भारत (कोलकाता)-तेस्रो मुलुकबाट भारत हुँदै आउने सामान छुटाउने प्रक्रियामा 'बिचौलिया'ले फर्जी कागज बनाएर नेपाली आयातकर्ता ठग्ने गरेका छन्। समुद्री मार्ग हुँदै तेस्रो मुलुकबाट आयात हुने सामानको एकमात्रै 'ट्रान्जिट रुट' कोलकाता बन्दरगाहमा बिचौलियाले बर्षौं देखि नेपाली आयातकर्ता ठग्दै आएका हुन्। कोलकाता बन्दरगाहमा आएपछि नेपाली सामान छुटाउने जिम्मा सिपिङ एजेन्टलाई सुम्पिनुपर्छ।
'सामानको सबै अधिकार सिपिङ एजेन्टलाई दिनुपर्ने बाध्यात्मक व्यवस्था छ,' एक व्यवसायीले भने, 'हाम्रो कुनै अधिकार नहुने भएपछि ती एजेन्टले नक्कली कागजात बनाएर धेरै व्यवसायीलाई ठग्ने गर्छन्।' यो ठगीको भार उपभोक्तासम्म पर्छ। भारतमा सामान छुटाउन लागेको मूल्यसमेत आयात भएको वस्तुमा जोडिन्छ।
कोलकाताका लागि नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले एजेन्टको बलमिच्याइँले नेपाली व्यवसायी समस्यामा पर्ने गरेको स्वीकार गरे।
'तेस्रो मुलुकबाट कोलकाता बन्दरगाहमा सामान आएपछि ती सामान छुटाउने जिम्मा एजेन्टको हुन्छ, यही प्रक्रियामा उनीहरुले व्यवसायीलाई दुःख दिँदै आएका छन्,' महावाणिज्यदूत घिमिरेले नागरिकसँग भने। उनका अनुसार यसरी ठगिनुमा एजेन्ट मात्रै होइन नेपाली व्यवसायी पनि जिम्मेवार छन्।
'आयात गर्ने सामान्य प्रक्रियाबारे समेत जानकारी नराख्दा व्यवसायीले दुःख पाउने गरेका छन्,' घिमिरेले भने, 'हामीले पछिल्लो समयमा नेपाली व्यवसायीलाई सचेत गराउन थालेका छौं।' उनले नेपाली व्यवसायीलाई जानकारी नभएको फाइदा एजेन्टले उठाएको बताए।
'नेपालको आयात–निर्यातमा अधिक समय लाग्छ, कसरी र किन लाग्छ भन्नेतिर व्यवसायीले ध्यान दिँदैनन् र सम्पूर्ण कुरा एजेन्टमाथि भर पर्छन्,' घिमिरेले थपे, 'एजेन्ट कसरी व्यवसायीबाट बढी रकम असुल्न सकिन्छ भन्नेमा लाग्छन्।'
अधिकांश औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुमा विदेशको भर पर्नुपर्ने नेपालमा आयात लागत बढ्दा स्वदेशी उद्योग र उपभोक्तामा नकारात्मक असर पर्छ।
महावाणिज्य दूतावासले गरेको अध्ययनले व्यवसायी र सामान पठाउने कम्पनी (सिपर) सँग सम्झौता भएपछि नेपालसम्म सामान पुग्न करिब १९ दिन लाग्ने देखाएको छ। तर, व्यवसायीले ५ देखि १४ दिनको सम्झौता गर्छन्। 'यसमा एजेन्टले खेल्ने ठाउँ पाउँछन्, व्यवसायीको सानो कमजोरीका कारण उनीहरु ठगिने गरेको महावाणिज्य दूतावासका अधिकारी बताउँछन्।
महावाणिज्य दूतावासको प्रयासले सम्झौता अवधि २१ दिनसम्म लम्ब्याइएको छ। तर व्यवसायीले यसको पूर्ण पालना नगरेको उप–महावाणिज्यदूत सुरेन्द्र थापाले बताए। 'व्यवसायी एजेन्टमाथि भर पर्छन्, आफूलाई परेको घाटाको जानकारी पनि नराखी आयातमा लाग्ने बढी रकम निरन्तर तिर्दै आएका छन्,' थापाले भने, 'उनीहरुमा जानकारीको कमी देखिएको छ, कसरी कम मूल्यमा सामान आयात गर्न सकिन्छ, कसरी सस्तो पर्छ भन्नेमा ध्यान नदिनुमा उनीहरु पनि दोषी छन्।'
