वीरगञ्ज–आर्थिक तथा औद्योगिक नगरी वीरगञ्ज र यस क्षेत्रलाई हवाई मार्गबाट जोड्ने एकमात्र सिमरास्थित विमानस्थल लामो प्रतिक्षापछि रात्री अवतरणका लागि तयार भएको छ। रातमा विमान अवतरणका लागि विमानस्थलको स्तरोन्नती र परिक्षण सफल भएपछि विनास्थल व्यवस्थापन र सेवाप्रदायक बुद्ध एयर अनुमति पर्खेर बसेका छन्।
सिमरा विमानस्थलबाट रात्रीकालीन विमान सेवा सुरु गर्नुपर्ने माग यस क्षेत्रका उद्योगी तथा व्यापारीले गर्दै आएका थिए। आवश्यक पर्ने पुर्वाधार तथा विद्युत प्रणालीको स्तरोन्नतीसंगै विद्युत नियन्त्रण तथा संकेतलाई कम्प्युटर नियन्त्रित प्रणालीमा लैजाने काम पुरा भएपछि विमानस्थल रात्री अवतरणका लागि तयार भएको हो। अढाई महिना अगाडि पुस १५ मा गरिएको विधिवत परीक्षण सफल भएपनि नागरिक उड्यान प्राधिकरणले विमानस्थल व्यवस्थापनलाई रात्रीकालीन उडान र अवतरण कार्यन्यवन निर्देशन नपठाएको कारण रात्रीकालीन उडन भने सुरु हुन सकेको छैन।
'हाम्रो एयरलाइन्सको विमानबाट परिक्षण गरियो। नागरिक उड्यान प्रधिकरणले अनुमति दिनसाँथ उडान सुरु हुनेछ,' बुद्ध एयरलाइन्सका सिमरास्थित कार्यालयका सहायक अधिकृतले भने, 'एयरलाइन्सतर्फबाट बुझाइने प्रतिवेदन पनि गइसकेको छ।' घरेलु उडान हुने सिमरा विमानस्थलबाट बुद्ध एयरले विमान संचालनको सेवा दिदैं आएको छ।भारतबाट काठमाडौं जानका लागि आउने यात्रु बिकल्प नहुँदा राति बीरगञ्जमा रोकिनुपर्ने बाध्यता रहेको वीरगञ्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले बताए। 'सिमरा विमानस्थलमा रात्रीकालीन अवतरणको लागि हामीले संघमार्फत पटक–पटक आवाज उठाउदै आएका छौं,' उपाध्यक्ष गुप्ताले भने, 'रात्रीकालीन अवतरणका निम्ति विमानस्थललाई चाहिने विद्युत अआपूर्तिको लागि उचित व्यवस्था गराउन पँहुच नपुगेको हो।'
रात्रीकालीन अवतरणका लागि विमानस्थललाई आवश्यक हुने 'डेडिकेटेड फिडर' (छुट्टै प्रसारण लाइन) बनाउन 'पोल' (खम्बा) जडान र तार तान्ने कामको सम्झौतापछि निर्माण कम्पनिले नेपाल विद्युत प्राधिकरणबाट कार्यादेश पाइसकेको छ। लोडसेडिङमा विद्युत प्रसारण बन्द नहुनेगरी विमानस्थलको लागि 'डेडिकेटेड फिडर' बनाउन लागिएको हो।रात्रीकालीन अवतरणका लागि ०१ रन–वे निर्धारण गरिएको छ। 'लोड सेडिङ' हुँदाको अवस्थामा र नहुदा विद्युत प्रवाहलाई एउटा प्रसारण लाइनबाट अर्कोतर्फ परिवर्तित गर्ने उपकरण 'ब्रेकर डिभाइस्' जडान, रात्री अवतरणका लागि विमानस्थलमा जडान गर्नुपर्ने विभिन्न किसिमका 'लाइट' (बत्ति) र 'सिग्नल लाइट' (संकेत बत्ति) लगाउने कार्य पनि सकिएको छ।