काठमाडौं-सरकारी निर्देशनको पटकपटक अवज्ञा गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गरेबापत चर्को शुल्क असुल्दै आएको गाम्का नेपाललाई सरकारले कारवाही अगाडि बढाएको छ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गरेबापत महिला कामदारको ३१ सय र पुरुष कामदारको २ हजार ९ सय ४० रुपैयाँ शुल्क तोकेको छ तर गाम्का नेपालमा आबद्ध १२ वटा मेडिकल सेन्टरले सरकारी निर्णयको अवज्ञा गर्दै लामो समयदेखि स्वास्थ्य परीक्षण बापत ५ हजार ५ सय लिदै आएकोले त्यसलाई तत्काल सच्चाउन श्रम तथा रोजगार मन्त्रालयले पत्र काटेको हो।
मन्त्रालयले एक साताअघि पत्र काट्दै सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क लिएमा कारवाही प्रक्रिया सुरु हुने जनाएको छ। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गाम्कालाई मन्त्रालयले पत्र काटिसकेको र निश्चित समय दिएको भन्दै सो अवधिमा नसच्चिए सूचीकृतबाट नै हटाउने बताए। 'हामीले पटकपटक आग्रह गर्दा पनि विभिन्न बहानामा शुल्क लिइरहेको गुनासो आइरहेको छ। त्यसैले सरकारले तोकेभन्दा बढी शुल्क लिएमा कारवाही गर्न भन्दै पत्र काटिसेका छौं,' उनले भने।
गल्फ कोपरेसन काउन्सिल (जिसिसी) सँग आबद्ध १२ वटा मेडिकलले गाम्का नेपाल संस्था खडा गरी लामो समयदेखि कार्टेलिङमा ओमन, साउदी अरब र बहराइन जाने कामदारसँग मेडिकल बापत बढी शुल्क असुल्दै आएका हुन्। स्वास्थ्य मन्त्रालय तथा श्रम मन्त्रालयले २०६५ सालमा वैदेशिक रोजगारीमा जाने कामदारको लागि महिलालाई ३१ सय र पुरुषलाई २९ सय ४० शुल्क तोक्ने सचिव स्तरिय निर्णय गरेको थियो। तर गाम्काले ५५ सय रुपैयाँ उठाउँदै आएको छ।
अनुगमन र कारवाही नभएपछि सरकारी निर्णयकै अवज्ञा गर्दै कामदारलाई मेडिकलहरुले आर्थिक भार थोपरेका हुन्। कामदार, वैदेशिक रोजगार व्यवासायी संघ र नेपाल स्वास्थ्य व्यवसायी महासंघलगायत विभिन्न संघसंस्थाले यसको पटकपटक विरोध गर्दै आएका छन्।
चुच्चेपाटीको अल खालिज मेडिकल सेन्टर, नयाँ बानेश्वरको अल मसुर डायग्नोसिस्ट सेन्टर, बत्तिसपुतलीको अक्वा डायग्नोसिस्ट सेन्टर, त्रिपुरेश्वरको हेल्थ केयर क्लिनिक, ज्याठाको कान्तिपुर डायग्नोसिस्ट सेन्टर, त्रिपुरेश्वरको लाइफ केयर प्रिन्स डायग्नोसिस्ट सेन्टर, धुम्बाराहीको लाइफ ट्रस्ट मेडि डायग्नोस्टि, बाँसबारीको मेडिएसिया डायग्नोसिस्ट सेन्टर, चाबहिलको राजाम मेडिकल सेन्टर, पुल्चोकको साइबा मेडिकल सेन्टर, कुपन्डोलको साउदी नेपाल मेडिकल सेन्टर, डिल्लीबजारको सिद्धी पोलिक्लिनिक हेल्थ सर्भिस बढी शुल्क असुल्ने हुन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले गाम्का नेपालमा आबद्ध १२ वटा मेडिकललाई सरकारले कारवाही नगर्दा मनपरी बढेको बताए। 'गल्फमा जाने कामदारको स्वास्थ्य परिक्षण अनिवार्य गाम्का नेपालको मेडिकलमा गर्नुपर्ने हुन्छ,' उनले भने, 'अनिवार्य भएकै कारण मिलेमतोमा लामो समयदेखि बढि शुल्क लिदै आएका छन्। नियमन निकायलाई समेत आर्थिक प्रभावमा पारेर नियमकै अवज्ञा भएको छ।'
सरकारले पहिला पनि कारवाही गर्ने भनेको थियो तर कारवाही भएन। नियम संगत नचलेको संस्थालाई पत्र काटेर कारवाही गर्छु भन्दा पनि तत्काल कारवाही गर्नुपर्ने उनले बताए। 'खुल्लमखुल्ला ठगेको छ पत्र पठाएर बस्ने होइन,' उनले भने।
गाम्का नेपाल अन्तर्गतका मेडिकलहरुले मेडिकल चेकअप भन्दै २९ सय ४० र एक्स्ट्रा टेस्ट शीर्षकमा २५ सय ६० शुल्क लिदै आएका छन्। मेडिकल चेकअप भैसकेपछि एक्स्ट्रा टेस्ट भनेर शुल्क लिनु ठगी भएको रोजगार व्यवसायी तथा संघका निवर्तमान महासचिव रोहन गुरुङ बताउँछन्। यतिका वर्षसम्म अनधिकृत रुपमा रकम उठाइरहेको छ अझै कारवाही हुन्छ भन्दै बस्नु सरकारको कमजोरी भएको र त्यहि कमजोरीको गाम्काले फाइदा उठाएको उनले बताए।
१२ वटा मेडिकललाई मात्र स्वास्थ्य परिक्षण गर्ने दिनु कानुन बिपरित रहेको भन्दै सरकारले केहि महिनाअघि गल्फ कोपरेसन काउन्सिललाई पत्र समेत पठाएको थियो। नेपालको प्रतिस्पर्धा, प्रबर्द्धन तथा बजार संरक्षण ऐन र वैदेशिक रोजगार ऐन विपरित १२ वटा मात्र मेडिकलाई सूचीकृत गर्ने काम नियम बिपरित भन्दै सरकारले नै पत्र पठाएपनि ती मेडिकलले मिलेमतोमा कामदारको स्वास्थ्य परीक्षण गर्दै आइरहेका छन्। सरकारले भने वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ३ सय ५० स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ।