काठमाडौं- हेलिकोप्टर संख्याका आधारमा मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले नयाँ हेलिकोप्टर ल्याएको छ।
नयाँ आएपछि श्रीसँग ९ वटा हेलिकोप्टर भएका छन्। श्रीले फ्रान्सको एयरबस हेलिकप्टर्स कम्पनीले उत्पादन गरेको हेलिकोप्टर ल्याएको हो। अत्याधुनिक प्रविधिजडित 'एएस३५० बिथ्रिई मोडेलको उक्त हेलिकोप्टर ६ सिट क्षमताको छ। विगतमा युरोकप्टर नामबाट परिचित एयरबस हेलिकोप्टर्स युरोपेली जहाज निर्माता कम्पनी एयरबसको सहायक कम्पनी हो।
'हेलिकोप्टर सेवामा अझ प्रतिस्पर्धी हुन र गुणस्तरीय सेवा दिन नयाँ हेलिकोप्टर ल्याएका हौं, श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले भने, 'यसमा यात्रा गर्ने व्यक्तिको सुरक्षा र सुविधामा विशेष ध्यान दिइएको छ।
श्रीका अनुसार सिंगापुरबाट बंगलादेश हुँदै नयाँ हेलिकोप्टर शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। २३ हजार फिट उचाइसम्म उडान गर्न सक्ने यो हेलिकोप्टरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट '९एन–एएलएफ' कलसाइन पाएको छ। 'यही सातादेखि नयाँ हेलिकोप्टरबाट व्यावसायिक उडान गर्छौं, मानन्धरले भने।
श्रीले यही मोडेलको अर्को हेलिकोप्टर सन् २०१५ को सेप्टेम्बरमा पनि थप गर्ने योजना बनाएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने मुलुकको एकमात्र हेलिकोप्टर कम्पनी श्रीले २०१५ र २०१६ भित्र अहिले ल्याएकै जस्ता तीनवटा हेलिकोप्टर ल्याउने योजना बनाएको छ। यसका लागि डेढ अर्ब रुपैयाँसम्म लगानी गर्ने व्यापारिक योजना कम्पनीको छ।
साना हेलिकोप्टरलाई काठमाडौंमै राखेर तिब्बतको मानसरोवरसम्म लैजाने र ल्याउने तथा 'एमआइ–१७ मोडेलकालाई अन्य देशमा उडाउने व्यापारिक योजना कम्पनीले बनाएको छ। २०१६ सम्ममा न्यूनतम १२ वटा हेलिकोप्टर सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीले जनाएको छ।
श्री एमआइ–१७ जस्तो ठूलो हेलिकोप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी हो। अर्बौं लगानी गरिसकेको श्रीसँग करिब ५० लाख अमेरिकी डलर मूल्यका जगेडा इन्जिन पनि छ। यसले विश्व खाद्य कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय संस्थाका कामसहित प्राकृतिक प्रकोप, उद्धार, खाद्यान्न ढुवानी, यात्रु ओसारपसारमा विश्वसनीयता कमाएको छ।
श्रीले डेढ दशकदेखि हेलिकोप्टर सेवा दिँदै आएको छ। कम्पनीसँग हाल रुसमा निर्मित २४ सिट क्षमताका ६ वटा एमआई–१७ तथा ६ सिट क्षमताका तीनवटा एएस३५० बिथ्रिई हेलिकोप्टर सञ्चालनमा छन्।