पर्यटन क्षेत्रमा उत्साह
०१ वैशाख २०७९
•
३ मिनेट पाठ
पर्यटन क्षेत्रमा उत्साह
कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रमा नयाँ वर्षसँगै उत्साह देखिएको छ। उपत्यकासहित पोखरा, चितवनको सौराहा, धुलिखेल, नगरकोटलगायतका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ।




उपत्यकाबाहिरका अधिकांश पर्यटकीय गन्तव्य भरिभराउ छन्। नयाँ वर्षमा आन्तरिक पर्यटकले उपत्यकाबाहिरका प्रमुख गन्तव्य भरिएको होटल एसोसिएसन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले बताए। ‘नयाँ वर्षमा अधिकांश पर्यटकीय गन्तव्य भरिभराउ छन्,’ शाहले भने, ‘विदेशी पर्यटकको आगमन पनि बढेकाले उत्साहित छौं।’

पोहोरको तुलनामा विदेशी पर्यटक आगमन पनि ह्वात्तै बढेको शाहले बताए। गत वर्षको मार्चमा करिब १५ हजार पर्यटक आएकोमा यो वर्षको मार्चमा करिब ४२ हजार विदेशी पर्यटकको आगमन भएको शाहले बताए। ‘तेस्रो मुलुकसहित भारतबाट आउने पर्यटक बढेका छन्,’ शाहले भने, ‘विशेष प्याकेज ल्याएर पर्यटक आकर्षित गर्ने योजनामा छौं।’ नयाँ वर्षमा धेरै नेपाली घुम्न निस्किएका छन्।

कोभिडले पर्यटन क्षेत्र तहसनहस पारेको थियो। पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेकाले पर्यटन व्यवसायी उत्साहित भएको शाहले बताए। विदेशी विनिमय सञ्चिति घटिरहेको बेला विदेशी पर्यटकको आगमनले विदेशी मुद्रा आर्जनमा आशाको सञ्चार भएको छ।

उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा रात्रीकालीन व्यवसाय पनि सुरु भएको छ। होटलहरूमा बुकिङ बढिरहेको छ। कोरोनाले सिथिल बनेको पर्यटन क्षेत्रमा नयाँ वर्षसँगै उत्साह थपिएको ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भवीश्वर शर्माले बताए। ‘आन्तरिक र बाह्य पर्यटकको फ्लो बढेको छ,’ शर्माले भने, ‘नयाँ वर्षसँगै आशा जागेको छ।’

नयाँ वर्षमा धेरै मानिस घुम्नका लागि राजधानीबाहिर पनि निस्किए। नयाँ वर्षको अघिल्लो दिन बुधबार त कतिले जहाजको टिकट नपाएर पैदलमार्गमार्फत गन्तव्यमा पुगे।

नयाँ वर्षमा पोखरा घुम्न जान लागेका व्यवसायी श्रीकान्त ढुंगेलले बुधबार पोखरा जान जहाजको टिकट पाएनन्। जहाजमा टिकट नपाएपछि उनी स्थलमार्गबाट परिवारसहित घुम्नका लागि पोखरा गए। ‘जहाजको टिकट नपाएपछि गाडीमा पोखरा जानुपर्‍यो,’ ढुंगेलले भने, ‘पोखरामा होटल पाउन पनि मुस्किल भयो।’ लामो समयदेखि घुम्न नपाएका ढुंगेल पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ घुमेर फर्किने योजनामा छन्। ‘कोभिडले लामो समय गुम्सिएर बस्नुपर्‍यो,’ उनले भने, ‘फ्रेस हुनलाई परिवारसहित निस्किएको हुँ।’

उपत्यकानजिकैको धुलिखेलका पर्यटन व्यवसायी पनि उत्साहित छन्। क्षेत्रीय होटल संघ काभ्रे धुलिखेलकी सचिव जोत्सना सैँजुले नयाँ वर्षमा नेपालीहरू घुम्न निस्किने क्रम बढेको बताइन्। ‘कोभिडले सुनसान रहेका होटलमा अहिले पर्यटक आगमन बढेको छ,’ उनले भनिन्, ‘पर्यटन क्षेत्रमा आशाको सञ्चार भएको छ।’ अहिले अर्थतन्त्रमा देखिएको समस्याले भने केही असर परेको उनले बताइन्।

विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल बढे पनि योजना बनाएर पर्यटनको प्रवद्र्धन गर्नुपर्ने सरोकारवाला बताउँछन्। नेपालका पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने प्रत्याभूति दिन सके विदेशी पर्यटक आगमन ह्वात्तै बढ्ने नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्। ‘अहिले पर्यटन क्षेत्रमा उत्साह देखिएको छ,’ जोशीले भने, ‘आगामी दिनमा पर्यटन क्षेत्रको भविष्य उज्ज्वल देखिन्छ।’

