चितवन- इँट्टा किन्दा भ्याट बिल लिने गर्नुभएको छ कि छैन? व्यवसायी भन्छन्, 'इँट्टा भट्टा मूल्य अभिवृद्धिकर (भ्याट) मा अनिवार्य दर्ता हुने प्रावधान रहेकाले कारोबार गर्दा भ्याट बिल लिन नबिर्सनू।' नेपाल इँट्टा उद्योग महासंघका केन्द्रीय अध्यक्ष महेन्द्रबहादुर चित्रकारले नै उपभोक्तालाई यस्तो आग्रह गरे।
'इँट्टाभट्टा भ्याटमा दर्ता हुने प्रावधान छ। भ्याटमा दर्ता भएपछि किन्ने ग्राहकलाई अनिवार्य भ्याट बिल दिनुपर्छ। त्यसो गर्दैनन् भने त्यो कानुनविपरीत हो। हामी पनि त्यस्ता उद्योगलाई संगठनात्मक कारबाही गर्छौं,' चित्रकारले भने।
महासंघको भरतपुरमा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकका निर्णयबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चित्रकारले त्यस्तो आग्रह गरे। महासंघमा आठ सय ५० इँट्टा उद्योगी आवद्ध छन्। नियमअनुसार दर्ता भएका उद्योगलाई मात्रै महासंघले सदस्यता दिएको उनले बताए। महासंघभन्दा बाहिर पनि त्यत्ति नै इँट्टाभट्टा रहेको चित्रकारले बताए।
ठूला खालका सय र साना खालका सात सय इँट्टा उद्योग सरकारी निकायमा दर्ता भएरै सञ्चालनमा आएको चित्रकारले जानकारी दिए। उनीहरुलाई प्रक्रिया पुर्यानएर दर्ता गर्ने अवसर दिन र नभए सरकारले बन्द गारउनु पर्ने चित्रकारले माग गरे।
सोही कार्यक्रममा चितवन इँट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नारायण सापकोटाले जिल्लामा १८ वटा इँट्टा उद्योग रहेको जानकारी दिए। सबै दर्ता भएर वैधानिक रुपमा चलेको अध्यक्ष सापकोटाको भनाइ छ।
'यहाँ १८ इँट्टा भट्टा छन्। सबै भ्याटमा पनि दर्ता छन्। भ्याट बिल दिन्छन्। नदिए उजुरी गर्नुहोस कारबाही हुन्छ,' चितवन जिल्ला संघका अध्यक्ष नारायण सापकोटाले भने। चितवनका उपभोक्ताले भने इँट्टा उद्योगले भ्याट बिल नदिएर कर छल्ने गरेको गुनासो गरेका छन्।
इँट्टाभट्टालाई बालश्रममुक्त क्षेत्र घोषणा गरेको पनि सो पत्रकार सम्मेलनमा अध्यक्ष चित्रकारले जानकारी दिए। इँट्टाभट्टालाई उच्च प्रविधिमा लैजान र आधुनिक शैलीको बनाउन व्यवसायी सधैं तयार रहेको उनले बताए।
वातावरणीय दृष्टिले प्रतिकूल मानिएका भुसे र अवाल भट्टाहरु अधिकांश जिल्लामा अझै पनि सञ्चालनमा रहेको र त्यस्ता भट्टालाई तोकिएको मापदण्डमा राख्न सरकार सक्रिय हुनुपर्ने उनले बताए। नयाँ मापदण्डमा नजाने उद्योग बन्द गर्नुपर्ने उनको भनाइ थियो।
घामपानीले बढी असर गर्ने इँट्टा उद्योगलाई राज्यले उचित नीति नियम बनाएर संरक्षण गर्नुपर्ने उनको आग्रह थियो। सिमावर्ती क्षेत्रमा अवैध इँट्टा आउने गरेकाले त्यसलाई रोक्न सरकार संवेदनशील हुनुपर्ने अध्यक्ष चित्रकारले बताए।
इँट्टा उद्योगीले चाँडै नै राष्ट्रियस्तरको सहकारी खोल्ने तयारी गरेको पनि उनले जानकारी दिए। 'उद्योग स्थापना र विस्तारमा आवश्यक पर्ने पुँजी सहज रुपमा प्राप्त होस भनेर सहकारी स्थापना गर्ने योजना बनाएका हौं,' अध्यक्ष चित्रकारले भने।