काठमाडौं- त्रिशूली नदी करिडोरको प्रसारण लाइन र सबस्टेसन निर्माणमा जर्मन सहयोग निकाय (केएफडब्लु) र युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी) ले करिब ५ अर्ब २० करोड ८० लाख (चार करोड ६२ लाख ५० हजार युरो) सहयोग दिने भएका छन्।
दुई निकायले इफिसियन्सी ट्रान्समिसन अफ इलेक्ट्रिसिटी फर्म रिन्युअल इनर्जी रिसोर्स अन्तर्गतको '२२० केभी प्रसारण प्रणाली आयोजना'का नाममा उक्त रकम दिने भएका हुन्। आयोजनाका लागि एक करोड ४० लाख युरो केएफडब्लुले र ३ करोड २२ लाख ५० हजार युरो इआइबीले दिनेछन्। दुवै निकाय सहयोग दिन तयार भइसकेकाले फागुन अन्तिमसम्म सम्झौता हुने अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख मधुकुमार मरासिनीले बताए।
'छलफल भइरहेको छ, अन्तिम सम्झौता हुन केही महिना लाग्ने देखिएकाले दातासँग पूर्वसम्झौताको तयारी भइरहेको छ,' उनले आइतबार नागरिकसँग भने, 'दुई निकायसँग सरकार र प्राधिकरणको छुट्टाछुट्टै सम्झौता हुनेछ। आयोजनाका लागि इआइबीले दिने २२ लाख ५० हजार युरो अनुदान र बाँकी रकम सहुलियत ऋण हो।
अर्थ मन्त्रालयले दुई दातासँग पूर्वसम्झौता गर्ने, नगर्ने विषयमा ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणसँग मागेको रायमा अन्तिम सम्झौता गर्न केही महिना लाग्ने हुँदा पूर्वसम्झौता गरेर काम सुरु गर्न सकिने राय दिएको छ। प्राधिकरणले दिएको रायमा भनिएको छ, 'दातासँग पूर्वसम्झौता गरी प्रसारण लाइन र सबस्टेसनको डिजाइन तथा सुपरिवेक्षण परामर्शदाता नियुक्ति प्रक्रिया सुरु गर्न आवश्यक छ।' परामर्शका लागि आवश्यक खर्च 'स्पेसल फन्ड'बाट बेहोर्ने र पछि आयोजनाको अनुदानबाट शोधभर्ना गरिने प्राधिकरण अधिकारी बताउँछन्।
त्रिशूली करिडोरमा झन्डै दुई सय मेगावाट बराबरका आयोजना बनिरहेकाले त्यसका लागि आवश्यक प्रसारण लाइन निर्माण अब सुरु गर्नुपर्ने प्राधिकरण ग्रिड विकास विभागका निर्देशक राजीव शर्माले बताए। 'मन्त्रालयले सम्झौता गर्न केही समय लाग्ने भनेको छ, बजेट छैन,' उनले भने, 'तत्काल काम सुरु गर्न प्राधिकरणले नै केही रकम खर्च गर्नुपर्नेछ।'
प्रसारण प्रणाली आयोजनाअन्तर्गत चिलिमे र त्रिशूली–३बी सबस्टेसन हब र दुई सबस्टेसनबीच साढे २६ किलोमटिर २२० केभी प्रसारण लाइन बन्नेछन्। प्रसारण लाइन र सबस्टेसन बनाउन आवश्यक करिब ६ अर्ब ७२ करोड रुपैयाँ (६ करोड युरो) मध्ये बाँकी रकम सरकार र प्राधिकरणले लगानी गर्नुपर्ने छ।
चिलिमेले बनाइरहेको एक सय ११ मेगावाटको रसुवागढी, साढे ४५ मेगावाटको सान्जेन र १४.६ मेगावाटको माथिल्लो सान्जेन सन् २०१७ मै निर्माण पूरा हुने अनुमान गरिएको छ। त्यतिबेलासम्म सबस्टेसन र प्रसारण लाइन बनिसक्नुपर्ने निर्देशक शर्माले बताए। त्रिशूली–३बी हबमै ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए र ४२ मेगावाटको ३बीबाट उत्पादित बिजुली समेत जडान गरिनेछ।
उक्त सबस्टेसनमा जडित बिजुली २२० केभीको त्रिशूली–काठमाडौं प्रसारण लाइनमार्फत काठमाडौं ल्याइन्छ। तर यो खण्डको प्रसारण लाइनको अहिलेसम्म अध्ययनसमेत पूरा भएको छैन। दुई सबस्टेसन र तिनका बीचमा प्रसारण लाइन बने पनि काठमाडौंसम्म बिजुली ल्याउने लाइन नबन्दा अर्बौं रुपैयाँको बिजुली खेर जाने प्राधिकरणका उच्च अधिकारी बताउँछन्। त्रिशूली–काठमाडौं प्रसारण लाइनमा अहिले वन मन्त्रालयले विभिन्न समस्या देखाएर अध्ययनको फाइल रोकेको छ।
त्रिशूली करिडोमा दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ सहित निजी क्षेत्रले मात्र झन्डै एक हजार मेगावाटका आयोजनाका अनुमतिपत्र लिएका छन्। प्राधिकरणले सन् २०१७ पछि बर्खामा ५ सय मेगावाट बिजुली खेर जाने प्रक्षेपण गरेको छ। तर आयोजना क्षेत्रमा प्रसारण लाइन समयमा नबन्दा थप पाँच सय मेगावाट खेर जाने अवस्था देखिएको छ।
देशभर निर्माणाधीन प्रसारण लाइनमा अहिले जग्गा प्राप्ति र क्षतिपूर्ति विवाद चर्किंदै गएको छ। वन क्षेत्रको निर्माणमा वन र वातावरण मन्त्रालयले अनावश्यक अवरोध गर्दै आएका छन्। अहिले आधा दर्जन प्रसारण लाइनका फाइल मन्त्रालयमा रोकिएको प्राधिकरणका उच्च अधिकारीको दाबी छ। प्रसारण लाइन बनाउन दातासँग सहयोग लिए पनि स्थानीय समस्या समाधानमा राज्य उदासीन बन्दा कुनै पनि आयोजना तोकिएको समयमा बन्न सकेका छैनन्।