काठमाडौं-मलेसियाको भिसामा प्रोसेसिङ शुल्क लिइरहेको मलेसिया भिएलएन नेपालले अतिरिक्त शुल्क लिएको र कानुनविपरीत सञ्चालन भएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दर्ता खारेज गर्न कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएको छ।
समितिको बैठकले शुक्रबार गैरकानुनी रूपमा प्रोसेसिङ शुल्कबापत रकम उठाएको भन्दै कम्पनी रजिस्ट्रारको कार्यालयलाई दर्ता खारेज गर्न निर्देशन दिएको हो। २०१३ नोभेम्बर १ देखि मलेसिया दूतावासले भिसा शुल्क ७ सयबाट बढाएर ३९ सय पुर्यादएको र भिएलएन नेपालले प्रोसेसिङ चार्ज भन्दै रकम उठाएपछि यसको वैधतामाथि शंका गर्दै समितिले छानबिन थालेको थियो।
समितिले विभिन्न निकायबाट भिएलएनको कागजपत्र मगाएर अनुसन्धान गर्दै शुक्रबार दर्ता खारेजीको निर्देशन दिएको हो। समितिले भदौ २९ गते मलेसिया जाने कामदारलाई आर्थिक भार थपेको भन्दै भिएलएनमाथि सात दिनभित्र अनुसन्धान गर्ने निर्णय गरेको थियो। भिसा शुल्क ३२ सय वृद्धि भएपछि सुरुदेखि नै यसको विरोध हुँदै आएको थियो।
समितिका सभापति प्रभु साहले भिएलएन नेपालले मलेसिया जाने कामदारलगायत सबैसँग अतिरिक्त शुल्क उठाएको र त्यो कानुनसम्मत नभएकाले दर्ता खारेज गर्न निर्देशन दिएको नागरिकलाई बताए। 'साथै अहिलेसम्म उठाएको पैसा फिर्ता गराउन गृह मन्त्रालयलाई पनि निर्देशन गरिएको छ,' उनले भने।
समितिले कम्पनी रजिस्ट्रारको कार्यालयले के आधारमा भिएलएनको दर्ता गरेको भन्दै तीन महिनाअघि सोधपुछ गरेपछि रजिस्ट्रार कार्यालयले भिएलएनको दर्ता हुनुपर्ने कारण र कानुनी आधार समितिलाई पठाएको थियो। कार्यालयले पठाएको पत्रका विषयमा पनि समिति सभापति साहले स्पष्टीकरण लिने बताएका थिए। तर, समितिले सोधपुछमात्र गरेको थियो। भिएलएनले सुरुमा सफ्टवेयर प्रडक्ट गर्ने भनेर स्वीकृति लिएर पछि परामर्श र सेवाको उद्देश्य थप गरी काम गरेको विषयमा रजिस्ट्रारको कार्यालयलाई स्पष्टीकरण लिने जनाएको थियो।
समितिका सभापति साहले भिसा शुल्क ७ सय तर प्रोसेसिङ शुल्क ३२ सय कुन आधारमा लिएको हो मलेसियासँग कूटनीतिक रूपमा जानकारी मागिने बताए पनि कुटनीतिक रूपमा मलेसियासँग जवाफ भने मागिएको थिएन।
भिएलएनका सञ्चालक राम श्रेष्ठले भिएलएन कम्पनी परराष्ट्र, कम्पनी रजिस्ट्रारको कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतमा स्वीकृति र दर्ता भएको बताए। 'हामीले कानुनी रूपमा सबै सम्बन्धित निकायबाट स्वीकृति लिएका छौं तर पनि बेला–बेलामा दुःख दिने गरिएको छ,' उनले भने, 'नियमसंगत काम गरेर सरकारलाई कर तिरिरहँदा पनि अनेकन दुःख दिन खोजियो।' भिएलएनलाई विवादमा ल्याएर नेता, सभासद, मन्त्री, डन सबैले दुःख दिइरहेको उनले बताए। 'संस्था गैरकानुनी भए बन्द गरे हुन्छ, हाम्रो पनि आपत्ति छैन तर दुःख दिने नियत देखियो,' उनले भने, 'एक वर्षमा राज्यलाई २१ करोड कर तिर्ने कम्पनीलाई चौतर्फी प्रहार गर्न थालिएको छ। भिएलएन बन्द भएर फेरि आउँदैन भने ठीक छ तर व्यवसाय खोस्नका लागि यो हर्कत गरिएको हो।' भिएलएनको काम पाउन नेतादेखि मन्त्रीसम्म मलेसिया पुगेको उनले बताए। बायोमेटि्रक र फोसा पनि आउने प्रक्रियामा रहेको तर प्रक्रियामा भएकालाई आँखा चिम्लेर नियमसंगत चलिरहेको कम्पनीलाई प्रहार गरिएको उनको गुनासो छ।
भिएलएनले २०१३ को नोभेम्बर १ देखि २०१४ को डिसेम्बर ३१ सम्म ३ लाख ८ हजार ३ सय ८२ जना मलेसिया जानेको भिसा प्रोसेसिङ गरेको छ। यसबाट १२ करोड मूल्य अभिवृद्धि कर, ८ करोड ८० लाख स्रोतमा अग्रिम कर कट्टी र ३० लाख आयकर बुझाएको जनाएको छ।
मलेसिया भिएलएन नेपाल प्रालिले गैरकानुनी काम गरेको भन्दै भिएलएनलाई श्रम तथा रोजगार मन्त्रालयले कारबाही गर्ने भने पनि परराष्ट्र मन्त्रालयले जेठमा शुल्क बढाउन नेपालसँग सहमति लिनुनपर्ने पत्र काटेको थियो। परराष्ट्रले जेठमा अर्थ मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई पत्र काट्दै भिसा प्रोसेसिङ शुल्क वृद्धि र अन्य व्यवस्था मलेसिया सरकारको विशुद्ध आन्तरिक मामिला भएको र भिसा मलेसिया सरकारको अधिकार भएकाले सोसम्बन्धी शुल्क र प्रक्रियासम्बन्धमा नेपाल सरकारलगायत अन्य कुनै पनि देशको पूर्वसहमति लिनुपर्ने नदेखिएको जनाएको थियो।
शुक्रबार भिएलएनका सञ्चालक राम श्रेष्ठसँग समितिले सोधपुछ गरेको थियो। शुक्रबार नै श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई पनि समितिले यसअघि दिएको निर्देशनका विषयमा काम–कारबाही भए–नभएको बारे जानकारी मागेको थियो।