काठमाडौं-नेपाल वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसँग खरिद गर्न लागेका दुईमध्ये एक जहाजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निगमले एयरबससँग लिने दुई थान 'ए३२०–२००' सिरिजका जहाजमध्ये एउटाको निर्माण अन्तिम चरणमा पुगेको हो। उक्त जहाजमा आठ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट रहने निगमले जनाएको छ।
'पहिलो जहाजको बडी बनाउने काम पूरा भइसकेको छ भने आवरण (लिभरी) सहित अन्य रंगरोगन गर्ने काम तीव्र गतिले भइरहेको छ,' निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'जहाजमा इन्जिन जडान गर्ने र सिट राख्ने काम पनि सँगसँगै भइरहेको छ।'
निगमका अनुसार उक्त जहाजको परीक्षण उडान सन् २०१५ जनवरीको अन्तिम (आगामी माघ दोस्रो साताभित्र) गर्ने तालिका एयरबसले बनाएको छ। त्यसैअनुरूप अहिलेसम्म निर्धारित कार्यतालिकाबाट जहाज निर्माण भइरहेको छ।
'एयरबसले पहिलो जहाज आगामी फेब्रुअरी (माघ दोस्रो सातादेखि फागनु दोस्रो साताभित्र) तथा दोस्रो जहाज अप्रिल (चैत दोस्रो सातादेखि वैशाख दोस्रो साताभित्र) काठमाडौं पठाउने जानकारी दिएको छ,' निगमको विज्ञप्तिमा छ, 'दुवै जहाजमा इन्टरनेसनल एरोइन्जिन कम्पनीबाट उत्पादित इन्जिन जडान गरिनेछन्।'
निगमले २०७० असार १३ मा एयरबससँग दुईवटा जहाज खरिद सम्झौता गरेको थियो। एयरबससँग सम्झौता हुनअघि जेठ २९ मा सञ्चय कोषसँग १० अर्व रुपैयाँ बराबरको ऋण सम्झौता गरेको थियो।
निगम व्यवस्थापनका अनुसार हालसम्म एयरबसलाई चार किस्तामा ४ अर्ब रुपैयाँ पठाइसकेको छ। दुई जहाजका लागि एयरबसलाई २०७० असार ३१ मा पहिलो र दोस्रो किस्ता, त्यसपछि साउन १७ र असोज १५ मा तेस्रो किस्ता तथा माघ २० र चैत १८ मा चौथो किस्ता पठाइएको थियो।
एयरबसलाई पहिलो चरणमा कुल मूल्यको करिब ३० प्रतिशत तथा बाँकी जहाज आउनु तीन महिनाअघि चुक्ता गर्नुपर्ने सर्त छ। आन्तरिक ऋणदातालाई भने जहाज सञ्चालनमा आएपछि तीन–तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता भएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुईवटा 'न्यारो बडी' जहाज खरिद गर्न कोषले १० अर्ब रुपैयाँ ऋण दिन सम्झौता गरिसकेको छ। उसले १० अर्ब ऋणका लागि वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको छ भने चुक्ता अवधि १५ वर्ष राखेको छ।