सेतीबाट निर्माण सामग्री निकाल्न बतासको प्रस्तावः बिनाअध्ययन ३५ वर्षसम्म ठेक्का दिने तयारी
२९ पौष २०७८
•
६ मिनेट पाठ
सेतीबाट निर्माण सामग्री निकाल्न बतासको प्रस्तावः बिनाअध्ययन ३५ वर्षसम्म ठेक्का दिने तयारी
पर्याप्त अध्ययनबिनै पोखरा महानगरपालिकाले पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाट खण्डबाट ढुंगा, गिटी र बालुवा निकाल्न निजी क्षेत्रलाई ठेक्का दिने तयारी गरिरहेको छ।




विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र जोखिम मूल्यांकन नगरी ठेक्का दिने तयारी भएको हो। डिपिआर, इआइए र जोखिम मूल्यांकनको सम्पूर्ण जिम्मा पनि ठेक्का लिन प्रस्ताव गरेको कम्पनीलाई नै दिएर महानगरपालिका आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै व्यापक आलोचना भइरहेको छ।

महानगरपालिकाले ३५ वर्षका लागि सेती नदीको पोखरास्थित रामघाट खण्ड थुनेर ढुंगा, गिटी, बालुवा निकाल्न बतास समूहको बी रिभर माइनिङ कम्पनीलाई दिने तयारी गरेको छ। यसका लागि बी रिभर माइनिङसँग सम्झौताको तयारी भइरहेको महानगरपालिकाले जनाएको छ। सम्झौता हुनुअघि महानगरपालिकाको कार्यपालिकामा यो प्रस्ताव पेस हुनेछ। कार्यपालिका बैठकबाट प्रस्ताव स्वीकृत भएपछि सम्झौता हुने महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए।

पौडेलका अनुसार रामघाट खण्डबाट नदीजन्य सामग्री निकाल्न बतास समूहले महानगरपालिकलाई वार्षिक ७ करोड ५५ लाख रुपैयाँ कर तिर्ने र थप ५ प्रतिशत भेरिएबल (चलायमान) रोयल्टी दिने प्रस्ताव सुरुमा गरेको थियो। तर महानगरपालिकाले गरेको प्राविधिक र वित्तीय विश्लेषणमा प्रस्तावित रकम सस्तो भएको भन्दै केही बढाइएको छ। त्यसअनुसार ७ करोड ५५ लाख रुपैयाँमा वार्षिक सात प्रतिशत बढाउँदै लैजाने उल्लेख छ।

सुरुको एक वर्ष अध्ययन र बाँकी दुई वर्ष निर्माण गरी तीन वर्ष अवधि तोकिएको छ। तीन वर्षसम्म वार्षिक ७ प्रतिशतका दरले वृद्धि गर्दैै जाने र ढुंगा, गिटी, बालुवाको कुल बिक्री रकममा १५ प्रतिशत थपेर दिने मौखिक सहमति भएको पनि पौडेलले बताए। रामघाट खण्डबाट नदीजन्य सामग्री उत्खनन गरेर वार्षिक ९० करोड रुपैयाँ आम्दानी हुनसक्ने बतासको अनुमान रहेको पौडेलले बताए।

सेती नदीबाट निर्माण सामग्री निकाल्न महानगरपालिकाले २०७७ कात्तिक ७ गते सार्वजनिक सूचनामार्फत प्रस्ताव मागेको थियो। सो प्रक्रियामा बतासको एकाघर परिवारको सेयर रहेको बी रिभर माइनिङ प्रालि र मोरेखहरे रिभर माइनिङ प्रालि छनोटमा परेका थिए। सुरुमा ३० दिन समय दिएर प्रस्ताव मागिएकोमा बतासबाहेक कम्पनीको प्रस्ताव प्राविधिक रुपमा असफल भएको पौडेलले बताए। पौडेलका अनुसार रामघाट खण्ड ठेक्कामा लिएबापत बतास समूहले दुईवटा मुख्य पूर्वाधार बनाउनेछ।

रामघाटको वरिपरिको क्षेत्र कमजोर भएकाले त्यसलाई नदीमा खस्न नदिन उसले पर्खाल लगाउनेछ। वरिपरिको पर्खालको लम्बाइ करिब ११ सय मिटर रहनेछ। त्यो पर्खाल सतहमुनि डेढ मिटर र सतहमाथि पाँच मिटर उचाइको हुनेछ।

