काठमाडौं- चीनको सिचुआन एयरलाइन्सले नेपालमा उडान सञ्चालन गर्ने भएको छ। कम्पनीले काठमाडौंका लागि दैनिक एक उडान गर्ने घोषणा गरेको छ। सिचुआनले चीनको चेङ्दुबाट ल्हासा हुँदै काठमाडौं उडान गर्न लागेको हो। यसले नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) मा सोसाइटी ट्राभल सर्भिस प्रालिलाई नियुक्त गरेको छ। आगामी जनवरी (पुस दोस्रो सातादेखि माघ दोस्रो साता) भित्र काठमाडौं उडान गर्ने सोसाइटी ट्राभलले जानकारी दिएको छ।
'सिचुआन एयरलाइन्सले आफ्नो नयाँ गन्तव्यका रूपमा काठमाडौं छनौट गरेकोमा खुसी छौं,' जिएसए सोसाइटी ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले भने, 'चिनियाँ पर्यटकको नेपाल आगमन बढिरहेका बेला सिचुआनको उडानपछि थप उल्लेख्य योगदान पुग्ने विश्वास छ।'
सन् १९८६ मा स्थापना भएको सिचुआन एयरलाइन्सले काठमाडौं उडान गर्न एयरबस 'ए३१९' सिरिजको जहाज प्रयोग गर्नेछ। सिचुआन यो वर्षको उत्कृष्ट क्षेत्रीय वायुसेवा अवार्डाबाट सम्मानित पनि भइसकेको छ। सुरुवातमा आन्तरिक उडानमात्र गरेको यसले २००७ बाट अन्तर्राष्ट्रिय उडान गरेको थियो।
सिचुआनले हाल एयरबस ए३१९, ३२०, ३२१ र ३३० सिरिजका ९३ जहाजबाट आन्तरिक गन्तव्य बाहेक अस्ट्रेलिया, क्यानडा, भियतनाम, हङकङ, इन्डोनेसिया, थाइल्यान्ड, साइपान, दक्षिण कोरिया, ताइवानलगायत देशमा उडान गरिरहेको छ।