काठमाडौं-कृषि विकास मन्त्रालयले तीन वर्षमा कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्या उने लक्ष्यसहित कार्यक्रम बनाए पनि त्यसअनुरुप बजेट सिलिङ नपाउँदा धेरैजसो कार्यक्रम अन्योलमा परेको छ। मन्त्रालयले ४४ अर्ब बजेटसहित कार्यक्रम बनाएर राष्ट्रिय योजना आयोग पठाएको थियो। आयोगले २८ अर्ब २७ करोड रुपैयाँको बजेट सिलिङ उपलब्ध गराएपछि बन्दै गरेका योजना तुहिने सम्भावना बढेको मन्त्रालय स्रोतले बताएको छ।
विगतका कार्यक्रमले कृषि क्षेत्रको परिवर्तन ल्याउन नसकेपछि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि 'दूरगामी योजना' बनाएर आयोग पठाएको थियो। 'बनेका योजना तुहिने सम्भावना बढ्यो,' स्रोतले नागरिकसँग भन्यो, '४४ अर्बका लागि बनाइएका कार्यक्रमलाई २८ अर्ब २७ करोड रुपैयाँ सिलिङ दिँदा धेरै खारेज हुने अवस्था आयो।'
मन्त्रालयले 'दूरगामी प्रभाव पर्ने गरी ल्याएको' भनेको कार्यक्रमलाई अहिलेको सिलिङले समेट्न नसक्ने दाबी गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य प्रेम दंगाल भने धेरै पैसा माग्ने, कम खर्च गर्ने मन्त्रालयको पुरानै चलन रहेको बताउँछन्। 'मन्त्रालयको साधन र स्रोत हेरेर सिलिङ तोकिदिएका छौैं,' उनले भने, 'मन्त्रालयले यति पैसा खर्च गरे कृषि क्षेत्रमा राम्रै प्रगति हुन्छ।'
मन्त्रालयले पुराना कार्यक्रम हटाएर भए पनि नयाँ लैजाने तयारी थालेको छ। 'आयोगले कृषिका आयोजनालाई सही रूपमा पहिचान गर्न सकेन, त्यसले गर्दा धेरै कम सिलिङ आयो,' स्रोतले भन्यो, 'सो रकमले नयाँ कार्यक्रम समेट्न सकिन्न।'
मन्त्रालयले यो आर्थिक वर्षका लागि २३ अर्ब २८ करोड रुपैयाँ बजेट पाएको थियो। यसपटक पाँच अर्ब रुपैयाँमात्र थपिएको छ। सो रकमले नयाँ कार्यक्रम सञ्चालन गर्न नसकिने मन्त्रालयको भनाइ छ। मन्त्रालयका योजना महाशाखाका सहसचिव योगेन्द्रकुमार कार्कीले पठाएको भन्दा धेरै कम सिलिङ आएकाले नयाँ कार्यक्रम सञ्चालन गर्न कठिन हुने बताए।
'हामीले दूरदृष्टि राखेर कार्यक्रम बनायौं,' उनले बुधबार नागरिकसँग भने, 'कार्यक्रमअनुसार सिलिङ पाइएन।' मन्त्रालय आगामी तीन वर्षमा कम्तीमा कृषिका दुई र पशु क्षेत्रको एउटा गरी तीन बाली र वस्तुमा आत्मनिर्भर बनाउने तयारीमा जुटेको त्यहाँका अधिकारी दाबी गर्छन्। जसका लागि नमूनाको रुपमा आगामी आवदेखि केही जिल्लामा सघन कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिरहेको उनको भनाइ छ
मन्त्रालय आगामी वर्षका लागि झापा, सुनसरी, मोरङ जिल्लालाई बृहत्तर धान पकेट क्षेत्रको रुपमा विकास गरी चामलमा आत्मनिर्भर बनाउने योजनामा लागिरहेको दाबी गर्छ। प्रत्येक वर्ष चामल आयातमा १४ अर्ब रुपैयाँ बाहिरिन्छ। यो जोगाउन पनि कार्यक्रमले महŒवपूर्ण योगदान गर्ने उनको अनुमान छ। अहिलेको सिलिङले सो कार्यक्रम समेट्न अप्ठेरो रहेको उनले बताए।
आयोगले पर्याप्त सिलिङ नदिएकाले महत्वाकांक्षी योजना कागजमै सीमित हुने मन्त्रालयका अधिकारी बताउँछन्। आगामी आर्थिक वर्ष कम्तीमा १० सम्भावित जिल्लामा कृषक, कृषक समूह, सहकारी र निजीक्षेत्रबाट मत्स्यपालन गर्न चाहनेलाई सरकारले पोखरी खनिदिने कार्यक्रम सञ्चालन गर्नेछ। अहिले पनि नेपालमा वार्षिक विदेशबाट एक अर्बभन्दा बढीको माछा आयात हुने गरेको छ। सार्वजनिक–निजी साझेदारीका कार्यक्रम प्रभावकारी तथा विस्तार गर्ने योजना छ। मन्त्रालयले सरकारी–निजी साझेदारीमा मझौला तथा ठूला पूर्वाधार विकासको कार्य सञ्चालन गर्ने गरी योजना बनाएको थियो।
मन्त्रालयले गत वर्षको कार्यक्रम हटाएर नयाँ ल्याउने बताएको थियो। मन्त्रालयले चालू आर्थिक वर्षमै केन्द्रीयस्तरबाट सञ्चालित कार्यक्रम खारेज गरेर नयाँ ल्याएको हो। आगामी वर्षबाट मन्त्रालयले धेरैजसो पुराना कार्यक्रम हटाउने र प्रभावकारी रूपमा नयाँ कार्यक्रम सञ्चालन गर्नेगरी कार्यक्रम बनाएको हो। आयोगले अहिले उपलब्ध गराएको सिलिङ पुनरावलोकन नगरे एक जिल्लामा पाँचवटा मात्र परियोजना सञ्चालन गर्ने कार्यक्रम पनि अन्योलमा पर्ने मन्त्रालयको भनाइ छ।