काठमाडौं- दुर्घटनाका कारण 'उडाउनै नसक्ने अवस्थामा पुगेको' भन्दै नागरिक उड्डयन प्राधिकरणको दर्ता किताबबाट हटाइएको नेपाल वायुसेवा निगमको एउटा जहाजलाई प्राधिकरणले नियमविपरीत तारा एयरको नाममा पुनः दर्ता गरेको उड्डयन विज्ञहरुले बताएका छन्।
बनाउनै नसक्ने अवस्थामा पुगेर दर्ता खारेज भएको जहाज अर्को कम्पनीको नाममा दर्ता गर्नु नियमविपरीत भएको उनीहरुको भनाइ छ। उक्त जहाजको दर्ता खारेजीपछि ताराले पुनः दर्ता गरी अन्तर्राष्ट्रिय बजारमा बिक्रीमा राखेको विषयमा छानबिन हुनुपर्ने प्राधिकरण अधिकारी बताउँछन्।
दुर्घटनापछि दर्ता खारेजीमा परेको जहाजलाई नयाँ नाममा फेरि दर्ता गर्नु कानुनी र प्राविधिक हिसाबले त्रुटिपूर्ण मात्र नभई हवाई सुरक्षाको दृष्टिले अकल्पनीय काम भएको उनीहरुको प्रतिक्रिया छ।
तारा एयरले निगमसँग भाडामा लिएको कलसाइन ९एन–एबिक्यू भएको 'डिएचसी ६–३०० टि्वनअटर' (सिरियल नम्बर ६६५) उडानक्रममा दुई वर्षअघि डोल्पा विमानस्थलमा दुर्घटनामा परेको थियो। ताराले उडाए पनि स्वामित्व निगमसँग रहेका कारण उक्त दुर्घटनापछि उडाउन नसकिने भन्दै निगम सञ्चालक समितिले २०७० साउन १२ को निर्णयअनुसार तारालाई जहाज हस्तान्तरण गरेको थियो। पछि भदौ २३ गतेको निर्णयअनुसार निगमले जहाजको दर्ता खारेजीका लागि प्राधिकरणमा निवेदन दिएको थियो।
प्राधिकरणको आधिकारिक ट्रेड युनियन अध्यक्ष दमन रावलले दुर्घटनापछि दर्ताबाट हटेको जहाज फेरि प्राधिकरणमा नै कसरी दर्ता भयो भन्ने विषयमा छानबिन हुनुपर्ने बताए। 'हामीले प्राधिकरण नेतृत्वलाई एउटा कम्पनीलाई उडाउन नमिल्ने भनेको जहाज कसरी अर्को कम्पनीबाट दर्ता भयो भन्ने विषयमा छानबिन गर्न भनेका छौं,' उनले नागरिकसँग भने।
कर्मचारी र युनियनले प्राधिकरणको वार्षिकोत्सवमा गत साता आयोजित कार्यक्रममा कवाडी जहाज प्राधिकरणमा दर्ता कसरी भयो भन्दै नेतृत्वसँग जवाफ मागेका थिए। कर्मचारीले जहाजको विषयमा छानबिन र तलब तथा सेवा सुविधाको विषयलाई लिएर कार्यक्रम नै बहिष्कार गरेका थिए।
निगमको स्वामित्वबाट दर्ता खारेज भइसकेको जहाज तारा एयरले आफ्नो नाममा पुनः दर्ता गरी अन्तर्राष्ट्रिय बजारमा बिक्रीमा राखेको हो। उसले नयाँ तथा पुराना जहाज खरिद–बिक्रीमा मध्यस्थता गर्ने क्यानडाको एयरक्राफ्ट ट्वान्टी फोर डटकममार्फत जहाज बिक्रीमा राखेको छ। हाल मर्मतसम्भार भइरहेको उक्त जहाजको मूल्य ३५ लाख अमेरिकी डलर तोकिएको छ।
निगम स्वामित्वमा रहेको उक्त जहाज ताराले भाडामा उडाउँदै आएको थियो। त्यही क्रममा एक महिनाभित्र दुईचोटि दुर्घटनामा परेपछि निगमले त्यसको पाटपुर्जा लिनसमेत अस्वीकार गरेको थियो। ताराले प्राधिकरणमा नयाँ दर्ता गर्दा ९एन–एबिक्यूको साटो ९एन–एकेएम राखेको छ। अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने कम्पनीको नाम 'लर्ने ग्रे एजेन्सिज क्यानडा' भनिएको छ। यसरी मर्मत गरेर उडाउन सकिने अवस्थाको जहाज निजी वायुसेवा कम्पनीलाई सुम्पिनुमा निगम, प्राधिकरण र ताराकै अधिकारीको मिलेमतो रहेको स्रोत बताउँछ।
प्राधिकरणका एक पूर्वमहानिर्देशकले ऐनमा भएका केही बुँदाको अपव्याख्या गरी पुनः दर्ता गरिएको बताए। 'एउटा कम्पनीको जहाज दुर्घटना भएर बिमा रकम पनि पाइसकेको र त्यो जहाजको पार्टपुर्जा लिन अस्वीकार गरेको अवस्थामा अर्काे कम्पनीले कसरी दर्ता गरी बिक्रीमा राख्न सक्छ? उनले आश्चर्य व्यक्त गरे, 'कि जहाज सामान्य दुर्घटना भएर मर्मत हुने खालको हुनुपर्थ्यो।'
बिमा कम्पनी र निगमले नै ठूलो क्षति भएको, बनाउन नसकिने र बनाउँदा पनि महँगो पर्ने भनेको जहाजको स्वामित्व कसरी अर्काे कम्पनीमा हस्तान्तरण भयो? यस विषयमा छानबिन हुनुपर्ने उनले बताए।
वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र प्राप्त संस्थाले किनेर वा भाडामा ल्याएको जहाज नेपालमा दर्ता गर्न निवेदन दिए प्राधिकरणले प्रचलित कानुन, अनुसूची, म्यानुअल तथा वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) को सर्त बमोजिम दर्ता गरी प्रमाणपत्र दिनुपर्ने व्यवस्था नागरिक उड्यन नियमावली २०५८ को नियम ८ मा छ। साथै सम्बन्धित संस्थाको एओसीमा समेत दर्ता गर्न लागेको वायुयान नागरिक उड्डयन मन्त्रालयबाट 'फ्िलट' थप गरिदिएको हुनु पर्नेछ।
सन् १९७९ मा बनेको उक्त जहाज २०१२ अगस्ट र सेप्टेम्बरमा गरी दुईचोटि दुर्घटनामा परेको थियो। मानवीय क्षति नभए पनि जहाज बनाउनै नसक्ने गरी बिग्रेको निगमले जनाएको छ। दुर्घटनामा जहाजका बायाँ पंखा, इन्जिन र पांग्रामा ठूलो क्षति पुगेको थियो।
नेपाल नागरिक उड्डयन नियमावली, २०५८ (पहिलो संशोधन २०७०) को दफा १३ ले कुनै व्यक्ति तथा संस्थाको नाममा दर्ता भएको वा भाडामा ल्याई सञ्चालन गरिएको जहाज चलाउनै नसकिने अवस्थामा रहे दर्ता खारेज हुने व्यवस्था गरेको छ।
प्राधिकरणका महानिर्देशक रतिसचन्द्रलाल सुमनले दर्ता खारेजी र पुनः दर्ता प्रक्रिया ऐनअनुसार नै भएको बताए। 'यो ऐन अनुसार भएको छ, पहिला ऐन, नियम पढ्नुस्,' उनले भने। उनले नियम १० बमोजिम एउटा संस्थाको नामबाट अन्य कुनै संस्थाको नाममा खरिद बिक्री वा अन्य कुनै बेहोराबाट हस्तान्तरण भएको भन्दै यो नियमसंगत भएको दाबी गरे।
तर प्राधिकरणकै एक उच्च अधिकारीले दुर्घटनाग्रस्त जहाजको टुक्राटाक्रीलाई चालु हालतको उडिरहेको जहाजसरह मानी नियम १० को आधारमा दर्ता र नामसारी गरेको प्राधिकरणको महानिर्देशकको भनाइ र काम कारबाही कानुनी र प्राविधिक हिसाबले त्रुटिपूर्ण भएको बताए। 'यसमा मिलेमतो छ तर अनुसन्धान गर्ने आँट कसैमा छैन। पैसाको चलखेल नभई यो काम भएकै छैन,' उनले भने।
'प्राधिकरणबाट अनुमति वा मान्यताप्राप्त संस्थाबाट मात्र नेपाली जहाजको नियमित तथा आकस्मिक मर्मतसम्भार गराउनु पर्ने नियम २४ को व्यवस्था अनुसार प्राधिकरणले नेपालको कुन त्यस्तो संस्थालाई अनुमति वा मान्यता प्रदान गरेको छ? जसलेे दुर्घटनाग्रस्त जहाजको पार्टपुर्जालाई जोडेर चालु हालतको लाइभ एयरक्राफ्टमा परिणत गर्न सक्ने क्षमता राख्छ? कानुनी र प्राविधिक दुवै दृष्टिले असम्भव काम प्राधिकरणबाट भएको छ। यसको गम्भीर अनुसन्धान हुनुपर्छ,' उनले नागरिकसँग भने।
दुर्घटनापछि बिमा कम्पनीबाट २५ लाख अमेरिकी डलर क्षतिपूर्ति प्राप्त भएकोमा निगम र तारा एयरले आधा–आधा बाँडेका थिए। क्षतिपूर्ति रकम दिएपछि बिमा कम्पनीका तर्फबाट नियुक्त सर्भेयरले सन् २०१३ फेब्रुअरी २ मा दुर्घटनाग्रस्त जहाजको कवाडी लैजान अफर गरेको थियो। निगमले उक्त अफर अस्वीकार गर्योम। त्यसपछि बिमा कम्पनी शिखर इन्स्योरेन्स, तारा एयर र निगमबीच दुर्घटनाग्रस्त जहाज र त्यसको कागजपत्र तारा एयरलाई नै दिने गरी त्रिपक्षीय सम्झौता भयो।
निगमले २०७० असोज १ गते दुर्घटनाग्रस्त जहाज दर्ता खारेजी गर्न प्राधिकरणमा निवेदन दिएको थियो। प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले २०७० मंसिर २० गते निगमको नाममा रहेको जहाजलाई नागरिक उड्डयन नियमावली २०५८ (पहिलो संशोधन २०७० सहित) को नियम १० अनुसार दर्ता खारेज गरेको थियो।