काठमाडौं-एक वर्षको अवधिमा मुलुकमा टेलिफोन घनत्व करिब १२ प्रतिशतले बढेको छ। सोही अवधिमा करिब ७ प्रतिशतले इन्टरनेट प्रयोगकर्ता बढेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको गत साउन महिनासम्मको तथ्यांकअनुसार मुलुकको ९३.६९ प्रतिशत जनसंख्या टेलिफोनको पहुँचमा छन्। गत वर्ष साउनमा टेलिफोन प्रयोगकर्ता कुल जनसंख्याको ८१.७२ प्रतिशत थिए। एक वर्षकै अन्तरालमा ११.९७ प्रतिशत बिन्दुले टेलिघनत्व बढेको हो। एउटै प्रयोगकर्ताले विभिन्न सेवा प्रदायकको टेलिफोन सेवा प्रयोग गर्ने हुनाले तथ्यांकमा घनत्व बढेको देखिए पनि पहुँच सोअनुसार हुँदैन।
गत वर्ष साउनमा २ करोड १६ लाख ५१ हजार १ सय २२ जना टेलिफोन प्रयोगकर्ता थिए। गत साउनमा त्यो संख्या बढेर २ करोड ४८ लाख २६ हजार ६ सय ८४ पुगेको छ।
फिक्स्ड टेलिफोन प्रयोग गर्नेको संख्या ८३ हजार ७ सय ८४ छ। मोबाइल प्रयोगकर्ता २ करोड २२ लाख ६५ हजार २ सय ३६ छन्। एलएमएस, जिएमपिसिएस लगायत अन्य सेवा प्रयोगकर्ता १७ लाख ३० हजार ६ सय ५९ छन्।
इन्टरनेट प्रयोगकर्ता एक वर्षअघिको तुलनामा ३३.७६ प्रतिशत थपिएका छन्। गत वर्ष इन्टरनेट प्रयोगकर्ताको वृद्धिदर २६.९३ प्रतिशत थियो।
दूरसञ्चारका विभिन्न सेवा प्रदान गरिरहेको नेपाल टेलिकमले केही महिनायता बजार हिस्सा बढाउँदै लगेको तथ्यांकले देखाएको छ। गत वर्ष बजार हिस्सा गुमाएको टेलिकमले पछिल्लो समय अपनाएको आक्रामक बजार रणनीतिले यो नतिजा ल्याएको हो।
पोहोर टेलिकमको बजार हिस्सा भ्वाइस र डाटा सेवा दुवैमा गुमेको थियो। पछिल्लो तथ्यांकअनुसार टेलिकमले भ्वाइस सेवामा बजार हिस्सा बढाएको छ। डाटामा स्थिर राखेको छ।
असारमा भ्वाइस सेवामा ४४ प्रतिशत बजार हिस्सा रहेको टेलिकमले साउनमा ४५ प्रतिशत पुर्याटएको छ। यो अवधिमा एनसेलको हिस्सा ४९ बाट ४८ प्रतिशतमा झरेको छ।
डाटा सेवामा नेपाल टेलिकमको ५३ प्रतिशत बजार हिस्सा रहेको छ। एनसेलको ४५ प्रतिशत छ। एक महिनाअघि पनि दुवै सेवा प्रदायकको बजार हिस्सा अनुपात त्यही थियो। जेठमा टेलिकमको ५२ प्रतिशत र एनसेलको ४६ प्रतिशत बजार हिस्सा थियो। डाटामा युटिएलको १ प्रतिशत र इन्टरनेट सेवा प्रदायक कम्पनीको १ प्रतिशत बजार हिस्सा छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले टेलिकमले बजार हिस्सा बढाउन विभिन्न समयमा अफर र योजना ल्याएको बताए। 'अहिले हामी प्रवर्द्धनात्मक कार्यक्रमसहित अफर र छुटमा लागेका छौं। गुणस्तर बढाउन पनि विभिन्न काम भइरहेको छ। त्यसैले बजार हिस्सा बिस्तारै बढेको छ,' उनले भने, 'डाटातर्फ थि्रजी विस्तार गरेका छौं भने एक सयमा सिम दिइरहेका छौं। त्यसैले डाटा र भ्वाइस सेवामा बजार हिस्सा बढिरहेको छ।' उनका अनुसार कम्पनीले नयाँ नेटवर्क स्थापना गरिरहेको छ। यसले गुणस्तरमा पनि केही सुधार आएको उनले बताए।