काठमाडौं-नेपालको पोल्ट्री क्षेत्र अधोगतितर्फ लम्केको निजी क्षेत्रले गरेको एक अध्ययनले देखाएको छ। यसमा राज्यको गलत नीति दोषी रहेको उक्त अध्ययनको निष्कर्ष छ।
भएका नीति कार्यान्वयन नगर्दा र सहयोगी नीति नबनाउँदा पोल्ट्री क्षेत्र धराशयी बन्दै परनिर्भरतातर्फ उन्मुख भएको नेपाल दाना उद्योग संघले गरेको अध्ययनको निष्कर्ष छ। व्यवसायको अवस्था नाजुक बनेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
आर्थिक वर्ष २०६८/०६९ मा ब्रोइलर, लेयर्स, कमन ब्रोइलर र कमन लेयर्स गरी नेपालभर आठ करोड ५५ लाख ९१ हजार नौ सय कुखुरा रहेकोमा २०७०/०७१ मा घटेर ६ करोड ८० लाख ६० हजार आठ सयमा सीमित भएको छ।
तीन वर्षदेखि लगातार पोल्ट्री फार्म र कुखुराको संख्या घटनुलाई व्यवसायी नकारात्मक भविष्यको संकेत भन्छन्। संघका अध्यक्ष तिलचन्द्र भट्टराईले बर्डफ्लुका कारण धेरै कुखुरा मरेको र त्यसको असर अहिले देखिएको बताए। 'सरकारले गत वर्ष बर्डफ्लु लागेको भन्दै माउ कुखुरा नष्ट गर्यो , त्यसले गर्दा नयाँ चल्ला उत्पादन हुन सकेन। संख्या घट्नुको मुख्य कारण यही हो।'
अध्ययनले आर्थिक वर्ष २०६९/०७० को तुलनामा गत आवमा पोल्ट्री क्षेत्र १७.३ प्रतिशतले खुम्चिएको देखाएको छ। २०६९/०७० मा आठ करोड २३ लाख ४७ हजार कुखुरा रहेकोमा २०७०/०७१ मा ६ करोड ८० लाख ६० हजार आठ सयमा झरेको छ।
नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले राज्यको गलत नीतिका कारण यो क्षेत्र धराशयीमात्र नभई परनिर्भरताउन्मुख भएको बताए। 'यो क्षेत्रलाई सहयोग हुने गरी नीति बनाउन सरकार तयार नै देखिँदैन,' उनले आइतबार नागरिकसँग भने, 'त्यसको एउटा उदाहरण निरन्तर यो क्षेत्रमा लगानी र संख्या घट्दै जानु हो।'
राज्यले यस क्षेत्रलाई प्राथमिकता नदिएको उनको भनाइ छ। 'हामीले पटकपटक पक्षी नीति लागू गर्न माग गर्यौं ,' उनले भने, 'तर अहिलेसम्म हुन सकेको छैन, फलस्वरुप वर्षेनी करोडौं कुखुरा नष्ट गर्नुपर्छ।' सरकारले नीति कार्यान्वयनमा ल्याउनासाथ यो क्षेत्रको धेरै समस्या समाधान हुने उनको विश्वास छ।
कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले यो वर्ष पोल्ट्री व्यवसाय फस्टाउने बताए। उनका अनुसार गत वर्ष माउ कुखुरा नै मारेकाले संख्यामा कमी देखिएको हो। संघका अध्यक्ष भट्टराईका अनुसार पहिले–पहिले बर्डफ्लु लाग्दा कुखुराको मूल्यमा मात्रै फरक हुन्थ्यो। बर्डफ्लु लागेका कुखुरा सरकारले नष्ट गर्न थालेपछि संख्या घटेको उनको भनाइ छ।