भौतिक पूर्वाधार मन्त्रालयमा चरम बेथितिः कनिष्ठलाई जिम्मेवारी दिने क्रम जारी
१९ मंसिर २०७८
•
८ मिनेट पाठ
भौतिक पूर्वाधार मन्त्रालयमा चरम बेथितिः कनिष्ठलाई जिम्मेवारी दिने क्रम जारी
दुई साताअघि प्राविधिक सहसचिव (सुई) को दरबन्दी रहेका सडक आयोजनामा कनिष्ठलाई कामु बनाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः डिभिजनल इन्जिनियर (डिई) को दरबन्दी रहेको स्थानमा कामुको जिम्मेवारी दिन थालेको छ।




मन्त्रालयले धेरै बजेट विनियोजन गरिएका अधिकांश आयोजनामा वरिष्ठलाई झिकेर कामुलाई पठाएको छ। करिब १० अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको मदन भण्डारी र त्यत्ति नै बजेट छुट्ट्याइएको हुलाकी सडक आयोजनामा क्रमशः अशोक तिवारी र धमेन्द्र झालाई कामु दिइएको छ। त्यस्तै, १२ अर्ब रूपैयाँ बजेट रहेको मध्यपहाडीमा हरिप्रसाद पोखरेललाई कामु दिइएको छ। पोखरेल दुई वर्षअघि पोखरामा रहँदा घुस लिँदालिँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेका इन्जिनियर हुन्।

अन्य डिईको तुलनामा निकै पछि रहेका ज्ञानेन्द्र झा संघीय सडक इटहरीको कामु बन्न सफल भएका छन्। यी सबै आयोजनामा सुईको दरबन्दी राखिएको छ। विभागमा सुईको अभाव भएर कनिष्ठलाई पठाइएको भने होइन। कनिष्ठलाई ठूला आयोजनामा कामु बनाइँदा सुईहरू रोहित बिसुराल, प्रेमप्रकाश खत्रीका साथै दीपक श्रेष्ठ र भीमार्जुन अधिकारी कामविहीन अवस्थामा छन्।

त्यस्तै, सिनियर डिभिजनल इन्जिनियरको दरबन्दी रहेको हुलाकी सडक कपिलवस्तुमा विष्णुबाबु पाण्डेले कामु पाएका छन्। त्यस आयोजनामा चालु आर्थिक वर्षका लागि एक अर्ब रूपैयाँ बजेट रहेको छ। त्यति नै बजेट छुट्ट्याइएको कालीगण्डकीमा कल्पना अधिकारी, करिब ७० करोड रूपैयाँ बजेट रहेको डिभिजन सडक चौरजहारीमा ध्रुव झा, सोही हाराहारीको बजेट रहेको जुम्लामा राजीव श्रेष्ठ, डेढ अर्ब रूपैयाँ बजेट रहेको डिभिजन सडक कैलालीलमा नरेन्द्र भट्टलाई कामु दिइएको छ। ८० करोड रूपैयाँ जति बजेट विनियोजन गरिएको हुलाकी सडक नेपालगन्जमा गागल भण्डारी, करिब ६० करोड रूपैयाँ बजेट रहेको जोमसोम–कोरलामा जगत प्रजापति, ४० करोड रूपैयाँ हाराहारी बजेट रहेको ताप्लेजुङ–ओलाङचुङगोलामा अमिन्द्र खड्का, ५० करोड रूपैयाँ बजेट रहेको जनकपुर परिक्रमा सडकमा रामटहल यादवलाई कामु दिइएको छ।

त्यस्तै, चालु आर्थिक वर्षमा ८० करोड रूपैयाँ बजेट रहेको पुल योजना सेक्टर नम्बर ३ नेपालगन्जमा लीला भण्डारी, ५० करोड रूपैयाँ बजेट रहेको डिभिजन सडक अछाममा राजेश यादव, त्यत्ति नै हाराहारी बजेट विनियोजन गरिएको कोसी करिडोरमा दिपेश रजक, २० करोड रूपैयाँ बजेट छुुट्ट्याइएको डुम्रेबेसी सडक परियोजनामा अच्यूतविलाश पन्तलाई कामु दिइएको छ। यी सबै आयोजनामा सिनियर डिभिजनल इन्जिनियरको दरबन्दी छ।

