बनेपा– मासु व्यवसायीले फेरि ब्रोइलर कुखुराको भाउ घटाएका छन्। पाँच दिन नपुग्दै उनीहरुले मिलेमतोमा भाउ घटाएका हुन्।
अघिल्लो शनिबार जिउँदो ब्रोइलरको मूल्य किलोमा १० रुपैयाँ घटाएका उनीहरुले बिहीबार थप ५ रुपैयाँ घटाए। कुखुराको खरिद मूल्य १ सय ५५ रुपैयाँ कायम भएको छ।
खरिद मूल्य तोकिए पनि किसानले कोल्ड स्टोरबाट तोकिएको भाउ पाएका छैनन्। सम्पूर्ण कोल्डस्टोरले यो भाउको २ प्रतिशत वा ५ रुपैयाँ प्रतिकेजी जर्ती भन्दै कटाउने गरेका छन्।
२०७१ वैशाखमा जिउँदो ब्रोइलर प्रतिकिलोको २ सय ४० पाएका किसानले भदौ अन्त्यसम्ममा मुस्किलले १ सय ८० रुपैयाँ पाएका थिए। यो पनि घटाउँदै व्यवसायीले बिहीबारदेखि १ सय ५५ रुपैयाँ बनाएका हुन्। ‘उत्पादन लागत नै नउठ्ने गरी भाउ घटेपछि चिन्तित हुनु स्वाभाविक हो,' नेपाल कुखुरापालक किसान संघ, काभ्रेका सचिव सुन्दर साँगालीले भने।
भदौ १० गतेसम्म किसानको लागतअनुसार मूल्य पाइरहेकामा कोल्डस्टोर व्यवसायीले आफूखुसी भाउ घटाइरहेको उनको आरोप छ। ‘खोरमा तयार ब्रोइलरको उत्पादन लागत कम्तीमा १ सय ९० रुपैयाँ प्रतिकिलो पर्न आउँछ। तर लागतभन्दा ज्यादै कम मूल्यमा बेच्नु परेपछि व्यवसायबाटै पलायन हुनुपर्ने भयो,' साँगालीले भने।
अहिले तयार भएको ब्रोइलरको एकदिने चल्ला किन्दा किसानले प्रतिगोटा ७५ रुपैयाँसम्म तिरेका थिए, ‘चल्लाको बढ्दो मृत्युदर, औषधी, भ्याक्सिन, दाना र व्यवस्थापन खर्च जोड्दा १ सय ८० देखि १ सय ९० सम्म प्रतिकिलो लागत पर्ने गरेको छ,' उनले भने।
तयार भएका ब्रोइलर पालिराख्दा दानामात्र खाने, तौल नबढ्ने हुँदा बेच्नैपर्ने साँगालीको भनाइ छ। २०७१ वैशाखयता १९ पटक कुखराको भाउ हेरफेर हुँदा २ पटकमात्रै बढेको छ। १७ पटक घटेको छ।