काठमाडौं– विभिन्न पूर्वाधार आयोजनाहरु बनाउने सुश्चितता नभई गरिने सम्भाव्यता अध्ययन गर्ने, निर्माणमा जाने हल्ला चलाउने र निर्माण नगर्ने प्रवृत्तिले स्थानीय जनजीवन 'आतंकित' पार्ने गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सभासदले सरकारसँग माग गरेका छन्।
अध्ययन गरिएका आयोजनाहरु निर्माण भए स्थानीय बसोबास विस्थापित हुने, जग्गा अधिग्रहणमा पर्ने जस्ता हल्ला चल्ने कारणले प्रभावित क्षेत्रको घरजग्गा बिक्री नहुने, बैंकले धरौटी नलिनेजस्ता अनेक समस्याका कारण स्थानीयबासी आतंक झेल्न बाध्य भएको उनीहरुको भनाइ छ। त्यस्तै कतिपय प्रभावित क्षेत्रमा आयोजनाको शेयर पाइने लोभले घरजग्गा खरिद गर्न चाहनेहरुका कारण अस्वभाविक रुपमा घरजग्गाको मूल्य बढ्नेजस्ता समस्या देखिएको पनि सभासदहरुले गुनासो गरेका छन्।संसदको कृषि तथा जलस्रोत समितिको मंगलबारको बैठकमा सभापति गगन थापाले ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको अध्ययन मात्रै गर्दा र निर्माणमा नलैजाँदा दशकौंदेखि स्थानीय जनजीवन आतंकित भएको बताए। 'आयोजनाको अध्ययन गरेर मन्त्रालयले स्थानीय जनजीवन अस्तव्यस्त पार्न मिल्दैन,' सभापति थापाले भने, 'अध्ययन गरिएका आयोजनाहरु कार्यान्वयनमा पनि लानुपर्छ।'
पश्चिम सेती आयोजनाका नाममा उक्त आयोजनाको प्रभावित बझाङ, बैतडी, डडेलधुरा र डोडी जिल्लाका स्थानीयबासीको जनजीवन ३ दशकदेखि आतंकमा परेको डोटीकी सभासद् गौरीकुमारी ओलीले बताइन्। 'कहिले स्मेकलाई कहिले थ्री–गोर्जेजलाई त ऊर्जा मन्त्रालयले लगानी बोर्डलाई, बोर्डले मन्त्रालयलाई दोषारोपण गर्दागर्दै उक्त आयोजना बन्न सकेको छैन,' उनले भनिन्, 'यसले स्थानीय जनजीवनमा परेको अन्योल र आतंका विषयमा कसैले ध्यान दिएको छैन।' विभिन्न छलफल र बहसको विषयमै आयोजनाहरुलाई सीमित गर्ने हो भने आयोजनाहरुको अध्ययन र बहस तत्काल बन्द गर्नु पर्ने उनको माग छ।
बझाङका सभासद् अफिलाल उखेडा भन्छन्, 'पश्चिमसेती बन्ने हल्लाले दशकौंदेखि कोही आतंकित त कोही उत्साहित छन्।' यसरी लामो समयसम्म कसैलाई आतंकित पारिरहुन र कसैलाई आशा देखाइरहनु गलत प्रवृत्ति भएको उनको ठहर छ। बझाङ–१ का सभासद् मानप्रसाद खत्री भन्छन्, 'पश्चिम सेतीजस्ता जलविद्युत् आयोजना र नेपालको संविधान उस्तै भए, जसले जनतालाई सबैद अन्योल र आतंकित पार्ने काम मात्र गरेका छन्।' त्यस्ता आयोजना र संविधान निर्माण दुबैमा जनताको विरोध तथा चलखेल नभए पनि केही सीमित राजनीतिक र प्रशासनिक नेतृत्वकर्ताले संविधान र आयोजना दुबैलाई चलखेलको खेती बनाएको उनले बताए।
गत फागुन २५ गतेको समिति बैठकमा पनि सभापति थापाले बुढीगण्डकी आयोजना आफू सानैछँदा देखि बन्ने हल्ला चलेको तर अहिले आफैं समितिको सभापति भएर त्यही आयोजना बनाउने विषयमा छलफल गर्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको बताएका थिए। उक्त बैठकमा उपस्थित सभासद् राजेन्द्रबहादुर पाण्डेले २७ गाविसका करिब २० हजार विस्थापित हुने व्यक्तिहरु ३० औं बर्षदेखि आतंक र आशामा रहेको बताएका थिए। त्यस्तै, सभासद् चिनकाजी श्रेष्ठले आफूहरु 'आरुघाट' बजारसहित आफ्ना बसोबास नै विस्थापन गर्न तयार हुँदा पनि राजनीतिक चलखेलकै कारण आयोजना नबनेको बताएका थिए।