त्यस्तै अहिले पानी निकास हुने ठाउँमा ५ मिटर उचाइ र ११ मिटर लम्बाइको ड्याम बनाई सेती थुनेर ताल बनाइनेछ। सुरुमा ड्याममात्र बनाउने प्रस्तावमा तालको क्षेत्र ५० मिटरमाथिसम्म आउन अनुमान थियो। त्यसको लागत ६० करोड रुपैयाँ अनुमान थियो। तर वरिपरिकै क्षेत्रमा पहिरो झर्न नदिन पर्खाल लगाउनुपर्ने भएकाले लागत करिब १ अर्ब ७ करोड रुपैयाँ लाग्ने महानगरको अनुमान छ।

‘निकास हुने ठाउँमा पाँच मिटरको ड्याम बनाउँदा ५० मिटर माथिसम्म ताल बन्छ भन्ने अनुमान हो,’ पौडेलले भने, ‘तर त्यो सुरक्षित नहुने देखेपछि वरिपरि नै पर्खाल लगाउनुपर्ने भएको हो।’ अहिले रामघाटबाट बर्सेनि ७७ हजार घनमिटर नदीजन्य सामग्री निस्किएको अनुमान छ। त्यसबाट महानगरले सात करोड रुपैयाँ आम्दानी गर्दै आएको छ। तर अब निकालिने सामग्रीको परिमाण करिब चार लाख घनमिटर हुने अनुमान रहेको उनले बताए। झन्डै चार मिटर गहिराइसम्मबाट नदीजन्य सामग्री निकाल्न सकिने अनुमान छ।

एकातिर दूरगामी महत्व राख्ने रामघाट र अर्कोतिर वार्षिक ९० करोड रुपैयाँको नदीजन्य सामग्री निस्किने ठाउँलाई महानगरले कौडीको भाउमा सुम्पिन खोजेको भनेर आलोचना भइरहेको छ। तर महानगरका सूचना अधिकारी पौडेलले भने सबै नाफा नभई खर्च पनि हुने भएकाले सस्तो नभएको बताउँछन्।

उनले भने, ‘ठेक्का पाउने कम्पनीले पनि नाफा कमाउन लगानी गर्ने हो। उसको पनि खर्च हुन्छ। कमाएको जति सबै नाफा हुने होइन।’ त्यस्तै ठेक्का दिँदा पर्न सक्ने असरबारे सम्पूर्ण अध्ययन महानगर आफैंले गर्नुपर्नेमा ठेक्का पाउने कम्पनीलाई नै त्यसको जिम्मा दिँदा उसले आफूअनुकूल अध्ययन गराउने अनुमान पोखरेलीको छ।

तर महानगरका प्रवक्ता पौडेलले भने सबै काम महानगर आफैंले गर्न नसक्ने भएकाले निजी क्षेत्रलाई नै अध्ययन गर्न दिइएको दाबी गरे। ‘ठेक्का पाउने कम्पनीले नै डिपिआर र इआइए गर्ने हो, ती रिपोर्टमा कतै कमजोरी भए महानगरले सच्याउन सक्नेछ,’ उनले भने, ‘सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा यो खालको अध्ययनको प्रावधान छ। ठेक्का पाउने कम्पनीले तयार पारेको विवरण महानगरबाट स्वीकृत भएपछि मात्र काम अघि बढ्ने उनले बताए।

विज्ञहरू भने महानगरले डिपिआर र इआइएको रिपोर्टलाई कुन रुपमा अध्ययन गर्छ भन्ने महत्वपूर्ण हुने बताउँछन। स्थानीय तहका एक विज्ञ भन्छन्, ‘पिपिपी मोडलमा ठेक्का पाउने कम्पनी र सरोकारवाला निकाय मिलेर संयुक्त रुपमा अध्ययन पनि गर्न सक्छन्। सरोकारवाला निकायले आफूले नसक्दा निजी क्षेत्रलाई पूरै जिम्मा पनि लगाउन सक्छ। तर त्यो रिपोर्टलाई कसरी अध्ययन गरिन्छ भन्ने महत्वपूर्ण हुन्छ।’ ती विज्ञका अनुसार महानगरको आफ्नो सम्पत्ति भएकाले रामघाटको विस्तृत अध्ययन महानगरपालिका आफैंले गर्नु राम्रो हो।

