काठमाडौं-ग्राहकको खातामा रहेको चार करोड ७८ लाख रुपैयाँ निकालेर ठगी गरेको अभियोगमा एच एन्ड बी बैंकका सञ्चालक पुष्पज्योति ढुंगाना र पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) जसोदा सैंजू पक्राउ परेका छन्।
गुड फर पेमेन्ट चेकको भुक्तानी अनियमितताको अनुसन्धान दायरामा तानिएपछि निलम्बित सैंजू र ढुंगानालाई महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार पक्राउ गरेको हो। प्रहरी अनुसन्धानले ठगीमा सैंजूको संलग्नता देखाएपछि बैंकले बुधबार उनलाई अवकाश दिएको थियो। ढुंगाना बैंकका सञ्चालक नै छन्।
महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार न्यु एसिया प्यासिफिक ट्रेडर्स प्रालिका प्रोप्राइटर प्रशान्त अग्रवालले उक्त बैंकमा रहेको आफ्नो खाताको रकम हराएको भन्दै महाशाखामा उजुरी दिएका थिए।
अग्रवालले आफूले ननिकाले पनि खातामा रहेको दुई करोड रुपैयाँ हराएको र जम्मा गरेको दुई करोड ७८ लाख रुपैयाँ खातामा नभएको भन्दै उजुरी दिएका थिए। त्यही आधारमा अनुसन्धान अगाडि बढाउँदा सैंजू र ढुंगानाको संलग्नता देखिएकाले थप अनुसन्धानका लागि दुवैलाई पक्राउ गरिएको एसएसपी कार्कीले जानकारी दिए।
प्रहरीमा दर्ता अग्रवालको उजुरीअनुसार २०७० फागुन २ गते उनले आफ्नो खाता हेर्दा चार करोड ७८ लाख हराएको चाल पाएका थिए। खातामा चार करोड ७८ लाख हुनुपर्नेमा स्टेटमेन्टमा त्यो रकम थिएन। उक्त बैंकमा पहिल्यै उनको दुई करोड ७८ लाख रुपैयाँ थियो। कात्तिक ३ र २७ गते उनले कुलेश्वर शाखामा १–१ करोड रुपैयाँ जम्मा गरेका थिए। तर, स्टेटमेन्टमा त्यो रकम देखिएन।
स्टेटमेन्टले उनको खाताबाट २०६९ असोज २८ मा दुई करोड २८ लाख र कात्तिक २५ मा ५० लाख रुपैयाँ निकालेको देखायो। पैसा निकाल्नेको नाम लेख्ने ठाउँमा आफैं (सेल्फ) उल्लेख थियो। तर, उनले बैंकबाट पैसा निकालेका थिएनन्। बैंकले उनलाई दिएको चेकसमेत सुरक्षित नै थियो।
कुलेश्वर शाखामा १–१ करोड जम्मा गरेको दुवै भौचर अग्रवालसित सुरक्षित थियो। उनले आफ्नो चेकबुक र जम्मा गरेको रकमको भौचरसहित प्रारम्भमा शाखामा र पछि बैंकको केन्द्रमा समेत ताकेता गरे।
बैंकले कसरी निकालेको हो थाहा नभएको भन्दै आलटाल गरेपछि अग्रवाल राष्ट्र बैंक पुगे। राष्ट्र बैंकबाट समेत पैसा फिर्ता हुने अवस्था नदेखेपछि जेठमा उनले भौचरसहित महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिए।
एसएसपी कार्कीका अनुसार प्रहरीमा प्रमाणसहित उजुरी आएपछि अनुसन्धान अगाडि बढाउँदा बैंक व्यवस्थापनबाट प्रहरीलाई सहयोग भएन। उनको नाममा अरु कसैले पैसा निकालेको हो कि भन्ने तथ्यका लागि बैंक शाखामा रहेको क्लोज सर्किट टेलिभिजनको दृष्यको माग्दासमेत प्रहरीले पाएन।
'अनुसन्धान गर्दै जाँदा यो घटनामा सैंजू र ढुंगानाको संलग्नताका प्रमाण संकलन भएपछि दुवैलाई पक्राउ गरेका हौं,' कार्कीले नागरिकसँग भने, 'अन्य केही सञ्चालकमाथि पनि शंका छ, उनीहरुको संलग्नताबारे अनुसन्धान जारी छ।'
गुड फर पेमेन्ट काण्ड
गुड फर पेमेन्ट चेकमार्फत एच एन्ड बी बैंकमा ८३ करोड रुपैयाँको अपचलन जुन शाखाबाट भएको हो अग्रवालको रकम पनि सोही शाखाको खाताबाट हराएको हो। गुड फर पेमेन्ट कान्ड बैंकको कुलेश्वर शाखाबाटै भएको थियो। अग्रवालको पैसासमेत सोही शाखामा रहेको खाताबाट हराएको हो।
डेढ वर्षअघि सो बैंकका कर्मचारीको मिलेमतोमा गुड फर पेमेन्टबाट बैंकको ८३ करोड रुपैयाँभन्दा बढी अपचलन भएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
प्रहरी अनुसन्धानमा कुलेश्वर शाखाका प्रमुख निरज नेपाल र सोही बैंकको ग्राहक मनोजकुमार चौरसिया मिलेरे गुड फर पेमेन्टबाट ८३ करोड रुपैयाँ निकालेर अनियमितता गरेको खुलेपछि नेपाल राष्ट्र बैंकले गत जेठ १४ मा बैंक व्यवस्थापन जिम्मा लिँदै सैंजूलाई निलम्बन गरेको थियो। नेपाल तत्काल पक्राउ परे। भारतमा लुकेर बसेका चौरसिया करिब आठ महिनापछि पक्राउ परेका थिए। उनीहरुविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा चलिरहेको छ।
घटनाको अनुसन्धान क्रममा बैंकका कर्मचारी र सञ्चालकको मिलेमतोमा चौरासिया र उनका साझेदार प्रमिल यादव मिलेर एच एन्ड बीबाट ८३ करोड रुपैया" निकालेर अनियमितता गरेको खुलेको थियो।
वीरगन्जका चौरासिया र यादव म्याक्स मोबाइलको अधिकृत बिक्रेता थिए। उनले नेपालस"ग मिलेर सर्वसाधरणलाई एच एन्ड बी बैंकको कुलेश्वर शाखामा रकम जम्मा गर्न लगाउने, उनीहरुकै नाममा गुड फर पेमेन्ट चेक जारी गर्ने र अर्को वित्तीय संस्थामा सोही चेक राखेर ऋण निकाली ठगी गर्दै आएका थिए।
एसएसपी कार्की अहिलेको करिब पाँच करोड ठगीको सम्बन्ध गुड फर पेमेन्ट घटनासँग नभएको बताए। 'त्यसको अनुसन्धान भइसकेको हो, यो नयाँ घटना हो,' कार्कीले भने।