काठमाडौं-प्रसारण लाइन (आयोजना) मा अनुदान तथा ऋण दिने दाताका सर्तका कारण देशभर यस्ता आयोजनाको निर्माण अस्तव्यस्त छ। दाताले ऋण सम्झौता, ठेकेदार नियुक्तिमा सर्त राख्ने र अनावश्यक स्थानीय मागमा समर्थन गर्ने हुँदा निर्माणले गति लिन नसकेको हो।
एसियाली विकास बैंक (एडिबी), विश्व बैंक, जर्मन सरकार र युरोपेली लगानी बैंकसँगको साझेदारीमा बनाउने अधिकांश प्रसारण लाइनको निर्माण अहिले अलपत्र छ। निर्माण सुरु भएकाको काम रोकिएको छ भने योजनामा तय गरिएका आयोजनाका लागि ऋण सम्झौता भए पनि निर्माण अनिश्चित बनेको नेपाल विद्युत प्राधिकरणका उच्च अधिकारी बताउँछन्।
प्रसारण लाइन निर्माणमा हुने जग्गा अधिग्रहण, मुआब्जा र क्षतिपूर्ति वितरणको समस्या जटिल बन्दै गएको छ। यसमाथि एकमाथि अर्को दाताले सर्त राख्दा नै प्रसारण निर्माणको प्रगति नदेखिएको ऊर्जा मन्त्रालयका अधिकारीसमेत स्वीकार्छन्।
एडिबी र विश्व बैंकको साझेदारीमा बन्ने भनिएका दर्जनभन्दा बढी प्रसारण लाइन अहिले रुग्ण अवस्थामा छन्। सरकार तथा प्रधिकरणले सर्त पूरा गर्न नसक्ने र स्थानीय राजनीतिक दलले दाताकै सर्तमा समर्थन गर्दा लक्ष्य पूरा नभएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेय बताउँछन्।
सरकार तथा प्राधिकरण आफैंले बनाइरहेका प्रसारण लाइनको तुलनामा दातानिर्भर आयोजना बढी समस्याग्रस्त भएपछि संसदीय समितिमा समस्या समाधानबारे छलफल थालिएको छ। कृषि तथा जलस्रोत समितिले निर्माणाधीन रुग्ण आयोजनाको सूची तथा कार्यतालिका पेस गर्न ऊर्जा मन्त्रालय तथा प्राधिकरणलाई निर्देशन दिँदै आएको छ।
विश्व बैंकको साझेदारीमा बनिरहेको खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन अहिले सबैभन्दा बढी रुग्ण छ। 'स्थानीयका माग पूरा नगरी काम नगर्नू' भन्ने विश्व बैंकको सर्तका कारण एक वर्षदेखि यसको काम रोकिएको छ। सिंगो सरकारले पहल गरे पनि यसको काम सुरु गर्न नसकिएको प्राधिकरण अधिकारीको भनाइ छ।
'दातामुखी प्रसारण लाइनमा स्थानीय ठेकेदार नियुक्त गर्नुपर्ने प्रावधान छ। एउटै ठेकेदारले धेरै आयोजनामा हात हालेको हुन्छ र लक्ष्यअनुसार काम हुँदैन,' निमित्त कार्यकारी निर्देशक पाण्डेयले भने। सार्वजनिक खरिद ऐन र ठेक्का प्रक्रिया झन्झटिलो हुँदा पनि वषर्ौंदेखि प्रसारण लाइनमा उत्पन्न समस्या समाधान हुन नसकेको उनले बताए।
कतिपय दाता र स्थानीयका समस्या नरहेका प्रसारण लाइनमा समेत प्राधिकरणले प्रभावकारी काम गर्न नसकेको समितिका सभापति गगन थापाले बताए। 'संस्थाभित्रको अव्यस्थित कर्मचारी संरचना, कामको अनुगमन र मूल्यांकन नगर्दा पनि धेरै आयोजना अलपत्र रहेको पाइयो,' थापाले भने, 'प्राधिकरणले दाता र स्थानीयका समस्यामात्र देखाएर भएन, आफ्ना कमजोरी औंल्याएर काम गर्नुपर्योक।'
पहिले कम रकममा ठेक्का पार्ने र पछि त्यतिमा काम गर्न नसक्ने भन्दै ठेकेदारले काम नगर्ने प्रवृति बढ्दै आएको पाण्डेयले बताए। निर्माणमा उत्पन्न समस्या समाधान गर्न खरिद ऐनमै विशेष व्यवस्था हुनुपर्नेमा उनले जोड दिए। 'ऊर्जा, वन, वातावरण मन्त्रालयबीच समन्वय नहुँदा पनि प्रसारण लाइनको काम रोकिएको छ,' पाण्डेयले भने।
विश्व बैंकसँगको साझेदारीमा बन्ने भरतपुर–बर्दघाट र हटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सन् २०११ मै पूरा गर्ने लक्ष्य थियो। तर, बैंकका अनावश्यक झमेला, वन र स्थानीयको अवरोधका कारण २५ प्रतिशत पनि काम नभएको प्राधिकरणका कर्मचारी बताउँछन्।
भरतपुर–बर्दघाट खण्डको लाइन बनाउन ९५ प्रतिशत सामान आपूर्ति भई टावर बनाउन जग खन्ने काम भइरहेको ग्रिड विकास निर्देशनायका प्रमुख कन्हैयाकुमार मानन्धरले बताए। उनका अनुसार विश्व बैंकको सर्त तथा मान्यताका आधारमा स्थानीयका माग पूरा गर्ने काम भइरहेको छ।
नवलपरासीको हसौंरा, दुम्किबास र सुनटाँडीका स्थानीयले प्रसारण लाइन अन्यत्र सार्नुपर्ने माग राखेको र वन विभागको अवरोधले रुख कटानीमा समस्या देखिएको मानन्धरले बताए। हेटौंडा–भरतपुर खण्डमा टावर बनाउने स्थानको जग्गा अधिग्रहण हुन सकेको छैन। यस खण्डमा विश्व बैंककै आडमा सामुदायिक वनले ठूलो अवरोध गरेको उनले प्रस्ट्याए।
सरकार र एडिबीको साझेदारीमा बनाउन योजनामा पारिएका आधा दर्जनभन्दा बढी प्रसारण लाइनको अवस्थासमेत अस्तव्यस्त छ। प्राधिकरणका अनुसार डुम्रे–दमौली, कोहलपुर–महेन्द्रनगर, बुटवल–कोहलपुर, चपली सबस्टेसन १३२ केभी प्रसारण लाइन आधा सकिनुपर्नेमा अहिले अध्ययनसमेत सकिएको छैन।
जर्मन सरकार र युरोपेली लगानी बैंकले ऋण दिने भनेको २२० केभी तामाकोसी–काठमाडौं, चिलिमे–त्रिशूली र त्रिशूली ३बी सबस्टेसनको काम दाताकै सर्तका कारण सुरु हुन सकेको छैन। दाताले ठेकेदार छनोटदेखि निर्माण र स्थानीय मागबारे समेत आफूअनुकूल सर्त राखेर दबाब दिन्छन्, प्राधिकरणले यस्ता सर्त पूरा गरेर काम गर्न सकेको छैन। सरकारले समेत यसमा सहयोगी भूमिका नखेल्ने प्राधिकरण अधिकारीको तर्क छ।
प्रसारण लाइनको काम नहुँदा दाताले दिने प्रतिबद्धता जनाएका तथा ऋण रकम हरेक वर्ष फिर्ता हुने गरेको छ। अघिल्लो आर्थिक वर्ष एडिबी, विश्व बैंकलगायत दाताबाट प्रतिबद्धता आएको झन्डै १० अर्ब र गत आवमा पनि त्यतिकै रकम खर्च नभएर फिर्ता भएको प्राधिकरणले जनाएको छ।