पोखरा देशकै ठूलो महानगरपालिकामा पर्छ। यसको वार्षिक बजेट ६ अर्ब १९ करोड रुपैयाँ छ। जसको एक–डेढ प्रतिशतमात्र रकम खर्चिने हो भने पनि सेतीको डिपिआरदेखि इआइए र जोखिम मूल्यांकन गर्न पुग्छ। तर महानगरपालिका त्यो दायित्वबाट पन्छिएर बतास समूहलाई सम्पूर्ण जिम्मा दिने तयारीमा छ। यसबाट कतै सेटिङमा काम हुन लागेको त होइन भन्ने आशंका पोखरेलीमा उत्पन्न भएको छ।

‘ठेक्का लिएको कम्पनीले तयार पारेको प्रतिवेदनलाई समीक्षा गर्ने क्षमता महानगरमा हुनुपर्छ। भोलि केही गरी संरचनाले क्षति पुर्‍याए त्यसको जिम्मेवारी कसले लिने भन्ने हुन्छ,’ महानगरपालिकाका सेवानिवृत्त एक उच्च प्राविधिकले भने, ‘कानुनअनुसार निजी क्षेत्रलाई अध्ययन गर्न दिन मिल्छ। तर त्यो प्रतिवेदनमा दख्खल राख्ने हैसियत महानगरपालिकामा हुनुपर्छ।’

आफैँले गर्नसक्ने काम नगरेर महानगर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको एक भूगर्भविद् बताउँछन। ‘ठेक्का लिने कम्पनीले आफूअनुकूल डिपिआर, इआइए र जोखिम मूल्यांकनसम्बन्धी रिपोर्ट बनाउन सक्छ। आफ्नो सम्पत्तिको मूल्य तोक्न र अध्ययन गर्न महानगरपालिका सक्षम हुनुपर्ने हो,’ ती भूगर्वविद् भन्छन्, ‘तर आफ्नो सम्पत्तिको अध्ययन गर्न अर्कैलाई जिम्मा लगाउन खोज्नु कमजोरी हो।’

यसैबीच बतास अर्गनाइजेसनले बुधबार विज्ञप्ति प्रकाशित गरी रामघाट ठेक्काबारे छलफल जारी रहेको जनाएको छ। अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जारी गरेको विज्ञप्तिअनुसार सेती नदीको रामघाट र मोरेखहरे क्षेत्रमा स्थायी ड्याम निर्माण गरी ३५ वर्षसम्म नदीजन्य सामग्री संकलन तथा निकासी गर्ने प्रयोजनका लागि महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडेलमा प्रस्ताव आह्वान गरेको थियो।

त्यसमा बतासको एकाघर परिवारको शेयर रहेको बी रिभर माइनिङ प्रालि र मोरेखहरे रिभर माइनिङ प्रालिले आवश्यक प्रक्रिया पूरा गर्दै छनोटमा परेको विज्ञप्तिमा उल्लेख छ। प्रक्रियाअन्तर्गत पोखरा महानगरपालिका र कम्पनीबीच कागजात आदानप्रदान र छलफल जारी रहेको जनाइएको छ। ‘दुईपक्ष सम्झौता गर्ने चरणमा पुगेका छौं,’ विज्ञप्तिमा छ, ‘पोखरावासीको दीर्घकालीन हितलाई केन्द्रमा राखेर महानगरपालिकाले अघि बढाएका यस्ता परियोजना असफल पार्न योजनाबद्ध ढंगले विकास विरोधी तत्व लागिपरेको हाम्रो ठहर छ।’

यो दीर्घकालीन महत्वको परियोजना कार्यान्वयन हुनबाट रोक्ने प्रयत्नका रुपमा विकास विरोधी तत्व लागिपरेको विज्ञप्तिमा उल्लेख छ। दशकौंदेखि अनियन्त्रित ढंगले गैरकानुनी तवरबाट नदीजन्य सामग्री दोहन गर्दै आएका तत्वले यो बेला ‘धमिलो पानीमा माछा मार्ने’ प्रयत्न गरेको आरोप विज्ञप्तिमा लगाइएको छ।
अर्को समाचार
दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन
२९ माघ २०७९
•
३ मिनेट पाठ
दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन
तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल १० महिनादेखि प्रमुखविहीन बनेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेल सरुवा भएर गएदेखि अस्पताल प्रमुखविहीन बनेको हो।