वरिष्ठ जतिलाई जगेडामा कनिष्ठलाई कामुको जिम्मेवारी दिइए पनि मन्त्रालयको नेतृत्वले तिनै आयोजनाबाट वरिष्ठलाई झिकेर जिम्मेवारीविहीन बनाएको छ। यतिखेर विभाग र मन्त्रालयमा जिम्मेवारीविहीन भएका वरिष्ठ डिईहरूमा बेलबहादुर भुजेल, अर्जुन अर्याल, विनोद मौवार, कृष्णराज अधिकारी, खड्कलाल श्रेष्ठ, कृष्णनाथ ओझा, सुनिलबाबु पन्त, गुरु अधिकारी, अंगलाल रोकाय, रामबहादुर गुरुङ र अर्जुन बम हुन्।

यीमध्ये बम, श्रेष्ठ, गुरुङलाई अवधि नपुगी आयोजनाबाट हटाइएको हो। दुई महिनाअघि डिईमा बढुवा भएका पारसमणि हमालले भने यस अवधिमा दुई आयोजनाको जिम्मेवारी पाएका छन्। बढुवा हुनेबित्तिकै मदन भण्डारी सुर्खेत खण्डको जिम्मेवारी पाएका हमालले केही दिनअघि डिभिजन सडक पोखराको जिम्मेवारी पाएका छन्। डिभिजन सडक पोखरा वरिष्ठ व्यक्तिले नेतृत्व गर्दै आएको ठाउँ हो। त्यस्तै प्राविधिक कर्मचारीको जथाभावी सरुवा गर्न सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका निकायमा पहुँचवाला कर्मचारीलाई दोहोरो जिम्मेवारी दिन थालिएको छ। काबिल र अनुभवी प्राविधिक कर्मचारीलाई जिम्मेवारीविहीन बनाउँदै केही व्यक्तिलाई ठूलो बजेट रहेका आयोजनाको जिम्मेवारी दिन थालिएपछि व्यापक आर्थिक चलखेल भइरहेको भन्दै अन्य कर्मचारीले आक्रोश पोखेका छन्।

एक साताअघि सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा मन्दिर नजिकै निर्माण हुन गइरहेको सिद्धबाबा सुरुङ मार्ग आयोजनाका प्राविधिक सहसचिव (सुई) विजय जैसीलाई हटाएर प्रभात झालाई दोहोरो जिम्मेवारी दिइएको छ। रेणुकुमारी यादव भौतिक पूर्वाधार मन्त्री बनेपछि शक्तिशाली बनेका झालाई अघिल्लो महिना सडक विभागको सम्भार महाशाखाको जिम्मेवारीसहित उपमहानिर्देशक बनाइएको थियो।

१४ महिनाअघि सुरुङ मार्गको जिम्मेवारी पाएका जैसीलाई अवधि पूरा नहुँदै तानेर झालाई दोहोरो जिम्मेवारी (सम्भार महाशाखा र सिद्धबाबा सुरुङ मार्ग) दिइएपछि विभागका कर्मचारी अचम्ममा परेका छन्। ‘विभागको उपमहानिर्देशक रहेका व्यक्तिले त्यत्ति ठूलो आयोजनाको काम कसरी गर्छन्?’, एक कर्मचारीले भने, ‘विगतमा यस्तो अभ्यास भएको सम्झना छैन।’ एक व्यक्तिले एउटै जिम्मेवारी पूरा गर्न कठिन भइरहेको बेला झाले कसरी दोहोरो जिम्मेवारी पूरा गर्लान् भनेर कर्मचारीहरूले अचम्म माने पनि मन्त्री, सचिवलाई कुनै चासो नभएको कर्मचारीको भनाइ छ। विभागमा पुल निर्माणसम्बन्धी विषयमा विद्यावारिधी गरेका एकमात्र सुई जैसीले सिद्धबाबा सुरुङ मार्गमा राम्रो ‘पर्फर्मेन्स’ दिँदादिँदै समय नपुगी सरुवा गरिनुलाई कर्मचारीहरूले आर्थिक लेनदेनसँग जोडेका छन्।

‘चीन, बेलायत, अमेरिका जस्ता मुलुकमा अध्ययन र काम गरिसकेका जैसीको क्षमतामा खोट लगाउने ठाउँ छैन,’ विभागकै अर्का कर्मचारीले भने, ‘तर अहिले तिनै व्यक्ति (जैसी) ले नेृतत्व गरेको आयोजनामा दोहोरो जिम्मेवारी पर्ने गरी अर्को व्यक्ति (झा) खटाइनु नितान्त आर्थिक चलखेल गर्नलाई हो।’

