काठमाडौं-सेवा बन्द गरेको तीन वर्ष तीन महिनापछि नेपाल वायुसेवा निगमले बुधबारबाट भारतको नयाँदिल्ली उडान पुनः सुरु गर्न गरेको तयारी अन्तिममा पूरा हुन सकेन। भारतले आवश्यक कागजात नपुगेको भन्दै उडान सञ्चालन अनुमति दिन नमानेपछि निगमको दिल्ली उडान बुधबारबाट सरेर शुक्रबारदेखि मात्र हुने सम्भावना बढेको छ।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट खरिद गरी गत माघ २५ मा ल्याएको १ सय ५८ सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजको जहाजबाट दिल्ली उडान उडान गर्न लागेको हो। जहाजमा १ सय ५० इकोनोमी र ८ बिजनेस क्लास सिट छन्। निगमले नयाँ जहाजको नाम 'सगरमाथा' राखेको छ।
उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउँसो निगमको उक्त जहाजलाई वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) दिएको थियो। त्यसपछि उडान सञ्चालनको बाटो खुलेको थियो। तर, भारतको नागरिक उड्डयन कार्यालयले मंगलबार राति अबेरसम्म पनि अनुमति दिन नमिल्ने जवाफ दिएपछि उडान नहुने भएको हो।
'लामो समयपछि बुधबारबाट दिल्ली उडान गर्ने तालिका तय भएको थियो, तर भारतले कागजात अझै नपुगेको भन्दै उडान सञ्चालन अनुमति दिएन,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, 'पहिलो उडान भए पनि यात्रु तथा सम्बद्ध क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएका छन्। अझै पनि बुधबारबाटै उडान गर्ने प्रयास जारी राखेका छौं।'
उनका अनुसार भारतको नागरिक उड्डयन कार्यालयले गत माघ २९ मा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा 'स्लट' दिएको थियो। त्यसमाथि उक्त विमानस्थलमा निगमलाई आगामी जुनसम्म उडान गर्ने अनुमति भारतले सन् २०१० मै दिएको थियो। यति हुँदाहुँदै पनि भारतले कागजात नपुगेको भनेपछि उडान नहुने भएको हो।
उनका अनुसार बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ जहाजले दिल्लीका लागि पहिलो उडान गर्ने तालिका थियो। पहिलो उडानमा १ सय ३१ यात्रुले टिकट बुकिङ गरेका थिए। फर्कंदा भने ६५ यात्रुमात्र आउनेछन्।
विगतमा नाफायोग्य सेक्टर दिल्लीका लागि जहाज अभाव देखाउँदै निगम व्यवस्थापनले २०६८ मंसिर पहिलो साताबाट उडान बन्द गरेको थियो। त्यसपछि भारतीय वायुसेवा कम्पनीहरूले यो सेक्टरमा 'मनोमानी' ढंगले भाडा दर तोकेर उडान गर्दै आएका छन्। ती कम्पनीले काठमाडौंबाट दिल्ली एकतर्फी भाडा २५ देखि ३० हजार रुपैयाँसम्म असुलेका थिए।
तर, अब यसको ठिकविपरीत वायुसेवा निगमले प्रतियात्रु करसहित ७ हजार ८४ रुपैयाँमा दिल्ली उडान गर्ने भएको हो। नेपालीका लागि यो भाडा करसहित हो। विदेशीका लागि भने करसहित ८ हजार २ सय १४ रुपैयाँ एकतर्फी तोकिएको छ। दुईतर्फी उडान गर्न भने १५ हजार १ सय ७७ रुपैयाँ लाग्छ।
निगमले पहिलो चरणमा प्रवर्द्धनात्मक भाडा दर तोकेको हो। यात्रु आकर्षित गर्न यसले राम्रो काम गर्ने निगमको भनाइ छ। निगमले सस्तो भाडा सार्वजनिक गरेपछि यहाँ उडान गरिरहेका भारतीय वायुसेवाले पनि दिल्ली सेक्टरको भाडा घटाउन थालेका छन्।
प्रवक्ता शर्माका अनुसार नयाँ जहाजले प्रत्येक सोम, बुध, शुक्र र शनिबार दिल्ली उडान गर्ने तालिका छ। बिहान ८ बजे जाने र उताबाट १०:४० बजे फर्कने उडान तालिका तयार पारिएको छ।
निगमका अनुसार दोस्रो नयाँ जहाज भने आगामी चैत दोस्रो सातादेखि वैशाख दोस्रो साताभित्र एयरबसले काठमाडौं पठाइदिने छ। त्यसपछि चीनको ग्वाङझाउ, भारतका बैंगलोर र मुम्बई तथा युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा उडान गर्ने तालिका बनाइने छ। यीमध्ये ग्वाङझाउ निगमको विशुद्ध नयाँ गन्तव्य हो। नयाँदिल्ली, बैंगलोर, मुम्बई र दुबईमा भने विगतमा लामो समय उडान गरेर बन्द गरेको थियो।
एयरबसका दुई नयाँ जहाज र र अमेरिकी जहाज निर्माता कम्पनी बोइङका बि७५७ सिरिजका १ सय ९० सिटयुक्त दुई जहाजबाट नयाँदिल्ली, हङकङ, बैंकक, दुबई, दोहा, क्वालालम्पुर, ग्वाङझाउ, बैंगलोर र मुम्बईका लागि सातामा ४२ उडान गर्ने निगमको योजना छ।