व्यवसायीको सामान्य अनभिज्ञताले उनीहरु बिचौलियाको चंगुलमा फस्ने गरेको थापाको भनाइ छ। उनले थपे, 'व्यवसायीसँग कम दरमा काम गर्ने एजेन्टको प्रतिस्पर्धा हुन्छ। सिपर कम्पनीसँग व्यवसायीको सम्झौता भएपछि एजेन्ट–एजेन्टबीच पुनः मोलमोलाइ हुन्छ।' यही कारण व्यवसायी ठगिने र लागत अकासिँदै जाने गरेको तथ्य उनले खुलाए। व्यवसायीले सम्पूर्ण लागत जोडेर सामान बेच्न पाइने हुँदा वास्ता नगरेका हुन्।
सिपरसँग सामान आयात गर्न २१ दिनसम्मको सम्झौता (बिल अफ क्रेडिट) गर्न नेपालका हरेक व्यावसायिक संघ–संस्थालाई महा–वाणिज्य दूतावासले लेखेर पठाउने गरेको छ। तर व्यवसायीले त्यो कार्यान्वयन गर्दैनन् र पाँचदेखि १४ दिनको सम्झौता गरेर गल्ती दोहोर्यााउने गरेका छन्। अनि दुःख पाएको गुनासो लिएर आउने गरेको थापाले बताए।
'पाँच वा आठ दिनको सम्झौता गरेको भेटिए उनीहरुलाई सचेत गराउने गरिएको छ। केही कम्पनीलाई कालो सूचीमा पनि राखिन्छ। तर, तिनैले अर्को एजेन्ट कम्पनीमार्फत काम गरिरहेका हुन्छन्,' घिमिरेले भने, 'व्यवसायी र सिपरले सम्झौता गरिसकेको अवस्थामा हामीले किन टाउको दुखाउने भन्ने पनि एजेन्टको तर्क हुन्छ। लिने र दिनेले सम्झौता गरिसकेपछि हामीले सम्झौता संशोधन गर्न सक्दैनौं भन्ने एजेन्टको तर्कले हामीले हस्तक्षेप गर्ने अवस्थासमेत न्यून हुन्छ।'
सामान नेपालसम्म पुर्यातएर समयमै कन्टेर सिपर कम्पनीलाई फर्काउनुपर्ने हुन्छ। तर छोटो अवधिमा उक्त काम सम्भव हुँदैन र बढी समय लाग्नासाथ कम्पनीले व्यवसायीलाई प्रतिदिन उच्च दरमा 'डिटेन्सन चार्ज' (ढिलाइबापत तिर्नुपर्ने जरिवाना) लगाउँछ।
बन्दरगाहबाट सामान छुटाउन वा राफसाफ गर्नका लागि दुई सय ४४ एजेन्ट कम्पनी सूचीकृत छन्। तर करिब ४० कम्पनीले अहिले काम गरिरहेको महावाणिज्य दूतावासले जानकारी दिएको छ। तीमध्ये पनि १० भन्दा बढी कम्पनी पूर्ण सक्रिय नरहेको थापाले जनाए।
व्यवसायीले भोगेको समस्या सरकारले कुटनीतिक तवरले अन्त्य गर्नुपर्ने कार्गो व्यवसायीको छाता संगठन नेपाल फ्रेट फर्वाडर्स एसोसिएसन (नेफा) का अध्यक्ष राजन शर्माले बताए। 'कोलकातामा हुने एजेन्टको भूमिका अन्त्य गरेर वीरगन्ज भन्सारमा सोझै सामान आउने व्यवस्था नहुँदासम्म समस्या समाधान हुँदैन,' उनले नागरिकसँग भने, 'सामान छुटाउने क्रममा एजेन्टले कागजी प्रक्रियामा खेल्ने हुँदा व्यवसायीले दुःख पाएका छन्।'
भारतले कोलकाता बन्दरगाहमा सामान छुटाउने समस्या कम गरी सोझै नेपाल आउने व्यवस्था 'इन्टरनेसनल ट्रान्ससिपमेन्ट ड्राफ्ट'का लागि प्रस्ताव मागेको छ। तर नेपालले यसबारे अहिलेसम्म कुनै तयारी नगरेको शर्माले बताए। उनका अनुसार यो व्यवस्था भए सिपबाट कोलकता आएको सामान सोझै वीरगन्ज बन्दरगाहासम्म ल्याउन सकिन्छ।