काठमाडौं– मलेसियामा रहेका गैरकानुनी कामदारलाई स्वदेश पठाउन कोपरासी इमिग्रेसन मलेसिया बरहाडको अभियान मंगलबार सकिएको छ। चार महिना चलेको अभियानमा कोपरासीमार्फत १० हजार मलेसियामा रहेका गैरकानुनी कामदार स्वदेश फर्केका छन्।
मलेसियामा अवैधानिक रूपमा रहेका र राहदानी नभएका नेपाली कामदारले नेपाल फर्कनका लागि यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) बनाएर डिसेम्बर ३१ सम्म नेपाल फर्कन पाउने नियम मलेसिया सरकारले ल्याएको थियो। अभियानको अवधि मंगलबारदेखि सकिएको हो। मलेसियास्थित नेपाली दूतावासले कोपरासीमार्फत मलेसियामा रहेका गैरकानुनी नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने कार्य सुरु गरेको थियो।
कोपरासीले गत सेप्टेम्बर २ देखि डिसेम्बर ३१ सम्म मलेसियामा रहेका गैरकानुनी कामदारले ट्राभल डकुमेन्ट बनाएर स्वदेश फर्कन सक्ने जनाएको थियो। कोपरासीको अभियानअन्तर्गत ४ महिनामा १० हजार कामदार फर्किएको नेपाली दूतावास मलेसियाले जनाएको छ।
मलेसियाका लागि नेपाली दूतावासका उपनियोग प्रमुख हेमराज भट्टराईले चार महिनाको अवधिमा करिब १० हजार कामदार स्वदेश फर्किएको जनाए। मंगलबार नागरिकसँग टेलिफोनमा कुरा गर्दै भट्टराईले यसको तथ्यांक संकलन बिहीबारदेखि हुने बताए। 'हामीले कोपरासीमार्फत कति गए भन्ने तथ्यांक बिहीबारदेखि राख्न सुरु गर्छाैं, तर हाम्रो अनुमानमा १० हजार नेपाल गएका छन्,' उनले भने, 'ट्राभल डकुमेन्ट बनाएर घर फिर्ती केन्द्रमा बसेकाहरू अझै एक सातापछि नेपाल जान सक्ने भएकाले एकिन तथ्यांक आउन बाँकी छ।'
दूतावासले ४ महिनाको अवधिमा कुल १७ हजार कामदार नेपाल फर्केको जनाएको छ। कोपरासी र आफैँ जाने कामदार गरेर १७ हजारको ट्राभल डकुमेन्ट दूतावासबाट जारी भएको र ती सबै स्वदेश फर्केको भट्टराईले बताए। 'कामदारहरू आफैं चेकआउट गरेर पनि जान मिल्ने भएकाले सबै कामदार कोपरासी अभियान सहभागी भएनन्,' उनले भने। दूतावास अब अन्य काममा पनि व्यस्त हुने भएकाले तत्काल ट्राभल डकुमेन्ट जारी नहुने भट्टराईले जनाए।
दूतावासले यात्रा अनुमतिपत्र जारी गरेर त्यसको क्रमसंख्याका आधारमा प्राथमिकता निर्धारण गरेर गैरकानुनी कामदारलाई नेपाल पठाएको थियो। कोपरासीमार्फत अध्यागमनबाट फिर्ता हुने पास लिएपछि कोपरासीले हवाई टिकट उपलब्ध गराउने गरेको थियो। यो अभियानमा सहभागी हुन कामदारले कोपरासीलाई हवाई भाडा, अध्यागमनको जरिवाना/शुल्कसहित बढीमा मलेसियन रिंगेट १३ सय ४० (करिब ४० हजार २ सय) बुझाएका थिए। कोपरासीले काउन्टर दूतावासभित्रै राखेर काम गरेको थियो तर दुतावासले काउन्टरमा नै टिकट लिन लगाउने र कारोबार गरेको भन्दै मलेसियामा रहेका नेपालीले विरोध गर्दै आएका थिए।
मलेसियामा अवैधानिक रूपमा रहेका र राहदानी नभएका नेपाली कामदारले नेपाल फर्कनका लागि यात्रा अनुमती पत्र (ट्राभल डकुमेन्ट) बनाउनुपर्ने नियम थियो। दूतावासले डिसेम्बर ३१ सम्म मलेसियामा रहेका गैरकानुनी नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने अभियान थालेको र त्यसको म्याद सकिएपछि मलेसिया सरकारबाट फेरि धरपकड सुरु हुन सक्ने जनाएको छ।
मलेसिया सरकारले एक वर्षअघि नेपाली कामदारसहित बंगाली, पाकिस्तानी, इन्डोनेसियाली, म्यानमारी, भियतनामी गैरकानुनी कामदारहरुलाई पक्राउ गरेको थियो। अपरेसन बरसेपाडु (एकीकृत अभियान) नाम दिएर सुरु गरिएको धरपकडमा अध्यागमन विभागको नेतृत्वमा पुलिस, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल र राष्ट्रिय दर्ता विभागका गरी १ लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटाएको थियो। त्यसमा एक हजार बढी नेपाली कामदारलाई धरपकड गरेर पक्राउ गरिएको थियो।
मलेसिया सरकारले २ वर्षअघि अवैधानिक रूपमा रहेका विदेशी कामदारलाई ६ पी कार्यक्रम ल्याएर आममाफी दिएको थियो। त्यसमा २० लाखमा १३ लाख कामदार दर्ता भएको तर सबै स्वदेश नफर्केपछि उनीहरूलाई लक्षित गर्दै गत वर्ष छापा मारेर पक्राउ गर्न थालेको थियो। सरकारले एक वर्षको समयमा दिदा पनि अधिकांश अवैधानिक कामदारले देश नछोडेको भन्दै ठूलो संख्यामा प्रहरी र कर्मचारी लगाएर पक्राउ गरेको थियो।