जैसीले टेन्डर आह्वान गरेको उक्त आयोजनामा यतिखेर ठेकेदार छनोटका लागि अन्तिम तयारी भइरहेको छ। ‘ठेकेदार छनोटमा बदमासी गर्नलाई हतारहतार आयोजनाको नेतृत्व हेरफेर गरेको देखिन्छ,’ ती कर्मचारीले भने। सिद्धबाबामा निर्माण हुन गइरहेको सुरुङमार्ग नेपालले आफ्नै आर्थिक स्रोत प्रयोग गरी निर्माण गर्न थालेको पहिलो आयोजना हो। यसअघि नागढुंगा सुरुङमार्गको निर्माण कार्य सुरु भए पनि त्यसमा जापान सरकारको सहयोग छ। तीन बाइपाससहितको एक हजार एक सय २६ मिटरको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि अर्थ मन्त्रालयले १० अर्ब रूपैयाँ सुनिश्चितता गरेको छ। पाँच वर्षभित्र सक्ने गरी आह्वान गरेको ठेक्का प्रक्रियामा सात चिनियाँ र दुई नेपाली ठेकेदार कम्पनी प्रतिस्पर्धामा छन्। प्राविधिक मूल्यांकनको कार्य अन्तिम चरणमा पुगेको उक्त सुरुङमार्गमा आर्थिक मूल्यांकन पनि चाँडै गर्ने पक्षमा मन्त्री र सचिव रहेको स्रोतको दाबी छ।

‘ठेकेदारको हातमा आयोजना पर्नेबित्तिकै त्यसको रकम आयोजना प्रमुख हुँदै माथिल्लो तहसम्म पुग्ने भएकाले आयोजना प्रमुख हटाउनेदेखि आर्थिक मूल्यांकनको कामसमेत धमाधम हुँदैछ,’ स्रोतले भन्यो, ‘पैसाका लागि यो हदसम्मको काम हुँदा पनि अनुगमन गर्ने निकाय चुप छन्।’ बुटवलदेखि पोखरासम्म सञ्चालन हुने सवारी साधनको दुर्घटना कम गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न थालिएको हो।

सामान्यतः सुरुङमार्ग तथा ठूल्ठूला पुल र आयोजनामा सक्षम प्राविधिकलाई नेतृत्व गर्न दिने चलन हुन्छ। ‘ठूला र धेरै बजेट भएका आयोजनामा अनुभवविहीन र कनिष्ठ कर्मचारीलाई जिम्मेवारी दिइनुले अहिलेको नेतृत्व विकास गर्न होइन, जसरी हुन्छ कमाउनुपर्छ भन्ने ध्येयमा लागेको देखिन्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘कमजोर व्यक्तिको हातमा ठूला आयोजना पुग्दा एकातिर निर्माण कार्यमा समस्या हुन्छ भने अर्कोतर्फ वरिष्ठको सीप र क्षमता उपयोग हुन पाउँदैन।’

विभागभरि ‘पोस्ट डक’ अध्ययन गरेका एक मात्र जैसीलाई सिद्धबाबा सुरुङमार्गबाट तानेर उत्तर–दक्षिण करिडोरमा थन्क्याइएको छ। जबकि यतिखेर उक्त शाखामा त्यत्ति धेरै काम छैन।

त्यस्तै, डिभिजनल इन्जिनियर दोरोका प्रसाद र राजेन्द्रप्रसाद दासले पनि दोहोरो जिम्मेवारी पाएका छन्। दोरोकालाई डिभिजन सडक रौतहट र हुलाकी सडक चपुर वीरगन्ज खण्डको जिम्मेवारी दिइएको छ। मदन भण्डारी हेटौंडा खण्डको प्रमुख रहेका राजेन्द्रलाई डिभिजन सडक हेटौंडाको पनि जिम्मेवारी तोकिएको छ।

यसअघि मन्त्रालयको नेतृत्व तह आर्थिक चलखेलमा लाग्दा अन्य आयोजनामा काबिल, सक्षम र वरिष्ठ कर्मचारीको साटोमा कनिष्ठ र अनुभव नभएकालाई जिम्मेवारी दिइएको थियो। राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनामा कार्यरत प्राविधिक सहसचिव (सुई) रोहित बिसुराललाई अवधि नपुगी सरुवा गरेर कनिष्ठ डिई धमेन्द्र झालाई कामुको जिम्मेवारी दिइएको थियो। सडक विभागका रहेका डिईहरूको सूचीमा झा २४औं नम्बरका हुन्।

त्यस्तै, संघीय सडक इटहरीमा १५ औं नम्बरमा रहेका ज्ञानेन्द्र झालाई कामु बनाइएको छ। त्यहाँ पनि प्राविधिक सहसचिवको दरबन्दी छ। वरिष्ठ सहसचिवले नेतृत्व गर्दै आएको मन्त्रालयको योजना महाशाखाको प्रमुखमा ललिजन खनाललाई लगिएको छ। केही महिनाअघि उनीसँगै बढुवा भएका प्रेमप्रकाश खत्रीलाई भने कुनै जिम्मेवारी दिइएको छैन।

योजना महाशाखामा अनुभव नभएका व्यक्तिलाई पठाउँदा अन्य वरिष्ठलाई काम गर्न गाह्रो भएका मन्त्रालयका कर्मचारी बताउँछन्। जसले गर्दा धेरै बजेट खर्च गर्ने जिम्मेवारी रहेको मन्त्रालयको प्रगति निकै न्यून छ। चालु आर्थिक वर्षमा मन्त्रालयका लागि एक खर्ब ३० अर्ब रूपैयाँ विनियोजन गरिएको छ। तर हालसम्म करिब २० अर्ब रूपैयाँ मात्र खर्च हुन सकेको छ। पुँजीगत बजेट खर्च हुन नसक्दा समग्र अर्थतन्त्र समस्यामा छ। न्यून पुँजीगत खर्चका कारण वित्तीय प्रणालीमा चरम तरलता अभाव छ। जसले गर्दा उद्योग, व्यवसायीले कर्जा पाउन सकेका छैनन्। कर्जा विस्तार हुन नसकेका कारण रोजगारी सिर्जना हुन सकेको छैन। स्वदेशमा रोजगारी सिर्जना नहुँदा जोश र जाँगर भएका युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले अहिले भएको सरुवा सचिव स्तरबाट नभएको दाबी गर्दै ‘मन्त्रीज्यूले उपयुक्त ठाउँमा उपयुक्त मान्छे राख्नु भएको होला’, भन्ने प्रतिक्रिया दिए। त्यस्तै, केही कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएकोमा सडक विभागका महानिर्देशकलाई थाहा हुने बताए। तर मन्त्रालय स्रोत भने सचिवको सिफारिसमा नै मनपर्दी सरुवा गरिएको बताउँछ। ‘अहिले गरिएको कतिपय व्यक्तिको सरुवामा मन्त्रीलाई थाहा नहुन पनि सक्छ,’ ती कर्मचारीले भने, ‘शक्ति केन्द्रलाई रिझाउन यस्तो कार्य भइरहेको छ।’ सरुवा गर्दाको रकम विभिन्न शक्ति केन्द्रमा पुग्ने गरेको उनले दावी गरे। मन्त्रालयले जथाभावी सरुवा गर्दा पनि विभागका महानिर्देशक अर्जुनजंग थापाले प्रतिवाद नगर्नुलाई कर्मचारीले आश्चर्यको रूपमा लिएका छन्। 

जथाभावी सरुवा हुँदा महानिर्देशकले विभाग चलाउने मैले हो भनेर प्रतिवाद गर्ने ठाउँ थियो,’ ती डिईले भने, ‘मन्त्रालयले जे जे भन्छ। त्यसैमा चुप लाग्ने गरेकाले उहाँको (महानिर्देशक) भूमिका पनि शंकास्पद देखिन्छ।’ महानिर्देशक थापाले कुन कर्मचारीलाई के जिम्मेवारी तोक्ने भन्ने निर्णय गर्ने अधिकार मन्त्रालयको भएको बताए। ‘मन्त्रालयबाट जे निर्णय हुन्छ विभागले त्यसैलाई कार्यान्वयन गर्ने हो। अहिले त्यही भइरहेको हो,’ उनले बिहीबार नागरिकसँग भने।
अर्को समाचार
विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया थालनी भएको छः मन्त्री शर्मा
०६ पौष २०८०
•
३ मिनेट पाठ
विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया थालनी भएको छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताएकी छिन्।




नेपाल बिज्ञापन सङ्घ (आन)को २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले  पारदर्शीबिज्ञापन बजारले बिज्ञापनदाता, मिडिया र व्यवसायी तीनै पक्षको हित गर्ने बताएकी हुन।

आर्थिक संकुचलनले मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको र यसको मारमा विज्ञापन बजार पनि परेको उल्लेख गर्दै उनले विज्ञापन बजारमा संकुचन आउँदा विज्ञापन बजारमा कार्यरत जनशक्ति र मिडियामा समस्या आएको बताइन।

‘‘विज्ञापन बजारमा आएको संकुचनले विज्ञापन चक्रमा नै असर परिरहेको छ। आर्थिक क्रियाकलाप बढेसँगै विज्ञापन बजार पनि बढ्ने नै छ भन्ने विश्वास गर्न त सकिन्छ, साथसाथै विज्ञापन बजारलाई थप पारदर्शी र प्रतिष्पर्धी बनाउँदै लैजान पनि ध्यान दिनुपर्ने अवस्था छ’, उनले भनिन।