गत वर्ष चैतदेखि अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ। निमित्तको भरमा अस्पताल सञ्चालन हुँदा प्रशासनिक काममा असर पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताए।

पौडेलको सरुवा भएदेखि डा दिवस ढकालले निमित्तको जिम्मेवारी पाएका छन्। निमित्त प्रमुख डा ढकाल पनि कुनै बेला विदेश र कहिले बिदामा बसिदिंदा कार्यालयको प्रशासनिक काम गर्न अप्ठ्यारो हुँदै आएको थापाले बताए।

‘प्रमुखविहीन हुँदा अस्पतालको प्रशासनिक काम ठप्प भएको छ, स्वास्थ्य मन्त्रालयमा पटकपटक मेडिकल सुपरिटेन्डेट माग गरे पनि सुनुवाइ भएको छैन’, अध्यक्ष थापाले भने।

अस्पतालमा कर्मचारीलाई समस्या नहोस् भन्नका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयसँगको समन्वयमा तलब खुवाउने व्यवस्था मिलाइएको छ।

‘सदरमुकाममा अवस्थित अस्पतालमा कार्यालय प्रमुख नहुनु लाजमर्दो कुरा हो, निमित्तका भरमा सञ्चालन हुँदा प्रशासनिक कामकाज ठप्प छ’, उनले भने, ‘यस विषयमा प्रदेश सरकारलाई पनि ध्यानाकर्षण गराइसकेका छौं।’

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएकाले अब थप कुराकानी गर्ने मनस्थितिमा आफू रहेको थापाले बताए। ‘नवनियुक्त मुख्यमन्त्रीसँग पनि यस विषयमा कुरा गरेर छिटोभन्दा छिटो कार्यालय प्रमुख पठाउन आग्रह गर्ने तयारी गरेको छु’, उनले भने।

अस्पताल विस्तारका लागि गत भदौ दोस्रो साता मात्रै जग्गा प्राप्ति भएको छ। संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको छ।

कृषि ज्ञान केन्द्रका दुई रोपनी र पशु सेवा विज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको अध्यक्ष थापाले बताए। ‘अस्पतालको सेवा विस्तारका लागि भवन निर्माण गर्न जग्गा चाहिएको थियो, अस्पतालसँगै जोडिएका दुई सरकारी कार्यालयको जग्गा भोगचलनका लागि पाएका छौं’, उनले भने, ‘जग्गा प्राप्तिसँगै अब भवन निर्माणका लागि डिपिआरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयारी गरेका छौं।’

प्रदेश सरकारले उक्त जग्गामा भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन गर्न बजेट सहयोग गरेको छ। विस्तृत परियोजना प्रतिवेदनपछि भवन निर्माणका लागि बजेटको सुनिश्चितता हुने थापाले बताए। ‘जग्गा अभावकै कारण अस्पताल स्तरोन्नति हुन सकेको थिएन, जग्गा पायौं अब अस्पताल स्तरोन्नति हुने आशा पलाएको छ’, थापाले भने।

अस्पताल विस्तार भएपछि तनहुँबाहेक छिमेकी जिल्लाका सर्वसाधारणले पनि सेवा पाउनेछन्। नयाँ निर्माण हुने भवनमा आँखा उपचार केन्द्र पनि बनाउने तयारी गरिएको छ। प्रदेश सरकारले दमौलीमा गोवद्र्धन शर्मा आँखा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।

पन्ध्र शय्या क्षमताको अस्पतालले हाल ५० शय्याको सुविधा दिइरहेको छ। अस्पतालको सीमित स्रोत र साधनका बाबजुद अस्पतालले स्वीकृत शय्याभन्दा बढी क्षमतामा सेवा दिइरहेको छ।

अस्पतालले तनहुँ जलविद्युत् आयोजनाको सहकार्यमा एम्बुलेन्स सेवासमेत सुरु गर्न लागेको जनाएको छ। अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, भेन्टिलेटर समेतको आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स-रे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेको छ। साथै शव राख्न दुई तह भएका दुई मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ।

अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवा समेत प्रदान गर्दै आइरहेको छ। २०३४ सालमा स्वास्थ्यचौकीका रूपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यो अस्पताल २०५९ सालमा स्तरोन्नति भएको थियो। रासस
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस