काठमाडौं- नेपाल टेलिकमले ल्यान्डलाइनमा प्रयोग भएको कालो तार (केबल) फेर्ने भएको छ। टेलिकमले पुरानो तार परिवर्तन गर्ने बेला भएको भन्दै आगामी असारदेखि देशभर चरणबद्ध रुपमा फेर्ने योजना बनाएको छ। टेलिकमका अनुसार ल्यान्डलाइनमा प्रयोग भएका तार २० वर्षसम्म पुराना छन्। पुराना तार चुँडिएर नेटवर्कमा अवरोध हुन थालेपछि परिवर्तन गर्न लागेको उसको भनाइ छ।
कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले देशभरका कपर केबल परिवर्तन गर्न लागेको जानकारी दिए। 'केबलहरु दुई दशक पुराना रहेकाले नयाँ राख्ने प्रक्रिया अघि बढेको छ,' उनले भने, 'कतिपय ठाउँमा केबलको सट्टा केबल नै र कतिपयमा अप्टिकल फाइबर हुन्छ।' उनका अनुसार अप्टिकल फाइबर पुगेको ठाउँमा त्यही प्रयोग हुन्छ।
टेलिकमले तार फेर्न चाँडै टेन्डर गरेर आगामी असारदेखि काम सुरु गर्ने जनाएको छ। यसमा जनशक्ति आइटसोर्सिङ गर्ने योजना छ। टेलिकमका प्राविधिक र आउटसोर्सिङको जनशक्ति मिलेर पुराना तार हटाउने उसले जनाएको छ। देशभरको तार फेर्न दुईदेखि तीन वर्ष लाग्ने छ।
प्रबन्ध निर्देशक आचार्यले अहिले मोबाइल, थि्रजी, ल्यान्डलाइन, वाइम्याक्स लगायतका काम भइरहेको बताए। 'हामीले विभिन्न सेवामा चरणबद्ध रुपमा काम गरिरहेका छौं। केबलको काम गर्न दुईदेखि तीन वर्ष लाग्छ,' उनले भने, 'ल्यान्डलाइनको नेटवर्क टोलटोलमा छ। त्यसलाई विस्थापित गर्न समय लाग्छ।' सेवा अबरुद्ध नहुने गरी नयाँ काम गर्ने उनले जानकारी दिए।
टेलिकमले कुन ठाउँमा कस्तो र कुन साइजको तार प्रयोग गर्न भन्नेबारे आन्तरिक छलफल र योजना बनाइरहेको जनाएको छ। 'केबलको साइज र कुन ठाउँमा कस्तो प्रयोग हुन्छ त्यो फाइनल गरेरपछि समग्र लागत निकाल्छौं,' प्रबन्ध निर्देशक आचार्यले भने।