुवाडीले भने। चितवनमा पुराना होटलमा बाघमारा र राइनो रेसिडेन्सिमा स्विमिङ पुल थियो।
अहिले सेभेन स्टार, ल्यान्डमार्क जस्ता नयाँ होटलले पनि बनाएका छन्। होटल हेरिटेज, नेचर सफारी र अहिले बन्द रहेको सफारी एडभेन्चरमा पनि स्विमिङ पुल रहेको क्षेत्रीय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष सुमन घिमिरेले जानकारी दिए।
होटल व्यवसायीका अनुसार एउटा राम्रो स्विमिङ पुल बनाउन ५० लाखदेखि एक करोड रुपैयाँसम्म लाग्छ। त्यसैले ठूलो लगानीमा होटल निर्माण गर्नेहरु स्विमिङ पुल राख्न तयार हुने गरेका छन्। तर, विस्तारै सबैले राख्नुपर्ने अवस्था आउने व्यवसायी बताउँछन्।
'मैले पनि होटल सञ्चालन सुरु गर्दा स्विमिङ पुल बनाएको थिइनँ। राख्ने योजना थियो। अलि पछि राखौंला भनेको पर्यटकबाट यस्तो माग आउन थाल्यो कि चाँडो नबनाई भएन,' होटल सेभेन स्टारका माधव दुवाडीले भने।
चितवन निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटेबाघ लगायत जीवजन्तु हेर्न देशविदेशबाट पर्यटक सौराहा आउँछन्। सौराहामा रहेका आदिवासी थारु बोटे, कुमाललगायतका जनजाति समुदायको रहनसहनमा रमाउन पाउँदा पनि पर्यटक आनन्दित हुन्छन्।
'जंगल सफारी र गाउँ जाने काम प्रायः विहान र साँझपख हुन्छ। दिनभर होटलमा बस्दा पर्यटक रमाउन स्विमिङ पुल नभई नहुने भएको छ। त्यसै बस्नुभन्दा स्विमिङ पुलमा पौडी खेलेर पर्यटक रमाउने गर्छन्,' सेभेन स्टारका महाप्रबन्धक दवाडीले सुनाए।