काठमाडौं– संसदको कृषि तथा जलस्रोत समितिले पश्चिम सेती जलविद्युत् आयोजनामा नेपालको २५ प्रतिशत लगानी रहने/नरहने निर्णय गरेर एक महिनभित्र समितिमा पेश गर्न लगानी बोर्ड र ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ। मङ्गलबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। बैठकमा सभापति गगन थापाले उक्त आयोजनाका विषयमा थ्री–गोर्जेजको सहायक कम्पनीसँग भएको समझदारीपत्रमा नेपालको २५ प्रतिशत लगानी हुने उल्लेख भए पनि हाल उक्त लगानीबारे अन्योल देखिएका कारण प्रष्ट पार्न निर्देशन दिएको बताए।
'आयोजनामा नेपालले २५ प्रतिशत लगानी गर्नु पर्ने हो भने किन गर्ने र नगर्ने हो भने किन नगर्ने वा यसबाट के फाइदा/घाटा हुन्छ भन्ने विषयमा अहिले नै प्रष्ट हुनु आवश्यक छ,' समिति सभापति थापालले भने, 'यस विषयमा मन्त्रालय र बोर्डबीच नै मत बाझिएकोले साझा धारणा निर्माण गर्नु आवश्यक छ।'बैठकमा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले पश्चिम सेतीमा नेपालको लगानी बारे फरक फरक धारणा व्यक्त गरेपछि यस्तो निर्देशन दिइएको हो।
तत्कालीन ऊर्जा मन्त्री गोकर्ण विष्टको पाला(२०६९ साल)मा उक्त आयोजना विना प्रतिस्पर्धा थ्री–गोर्जेजको सहायक कम्पनी सीडब्ल्यूई इन्भेष्टमेन्ट कर्पोरेशनलाई दिइएको थियो। विना प्रतिस्पर्धा उक्त आयोजना थ्री गोर्जेजलाई दिने समझदारीप्रति हालका ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले त्यतिबेला नै असहमति जनाएका थिए। 'त्यसताका हामीले हतारमा समझदारी गर्दा गल्ति नै गरेका रहेछौं भने पनि अहिले सच्चिने मौका छ,' सभापति थापाले भने, 'उसलाई नेपालमा कम्पनी खोल्न दिनुअघि र बैदेशिक लगानी भित्र्याउने स्वीकृति दिनुअघि यस विषयमा प्रष्ट हुनु आवश्यक छ।'आयोजानमा लाग्ने रकम मध्ये १ खर्ब ५० अर्ब रुपैयाँ बैदेशिक ऋण नेपाल भिœयाउन प्रवर्द्धक कम्पनी सीडब्ल्यूईआईले लगानी बोर्डसँग अनुमति माग गर्दै निवेदन दिएको छ। र, यसका लागि नेपालमा शाखा कम्पनी दर्ता गर्ने प्रक्रियामा पनि उक्त कम्पनी लागिपरेको छ। लगानी बोर्डले पनि यसै साता बोर्ड बैठक राखेर उक्त कम्पनीलाई लगानी भित्र्याउन स्वीकृति दिने बताइरहेको बेला आएको समितिको यस्तो निर्देशनले अब आयोजनामा हुने लगानीबारे प्रष्टता आउने विश्वास गरिएको छ।
पश्चिम सेतीबारे साझा बैठक र छलफल गरी साझा धारणा निर्माण गर्न समितिले गत कात्तिक २ गते पनि मन्त्रालय र बोर्ड दुबैलाई निर्देशन दिएको थियो। समितिले पटक–पटक निर्देशन दिँदा पनि पश्चिम सेतीबारे मन्त्रालय र बोर्डबीच समन्वयात्मक साझा धारणा निर्माण हुन नसकेको भन्दै समितिले खेद व्यक्त गरेको छ।समतिको बैठकमा बोल्ने अघिकांश सभासदले पश्चिम सेतीमा राजनीति भइरहेको भन्दै आक्रोश व्यक्त गरेका थिए। निर्माण गर्ने हो भने सबैले एकै मत बनाएर निर्माणमा लानु पर्ने नभए पश्चिम सेती नबनाउने भनेर घोषणा नै गर्न उनीहरुले सरकारसँग माग गरेका थिए।
२०६९ सालमा समझदारी पत्रमा हस्ताक्षर गरी दिइएको उक्त आयोजनामा सीडब्ल्यूईआईको ७५ प्रतिशत र नेपाल सरकारको २५ प्रतिशत शेयर स्वामित्व रहने सहमति थियो। १ खर्ब ८० अर्ब रुपैया" लागतमा सन् २०१४ बाट आयोजना निर्माण शुरु गरी २०२१ सम्ममा पूरा गर्ने उल्लेख थियो।आयोजनाको कुल लागतको १० प्रतिशत सेयर स्थानीय(बैतडी, बझाङ, डडेलधुरा, डोटी)लाई छुट्याउने, स्थानीय विद्युतीकरणका लागि १ सय ५० मेगावाट बिजुली उपलब्ध गराउने सहमति कम्पनीले गरेको थियो। विद्युत् प्रसारणका लागि बुटवलदेखि आयोजनास्थलसम्म ५ सय किमि लामो ४ सय केभि क्षमताको प्रसारण लाइन निर्माण गर्नुपर्ने सहमति भएको थियो।
आयोजना निर्माणको अनुमति पाएको अस्ट्रेलियाली कम्पनी स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक)ले १७ वर्षसम्म आयोजना कार्यान्वयनमा नलगेपछि मन्त्रालयले २०६८ साउनमा स्मेकको अनुमति खारेज गरी उक्त आयोजनालाई सरकारी बास्केटमा ल्याएको थियो। लगत्तै, पूर्वऊर्जामन्त्री गोकर्ण विष्टको पालामा विनाप्रतिस्पर्धा समझदारीपत्रमा हस्ताक्षर गरेर उक्त आयोजना निर्माणको जिम्मा सीडब्ल्यूईआईलाई दिइएको थियो।