काठमाडौं-वैशाख १२ को विनाशकारी भूकम्पपछि अन्तराष्ट्रिय एयरलायन्सले नेपाल उडान कटौती गर्दा नेपालले आधा अर्बभन्दा बढी आम्दानी गुमाएको छ।
भूकम्पपछि नेपाल आउने पर्यटकको कमी र नेपालबाट जाने यात्रुको कम चापले अन्तर्राष्ट्रिय एयरलायन्सले साताको १ सय ३ वटा उडान कटौती गरेका छन्। अन्तर्राष्ट्रिय उडान कटौटी हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र पर्यटन बोर्डले विभिन्न शीर्षकमा लिने आम्दानी गुमेको हो। अन्तर्राष्ट्रिय उडान कटौती हुँदा तीन पर्यटनसम्बद्ध संस्थाको ५६ करोड आम्दानी गुमेको छ।
अन्तर्राष्ट्रिय उडान कटौती हुँदा निगमको औसत ४६ करोड ३५ लाख आम्दानी गुमेको हो। निगमले प्रत्येक फ्लाइटमा साना आकार (न्यारो बडी) का जहाजको ३ हजार डलर (तीन लाख रुपैयाँ हाराहारी) र ठूला आकार (वाइड बडी) को ६ हजार डलर (६ लाख रुपैयाँ हाराहारी) ग्राउन्ड ह्यान्डलिङ शुल्क लिन्छ।
त्यस्तै प्राधिकरणले ल्यान्डिङ एन्ड पार्किङबाट औसतमा १ करोड ८४ लाख ७२ हजार आम्दानी गुमाएको छ। प्राधिकरणले प्रत्येक फ्लाइटबाट ल्यान्डिङ र पार्किङमा न्यारो बडीलाई १ हजार ८५ डलर र वाइड बडीलाई २५ सय डलर शुल्क तोकेको छ छ। प्राधिकरणले यात्रु सेवा शुल्कमा पनि घाटा बेहोरेको छ। प्राधिकरणले उडान कटौती हुँदा २ करोड ३२ लाख ७८ हजार आम्दानी गुमाएको जनाएको छ। प्राधिकरणले प्रत्येक अन्तर्राष्ट्रिय उडानका प्रत्येक यात्रुबाट एक हजार ३० रुपैयाँ शुल्क लिन्छ।
प्राधिकरणले उडान कटौती हुँँदा विमानस्थल विकास शुल्कको २ करोड ६ लाख रुपैयाँ आम्दानी पनि गुमाएको छ। प्राधिकरणले प्रत्येक यात्रुबाट एक हजार रुपैयाँ विमानस्थल विकास शुल्क उठाउँछ। त्यस्तै प्राधिकरणले नेभिगेसनलबाट पनि २ करोड रुपैयाँ आम्दानी गुमाएको छ।
नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय उडान कटौती हुँदा २ करोड ३२ लाख ७८ हजार रुपैयाँ आम्दानी गुमाएको छ। बोर्डले प्रत्येक विदेशी यात्रुबाट ११ सय ३० रुपैयाँ पर्यटक सेवा शुल्क लिन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय उडान कटौती हुँदा प्राधिकरणको ३० प्रतिशत आम्दानी घटेको बताए। 'भूकम्पपछि सातामासय हाराहारी उडान कटौती भएका छन्। यसले प्राधिकरणको आम्दानीमा असर पारेको छ,' उनले भने।
अहिले २४ वटा अन्तर्राष्ट्रिय एयरलायन्सले सातामा २ सय ९४ उडान गर्नुपर्नेमा १ सय ९१ मात्र भरिरहेको विमानस्थलले जनाएको छ।
निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भूकम्पपछि निगमको आम्दानीमा ठूलो मात्रमा घाटा लागेको बताए। ग्राउन्ड ह्यान्डलिङबाट निगमले उल्लेख्य परिमाणमा आम्दानी गर्दै आएको छ। उनका अनुसार निगमले यसबाट वार्षिक करिब ३ अर्ब रुपैयाँबराबर आम्दानी गर्छ।
'ग्राउन्ड ह्यान्डलिङबाट हुने आम्दानी भूकम्पपछि झन्डै २५ प्रतिशतले घटेको छ,' उनले भने, 'यस्तो क्रम आगामी तीन महिनासम्म चल्नेछ किनभने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नेपाल उडान कटौती गर्दै अक्टोबरसम्म पुर्यानउने घोषणा गरिसकेका छन्।'
मलेसियन, थाई, एयर अरेबिया एयरलाइन्सको जिएसए लिएका प्रेसिडेन्ट टुर्स एन्ड ट्राभल्स तथा मार्काेपोलो ट्राभलका सञ्चालक सिद्धार्थविक्रम थापाले अहिले अन्तर्राष्ट्रिय एयरलायन्सले धमाधम उडान कटौती गरेको बताए। 'भूकम्पका कारण पर्यटक पनि छैन र कामदारको चाप पनि छैन। त्यसैले नेपाल उडान महँगो र घाटा हुने भएकाले रद्द भइरहेको छ,' उनले भने।
'विमानस्थलको मात्र होइन होटल, सरकारले पाउने ५ प्रतिशत कर, इन्धनको आम्दानी, यातायात खर्चलगायत स–सानो आम्दानी पनि गुमिरहेको छ। यसले देशको अर्थतन्त्रमा विस्तारै प्रभाव पार्छ,' थापाले भने।