काठमाडौं- एक सय ४० मेगावाटको माथिल्लो सेती जलाशय आयोजनाका लागि परामर्शदाता छान्न नयाँ प्रक्रिया सुरु गरे एसियाली विकास बैंक (एडिबी) ले आयोजनाबाट हात झिक्ने संकेत दिएको छ।
ऊर्जा मन्त्रालयले परामर्शदाता नियुक्तिको पुरानो प्रक्रिया रद्द गरेर नयाँमा जाने निर्णय गरेपछि एडिबीले यस्तो संकेत गरेको हो। एडिबीका आवासीय निर्देशक केनिची योकोयामाले नेपाल सरकारले आधिकारिक निर्णय सार्वजनिक नगर्दासम्म ऊर्जा मन्त्रालयको निर्णयलाई विश्वास नगर्ने बताए।
सरकारले पुरानो प्रक्रिया रद्द गरेको आधिकारिक निर्णय गरे एडिबी मुख्यालयले आयोजनाबाट हात झिक्न सक्ने आशय योकोयामाले व्यक्त गरे। नयाँ प्रक्रियामा जानु परे सुरुदेखि नै पुनः लगानी गरेर परामर्शदाता छान्ने काम एडिबीले नगर्ने र लगानी झिक्नेबारे आन्तरिक छलफल भइरहेको एडिबी स्रोतले बतायो।
'पुरानो प्रक्रिया रद्द गरेको विषयमा नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक गरोस, हामी यसको प्रतीक्षामा छौं,' उनले आइतबार नागरिकसँग भने, 'नयाँ प्रक्रियामा जानेबारे अहिलेसम्म सोचिएको छैन। गए लगानी फिर्ता गर्नेबारे सोच्न बाध्य हुनेछौं। आशावादी छौं, सरकारले पुरानै प्रक्रिया अगाडि बढाउनेछ।'
आयोजनाको परामर्शदाता नियुक्त गर्न प्राविधिक र आर्थिक मूल्यांकन गर्दा जर्मनको लामेयर इन्टरनेसनल र जापानको कानसाई कम्पनी क्रमशः पहिलो र दोस्रो स्थानमा परेका थिए। प्रतिस्पर्धामा लामेयरले परामर्शका लागि कम दर प्रस्ताव गरेकाले यही कम्पनी छान्न एडिबीले मन्त्रालयलाई सिफारिस गरेको थियो। सार्वजनिक खरिद ऐन, २०६३ मा समेत कुनै पनि ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम प्रस्ताव गर्ने व्यक्ति वा कम्पनीको प्रस्ताव अन्तिम हुने व्यवस्था छ।
आयोजनाका लागि एडिबीले १५ करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै अन्य लगानीका लागि समन्वय गरेको थियो। कुल ५० करोड डलर (५० अर्ब रुपैयाँ) लागत अनुमान गरिएको आयोजनाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ३० लाख र युरोपियन इनभेस्टमेन्ट बैंकले करिब १० करोड अमेरिकी डलर सहुलियत ऋण दिने प्रतिबद्धता जनाइसकेका छन्। उनीहरुसँग सरकारले ऋण सम्झौतासमेत गरिसकेको छ।
वित्तीय स्रोत जुटाउन पहल गरेकाले एडिबीले परामर्शदाता नियुक्तिको मूल्यांकन गरेको थियो। एडिबीले विभेदपूर्ण मूल्यांकन गरेको आरोप लगाउँदै मन्त्रालयले गत बुधबार नियुक्ति प्रक्रिया रद्द गरेको हो। एडिबीले आयोजनाबाट हात झिके अन्य दाताको ऋणसमेत गुमाउनुपर्ने र आयोजना नबन्ने पक्का हुन्छ।
सेती नदीमा अत्यधिक सेडिमेन्ट (ढुंगा, बालुवा र लेदो) बग्छ। यसको विस्तृत अध्ययन गर्ने विषयमा लामेयरको अनुभव नभएको र कानसाईले जापानमा यही प्रकृतिका धेरै आयोजनामा काम गरेको भन्दै कानसाईका नेपाली एजेन्टले यो कम्पनीको पक्षमा मन्त्रालयमा लबिङ गर्दै आएका छन्। मन्त्रालयले पनि एडिबीको निर्णय विभेदपूर्ण रहेको ठहर गरेको छ। योकोयामाका अनुसार कानसाईको तुलनामा लामेयर अन्तर्राष्ट्रियस्तरमा अनुभवी र लेदो बढी बग्ने नदीको अध्ययनमा लामो अनुभव हासिल गरेको कम्पनी हो।
लामेयरले सेतीजस्तै प्रकृतिका अध्ययन भुटान, पाकिस्तान, कम्बोडिया, भारतलगायत देशमा गरिसकेको पनि उनले जानकारी दिए। 'कानसाईसँग जापानमा मात्र काम गरेको अनुभव छ, नेपालको भौगोलिक र माटोको प्रकृतिबारे ऊ अनभिज्ञ छ तर लामेयर धेरै देशमा काम गरिसकेकाले समग्रमा ऊ सबल छ,' आवासीय निर्देशक योकोयामाले भने। मूल्यांकन प्रक्रियामा नेपालको स्वार्थबाहेक अरु कुरा नहेरिएको पनि उनले प्रस्ट पारे।
ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले भने ऋण जुटाइदिएको नाममा एडिबीले परामर्शदाता नियुक्ति प्रक्रियामा अनावश्यक दबाब दिएको बताए। 'एउटा अन्तर्राटि्रय ऋणदाताले राष्ट्रियतामा असर पर्ने गरी दिएको दबाब मान्न सकिन्न,' उनले भने, 'माथिल्लो सेतीमा बढी लेदो तथा गेग्य्रान हुने हुँदा यसको अध्ययन गर्न योग्य कम्पनी छान्न मन्त्रालयले नसक्ने भन्दै उसले मूल्यांकनको काम खोसेर लियो।'
'काम खोसेर लिए पनि मन्त्रालयले प्रतिवाद गरेको थिएन। तर योग्य कम्पनी पाखा लगाएर यस्तो प्रकृतिको आयोजनाको अध्ययनमा अनुभव नै नभएको कम्पनी नियुक्त गर्न सिफारिस गर्योल,' उनले थपे। एडिबीको मूल्यांकन पुनरावलोकन गर्न अधिकारीकै संयोजकत्वमा मन्त्रालयले कमिटी गठन गरेको थियो। कमिटीले उसको मूल्यांकनमा सहमत हुन नसकिने निचोडको प्रतिवेदन दिएको थियो। यही प्रतिवेदनको आधारमा प्रक्रिया रद्द गरिएको पनि प्रवक्ता अधिकारीले बताए।
एडिबीले परामर्शदातामा लामेयर नियुक्त गर्न सिफारिस गरेपछि विभेदपूर्ण निर्णय भएको र यस्तो निर्णय रद्द गरिपाउँ भन्दै कानसाईका नेपाली एजेन्टले गत असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा अख्तियारले अर्को निर्णय नहुँदासम्म काम अगाडि नबढाउन मन्त्रालय र तनहुँ हाइड्रोपावर कम्पनीलाई निर्देशन दिएको थियो।
एडिबीको मूल्यांकनबारे निरन्तर विवाद बढ्दै गएपछि अर्थ र ऊर्जा मन्त्रालयका तर्फबाट क्रमशः विजयबहदुर देउजा, दिन्कर शर्मा र एडिबीका तर्फबाट दुई स्वतन्त्र प्रतिनिधि सम्मिलित कमिटी गठन गरी उक्त मूल्यांकनको अर्को पुनरावलोकन गरिएको थियो। यो कमिटीले एडिबीले गरेको मूल्यांकनमा प्रश्न उठाउने ठाउँ नरहेको प्रतिवेदन दिएको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। कमिटीको निर्णय आउनासाथ अख्तियारले समेत परामर्शदाता नियुक्तिको पुरानै प्रक्रियालाई निरन्तरता दिन बाटो खुला गरिदिएको थियो।
स्वतन्त्र कमिटीको सिफारिस र अख्तियारको निर्देशनसमेत ऊर्जामन्त्री राधा ज्ञवालीले लत्याएर एजेन्टको उक्साहटमा लागेको मन्त्रालयकै अधिकारीले टिप्पणी गरे। मन्त्रालयको निर्णयबारे आपत्ति जनाउँदै अर्थमन्त्री रामशरण महत र कांग्रेस उप–सभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराएका छन्। सोमबार जापानी राजदूतसँग यसबारे परामर्श गरिने प्रधानमन्त्री कोइरालानिकट एक अधिकारीले बताए।
परामर्शदाता नियुक्ति झन्डै आठ महिना ढिलो भइसकेको छ। यस अवधिमा अन्तर्राष्ट्रिय मुद्रा (अमेरिकी डलर) मा आएको उतारचढावले झन्डै पाँच करोड अमेरिकी डलर लागत थपिइसकेको एडिबीका एक अधिकारीले जानकारी दिए। नयाँ प्रक्रियामा गए यसको लागत ६० करोड डलर नाघ्ने उनको दाबी छ।
माथिल्लो सेतीबाट एडिबीले हात झिके यो आयोजना २०५१ मा विश्व बैंकले लगानीबाट हात झिकेको अरुण तेस्रो जस्तै हुनेछ। तत्कालीन एमाले सरकारले अरुण रद्द गराएको थियो। देशले अन्धकार भोग्नुको दोष अरुण तुहाउने एमालेलाई लाग्ने गरेको छ। अहिले एमालेकै ऊर्जामन्त्री ज्ञवालीले पुरानो नियति दोहोर्या्उँदै देशलाई थप अँध्यारोतिर धेकेल्ने चेष्टा गरेको एमालेकै नेताको आरोप छ।