आफूले सञ्चार मन्त्रालय सम्हालेपछि मिडिया क्षेत्रबाट विज्ञापन बजार पारदर्शी भएन भन्ने ठूलो गुनासो सुनेपछि सरोकारवालासित छलफल गरेर विज्ञापन नियमावली संशोधनमार्फत विज्ञापन बजारलाई पारदर्शी र प्रतिष्पर्धी बनाउने प्रक्रियाको थालनी गरिएको जानकारी दिइन।

खासगरी सरकारी कार्यालयबाट वितरण हुने विज्ञापनमा चरम बेथिति रहेको र अस्वभाविकरुपमा कमिसनको दुरुपयोग हुने गरेको सूचनाले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै अब विज्ञापन नियमावली संशोधनमार्फत मिडियाको बिल बिजक र विज्ञापन एजेन्सीको शुल्कसमेत कागजात पेश गरेपछि मात्रै भुक्तानी हुने प्रावधानको थालनी गरिएको छ र यसले विज्ञापनको सबै हिस्सा मिडियासम्म पुग्ने र विज्ञापन एजेन्सीहरुले पाउनुपर्ने सेवा शुल्क पारदर्शीरुपमा पाउने वातावरण बन्ने छ भन्ने सरकारको विश्वास रहेको मन्त्री शर्मा स्पष्ट पारिन।

विज्ञापन सामग्रीहरु लक्षित समुदायमा केन्द्रित नगरी औपचारिकताका लागि मात्रै सरकारी सूचना प्रवाह गर्ने देखिएको उल्लेख गर्दै मन्त्री शर्माले कुनै निश्चित जिल्लाको निश्चित पालिका वा समुदायका लागि आवश्यक सूचना त्यो ठाउँसम्म पहुँच नभएका मिडियामा दिने गरेकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उनको भनाई थियो।

विज्ञापन बजारका हिसाबले हेर्दा सार्वजनिक सूचना आर्थिक पक्षसँग पनि जोडिएला तर सरकार र जनताको आँखाबाट हेर्दा त यो जनताको सूचनाको हकसँग सम्बन्धित विषय भएको चर्चा गर्दै उनले विज्ञापनदाता वा विज्ञापन एजेन्सीहरुले जुन क्षेत्र र समुदायका लागि लक्षित सूचना हो, सोही ठाउँका मिडियाबाट प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्ने पनि उनको भनाई थियो।

अहिले विज्ञापनको केही हिस्सा सामाजिक सञ्जाल मार्फत पनि जाने गरेको उल्लेख गर्दै उनले विज्ञापन नियमावली २०८० ले सामाजिक सञ्जालबाट हुने विज्ञापनको नियमन गर्ने बाटो समेत खुलाएको र  यसका आधारमा विज्ञापन बोर्डले चाँडोभन्दा चाँडो नियमनको प्रक्रिया सुरु गर्नु आवश्यक रहेको उनको भनाई थियो।

सामाजिक सञ्जालमा हुने विज्ञापनले एकातिर नेपाली मुद्रा बिदेशिने खतरा बढाएको र अर्कोतिर नेपालमा दर्ता नभएका प्लेटर्फमा हुने कारोवारको जानकारी नै नेपाल सरकारलाई नहुने अवस्थाले समस्या सिर्जना गर्दै गएकाले सरकारले मस्यौदा गरिरहेको सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा पनि सामाजिक सञ्जालमा हुने विज्ञापनलाई निरुत्साहित गर्ने गरी प्रावधान समेटिने जानकारी दिइन।

विज्ञापनसँग जोडिएका अन्य केही थप सवालहरु पनि ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले खासगरी विज्ञापन उत्पादनको सवालमा देश, काल, परिस्थितिलाई ध्यान दिनुपर्ने बताइन। संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर महिलालाई मुलुकको राष्ट्रपति बनाइसक्ने अवस्थामा पुग्दा पनि महिलाको भूमिकालाई चुलो चौका र भात भान्सामै केन्द्रित गर्ने आशयका विज्ञापन उत्पादन गर्ने, नेपालको संविधान र कानुनले प्रतिबन्ध गरेका विभिन्न कुप्रथालाई प्रोत्साहन गर्ने खालका विज्ञापन पनि उत्पादन र प्रकाशन÷प्रसारण गर्ने गरेको पाइएको उल्लेख गर्दै उनले यसमा विज्ञापनदाता, एजेन्सी र मिडियाहरु सचेत हुन आवश्यक रहेको बताइन ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस