चितवन- सुनचाँदी व्यवसायीले आचारसंहितासहित बिक्री निर्देशिका जारी गर्ने भएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघको सौराहामा हुने दोस्रो वार्षिक साधारण सभाले यसबारे निर्णय लिनेछ। साधारण सभाबारे जानकारी दिन आइतबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महासंघ उपाध्यक्ष ज्ञानेन्द्रमान शाक्यले सरकारले जारी नगरेपछि निर्देशिका ल्याउन लागेको बताए।
'उक्त साधारण सभाले उपभोक्ताको हितलाई प्रथामिकतामा राख्दै हालको बजार अनुसारको व्यावसायिक आचारसंहिता र निर्देशिका तयार पार्नेछ,' पत्रकार सम्मेलनमा संघका चितवन अध्यक्ष विपेन्द्र रामुदामुले भने। ज्याला जर्ती, गुणस्तर र पुराना गहना किनबेच सम्बन्धी विषय समेटर निर्देशिका तयार गर्ने उनले बताए।
सुनचाँदीको गुणस्तर र अनुगमनका विषयमा व्यवसायी र सरकारबीच मतभेद रहँदै आएको छ। गत वर्ष व्यवसायीले विरोध गरेका थिए। पसल नै बन्द गरेर व्यवसायी विरोधमा उत्रेपछि सरकारले वार्तामा बोलाएको थियो। गत जेठमा भएको वार्तामा एक महिनाभित्र सुनचाँदी बिक्रीसम्बन्धी निर्देशिका जारी गर्ने सहमति भएको अर्का केन्द्रीय उपाध्यक्ष अर्जुन रसाइलीले बताए।
'एक महिनाभित्र सरकारले निर्देशिका तयार गर्ने भन्यो तर आएन। त्यसपछि हाम्रो तर्फबाट १२ बुँदे निर्देशिका बनाएर बुझाएको तीन महिना हुन लाग्यो। राज्यले दिन सकेन अब हामीले तयार पारेर बुझाएको त्यही १२ बुँदे निर्देशिका साधारण सभाबाट पारित गर्नेछौं,' केन्द्रीय उपाध्यक्ष रसाइलीले भने। फागुन १ र २ गते साधारण सभा हुँदैछ।
महासंघको ५० जिल्लामा शाखा छन्। साधारण सभामा ५० जिल्लाका पाँच सय प्रतिनिधि सहभागी हुने चितवन अध्यक्ष रामुदामुले जानकारी दिए। पत्रकार सम्मेलमा दिइएको जानकारी अनुसार देशभर १५ हजार सुनचाँदी व्यवसायी छन्। उनीहरुले प्रयोग गर्ने सुनबाट वर्षेनी ६ अर्ब राजस्व प्राप्त गर्ने महासंघको भानइ छ।
वैधानिक रुपमा नेपालमा हप्ताको ५० केजी सुन भित्रिने गरेको छ। अवैधानिक तवरबाट पनि ठूलो परिमाणमा आउँछ। यस्ता कारणले व्यवसायमा विभिन्न खालका समस्या देखापर्ने उपाध्यक्ष शाक्यले बताए। त्यसैले समय र अवस्था सुहाउँदो निर्देशिका तत्काल आउन आवश्यक भएको उनले बताए।
'यसअघि २०५९ सालमा हामीले नै आचारसंहिता बनाएको हो। अहिलेसम्म त्यसैलाई अनुशरण गरेका छौं। अब यसलाई पनि परिमार्जन गर्दै हाम्रोतर्फबाट निर्देशिका पनि जारी गर्न लागेका हौं,' रामुदामुले भने। सरकारले सुनचाँदी व्यवसायका लागि आवश्यक आधुनिक औजार उपकरण भिœयाउने कुरामा पनि सहयोग गर्न उनले माग गरे।