हरेक वर्ष मे ९ मा मनास्लु हिमाल (८१६३मि) आरोहण दिवस मनाईन्छ। आरोहणका दिन पारेर मे ९ मा विशेष कार्यक्रम गरिदै आइएको छ। यो पटक शनिबार आरोहण दिवस पारेर मनास्लु हिमालको पहिलो आरोहीको सालिक अनावरण गरिएको छ। मनास्लु आरोहणको शनिबार ७० वर्ष पुगेको छ।
मनास्लु विश्वको आठौ अग्लो हिमाल हो। सन् १९५६, मे ९ मा पहिलो पटक यो हिमालको जापानी आरोहि टोसी इमानीसि र नेपालका ग्याल्जेन नोर्बु्ले आरोहण गरेका थिए। त्यहि दिन पारेर हरेक वर्ष मनास्लु आरोहण दिवस मनाईन्छ। हिमालसम्बन्धि जानकारहरुका अनुसार मनास्लु संस्कृत शब्द ‘मासन’ बाट आएको हो। यसको अर्थ ‘आत्मा’ हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितको टोली शनिबार आरोहणको ७० वर्ष पुगेको अवसरमा गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा आयोजित कार्यक्रममा सहभागि भए। उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले मनास्लुको यो कार्यक्रमले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
‘मनास्लु केवल हिमाल मात्र होइन, हाम्रो प्राकृतिक सम्पदा, साहसिक पर्यटन, स्थानीय संस्कृति र गण्डकी प्रदेशमा रहेको नेपालको अन्तर्राष्ट्रिय पहिचानको गौरव हो,’ पाण्डेले भने, ‘यसको संरक्षण, प्रवर्द्धन र स्थानीय समुदायको समृद्धिसँग जोडिएको दिगो पर्यटन विकासमा प्रदेश सरकार प्रतिबद्ध छ।’
मुख्यमन्त्री पाण्डे, गाउँपालिकाका अध्यक्ष निमा लामाले जापानी आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसीलाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे। साथै सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको छ। कार्यक्रममा भोटे लामा समुदायको सांस्कृतिक सेर्का नाच तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।
पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछानेका अनुसार चुमनुब्री गाउँपालिकाको सामागाउँमा पहिलो आरोहीद्वय टोसी इमानीसि ग्याल्जेन नोर्बुको शालिक अनावरण गरिएको छ। उक्त कार्यक्रममा आरोहीद्वयका परिवारका सदस्य पनि सहभागि थिए। ‘मनास्लु आरोहणको ७० वर्ष पुगेको छ। नेपालको साहसिक पर्यटनमा मनास्लु आरोहणले भिन्दै महत्व बोकेको छ। मनास्लुको आरोहण अलि बढि साहसिक पनि मानिन्छ,’ उनले भने।
मनास्लु क्षेत्र साहसिक पदयात्राका लागि निकै परिचित पदमार्ग हो। मनास्लु हिमालमा पहिलोपटक जापानी पाइला परेको भन्दै कतिपयले यसलाई जापानी हिमाल पनि भन्छन्। पर्यटन व्यवसायीका अनुसार दोश्रो विश्वयुद्धपछि जापानी नागरिकले यसको आरोहण गरेकोले पनि यो हिमालबारे जापानी आरोही बढि चाँसो लिन्छन्।
‘जापानी पर्यटकले मनास्लु हिमाललाई निकै रुची दिन्छन। जापानीहरु आरोहण गर्न पनि रुचाउँछन’ उनले भने। व्यवसायीका अनुसार मनास्लु क्षेत्रमा वर्षमा करिब १५ हजार पर्यटक जान्छन। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार त्यस क्षेत्रमा करिब १५ दिन अवधिको पदयात्रा हुन्छ।
गोरखाको आरुघाटबाट सुरु हुने मनास्लु क्षेत्रको पदयात्रा सामागाउँ (३५००मि) र लार्केपास (५१००मि) हुँदै मनाङ निस्केर टुंगिन्छ। लार्केपास क्षेत्र जान नसक्ने पर्यटक सामागाउँबाटै फर्किन्छन्। मनास्लु हिमाल आरोहणका लागि गएका पर्यटक पनि सामागाउँबाटै फर्किन्छन्।
हिमाली क्षेत्रको निकै रमणीय मनास्लु पदयात्रा क्षेत्रमा पर्ने चुम उपत्यका (छेकम्पार र चुम्चेत) तथा नुब्री उपत्यका (सामागाउ, लोहो, प्रोक, विही) मुख्य रमणीय स्थल हुन्। मनाङसम्म निस्कन सकिने भएकोले पनि यो क्षेत्र निकै आकर्षक छ। त्यहाँको सांस्कृतिक र भौगोलिक तथा प्राकृतिक सुन्दरताले पर्यटकलाई आकर्षण गर्छ। मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल अवलोकन गर्न पाउँछन्। त्यस्तै चुम भ्यालीतर्फ विभिन्न गुम्बा अवलोकन गर्न पाउँछन्।
काठमाडौँ, नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।
सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।
सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्याएका छन्।
सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।
सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।
विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।
बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।
यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।
साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।
निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।
नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।