पोखरा- एउटै व्यक्ति अनेक सहकारीमा। एउटै व्यक्ति ऋणी र सञ्चालक। सहकारीका नाममा बचत संकलन अनि फरार। यस्ता अनेक दुर्गुण सहकारीमा देखिएका छन्। कारण– च्याउसरि सहकारी। यही दुर्गुण रोक्न सरकारले प्रोत्साहन गर्न थालेको छ– सहकारी एकीकरण अभियानलाई।
कास्कीमा सहकारीको मर्ज सुरु भइसकेको छ। लेखनाथ नगरपालिका–८ दिपाङ मैदी मत्स्यपालन कृषि सहकारी संस्था र चक्रदेवी सहकारी संस्था गाभिइसके। काहुँको सहारा बचत तथा ऋण सहकारी संस्था र काहुँ देउराली बचत तथा ऋण सहकारी संस्थाको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। एकीकरणपछि काहुँ देउराली बचत तथा ऋण सहकारी नाम राख्न प्रस्ताव उनीहरुले पारित गरिसकेका छन्।
'प्रारम्भिक साधारण सभा भएर संयुक्त साधारण सभा पनि भइसक्यो,' काहुँका प्रबन्ध सञ्चालक दीपकप्रकाश आचार्यले नागरिकसँग भने, 'मर्जरको अन्तिम स्वीकृतिका लागि सहकारी कार्यालयमा पुगेका छौं।' काहुँका सहकारी मर्ज भएपछि सेयर पुँजी १ करोड १० लाख रुपैयाँ पुगेको छ। निक्षेप ३ करोड ८६ लाख र ऋण लगानी ३ करोड ६८ पुगेको जानकारी आचार्यले जानकारी दिए।
सहकारी ऐनमा एकजना व्यक्ति एकभन्दा बढी सहकारीको सञ्चालकमात्रै होइन सेयर सदस्य पनि बन्न नहुने प्रावधान छ। तर देशभरका सहकारीमा सेयर सदस्यको डुप्लिकेसन सबैभन्दा ठूलो समस्या हो। काहुँमा एकै गाउँका धेरैजना व्यक्ति दुवैतिर सेयर सदस्य भएकाले पनि नियमानुसार चल्न मर्जतिर लागेको आचार्यले बताए। 'मर्ज भएपछि त अब हाम्रा दुइटा कार्यालय हुने भएनन्,' उनले भने, 'त्यसबाट सञ्चालन खर्च पनि घट्ने छ।' मर्जपछि सेयर सदस्यलाई दिने प्रतिफल पनि बढाएर १५ प्रतिशतसम्म लाभांश दिनसक्ने आँट पलाएको उनले बताए। दिपाङ मैदी र चक्रदेवी गाभिएपछि उनीहरुको पुँजी पनि बढेको छ, सेयर सदस्य पनि थपिएका छन्।
सहकारीलाई नियमन गर्ने निकायमा कर्मचारी कम र सहकारीको संख्या बढी हुँदा तिनीहरुमा विकृति बढेको सम्बद्ध अधिकारी बताउँछन्। 'थोरै सहकारी भए भने अनुगमन पनि सजिलो हुनेछ,' सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रीनाथ अधिकारीले नागरिकसँग भने। उनका अनुसार कास्कीमा हाल पाँच सय ६९ सहकारी छन्। 'सबै सहकारीमा पुग्ोर अनुगमन गर्ने हो भने हाम्रो कार्यालयमा भएको सबै कर्मचारी लाग्दा पनि वर्षभरमा पनि भ्याइन्न,' उनले भने, 'सरकारले टोलटोलमा सहकारी भनेको हो, तर यहाँ त घरघरमा सहकारी छन्।'
सरकारी निकायले अनुगमन नगर्दा सबैभन्दा नोक्सान सर्वसाधारणलाई हुने गरेको छ। बैंक कुन हो र सहकारी कुन हो भनेर छुट्याउन नसक्ने सर्वसाधारणले सहकारीलाई नै बैंक ठानी पैसा बचत गरेका हुन्छन्। त्यस्ता सिधासादाको पैसा जम्मा भएको सहकारीका सञ्चालकले रकम हिनामिना गरेका उदाहरण कास्की पनि छन्। कृषि वन बिउ सहकारी संस्था चिप्लेढुंगाका पदाधिकारीका कारण सर्वसाधारण सेयर सदस्यको ९० लाख रुपैयाँभन्दा बढी रकम डुब्ने अवस्थामा छ। 'सञ्चालकले रकम हिनामिना गरेकाले कारबाही गर्न प्रशासनलाई चिठी लेखेका छौं,' सहकारी डिभिजन कार्यालयका प्रमुख अधिकारीले भने।
सहकारीले लाखौं—करोडौंको कारोबार गर्दै आएका छन् तर तिनलाई कारबाही गर्ने निकायसँग कमजोर हतियार छ। कसैले गल्ती गरे वा सर्वसाधारणको करोडौं रुपैयाँ डुबाए पनि सहकारी कार्यालयले गर्न सक्ने जरिवाना भनेको १ हजार ५ सय रुपैयाँ मात्रै हो।
क्रिस्टल बचत तथा ऋण सहकारी संस्थाले बिना जानकारी कार्यालय बन्द गरेको भन्दै सेयर सदस्यले डिभिजन कार्यालयमा निवेदन दिएका छन्। क्रिस्टलका पदाधिकारी सम्पर्कमा आएको र सेयरधनीले घाटा दामासाहीले बेहोरोर नयाँ कार्यसमिति बनाएर सञ्चालन गर्ने प्रतिबद्धता गरेको डिभिजन कार्यालयले जनाएको छ।
सरकारले सहकारी एकीकरण कार्यविधि २०७० ल्याइसकेको जानकारी सहकारी प्रशिक्षक बालाकृष्ण सुवेदीले दिए। सहकारी मर्ज भएपछि एउटै पसलेकहाँ थरीथरी सहकारीका बजार प्रतिनिधि पुगेर बचत संकलन गर्ने दिन अन्त्य हुने विश्वास राखिएको उनले बताए। कास्कीका सहकारीको सेयर पुँजी दुई अर्ब ७५ करोड छ। गत आवको अन्तिमसम्ममा नौ अर्ब ३९ करोड निक्षेप संकलन गरी सहकारीहरुले ९ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका थिए।
कास्कीमा केही वर्षअघिसम्म पनि राष्ट्रबैंकबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्था डेढ दर्जन थिए। अहिले भने एक दर्जनमा झरेका छन्। विकास बैंक र फाइनान्स कम्पनीहरु धमाधम मर्जमा गएपछि त्यो संख्या घटेको हो। अहिले रहेका अरु संस्था पनि मर्जको प्रक्रियामा छन्। मर्जमा गएर पुँजी बढाउने र लगानीको क्षेत्र फराकिलो पार्ने उनीहरुको उद्देश्य छ।