माल्दिभ्स, श्रीलंकालगायतका देशले संकटको अवस्थामा पनि राम्रो पर्यटक भित्राएकाले नेपालमा पनि अवसर रहेको जोशी बताउँछन्। जोशीका अनुसार अहिले माल्दिभ्समा मासिक डेढ लाख, श्रीलंकामा एक लाख पर्यटक आइरहेका छन्।

नेपालका पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने प्रत्याभूति दिएर स्रोत बजारमा सकारात्मक प्रचार गर्न जरुरी रहेको उनले बताए। अहिले विदेशी पर्यटकले प्राकृतिक गन्तव्य, कम भिडभाड हुने क्षेत्रको खोजी गरिरहेकाले नेपाल उपयुक्त गन्तव्य रहेको जोशीले बताए। ‘नयाँ प्याकेज ल्याएर राम्रोसँग प्रवद्र्धन गर्न सके अब पर्यटन क्षेत्रले फड्को मार्छ,’ उनले भने।

विश्वका मुलुकसँग नेपालको हवाई पहुँच बढाउनुपर्ने जोशीले बताए। उनका अनुसार महामारी आउनुअघि नेपालमा ३० विमान कम्पनीका जहाजले १७ देशका ४० गन्तव्यमा उडान भर्थे। अहिले २१ विमान कम्पनीले ११ मुलुकमा मात्र उडान भरिरहेका छन्। ‘पर्यटक आकर्षित गर्न हवाई पहुँच पनि बढाउनुपर्छ,’ जोशीले भने, ‘एयरलाइन्ससँग सहकार्य गरेर प्याकेज बनाउनुपर्छ।’
अर्को समाचार
२०८१ मा पर्यटन क्षेत्रमा सकसै सकस
३० चैत्र २०८१
•
६ मिनेट पाठ
२०८१ मा पर्यटन क्षेत्रमा सकसै सकस
कहिले बाढीपहिरो त कहिले हवाई दुर्घटना, अनि पर्यटक सवार ठुला सवारी दुर्घटना थपिँदा वर्ष २०८१ पर्यटन क्षेत्रका लागि उत्तिसारो सुखद् थिएन। पर्यटन क्षेत्रले कोरोना भाइरस संक्रमणको मारबाट माथि उठ्ने प्रयास गरिरहँदा २०८१ मा थप क्षति भोग्नेगरि मुलुकमा विभिन्न घटनाक्रम थपिए। त्यसले गर्दा पर्यटन क्षेत्रले २०८१ मा उत्साह भन्दा पनि निराशाको चाङ बोकिरह्यो।  




सोमबार २०८२ को पहिलो दिन, नयाँवर्ष सुरु हुँदैगर्दा पर्यटन क्षेत्रले आगामि वर्षका लागि नयाँ सम्भावना देखेको छ। बितेको वर्षभन्दा पनि बढी संख्यामा आन्तरिक र बाह्य पर्यटक भित्रिने पर्यटन क्षेत्रको अपेक्षा छ। अहिलको तुलनामा पर्यटन क्षेत्र थप चलायमान हुनेमा पर्यटन व्यावसायी आशावादी छन्। २०८१ मा पर्यटन क्षेत्रमा देखिएका निराशाका घेरा नयाँवर्षमा हटेर जाने उनीहरुको अपेक्षा छ।  

पर्यटन क्षेत्रका लागि सबैभन्दा महत्वपूर्ण मानिएको पूर्वाधारमा सुधार हुँदै गर्दा अबका दिन पर्यटनले सुखद् क्षणको अपेक्षा राखेको व्यावसायीले बताएका छन्। पर्यटन क्षेत्रले २०८१ मा सबैभन्दा बढी क्षति प्राकृतिक विपद्बाट बेहोर्नुपर्यो । पर्यटक भित्रिने मुख्य सिजनमा बाढीपहिरोको मार खेप्नुपर्यो।  

नेपालमा भएका हवाई दुर्घटना, स्थलमार्ग अवरोध हुनेगरि निम्तिएको विपत्, पर्यटक बाहक सवारी दुर्घटना, राजमार्गको आउजाउमा निम्तिएको सकस, अस्थिर राजनीतिक घटनाक्रम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको थालनीले गर्दा संचालन समय घट्दा हवाई भाडामा भएको वृद्धि जस्ता गतिविधिले पर्यटन क्षेत्रले २०८१ मा सुखद् अनूभुति गर्न नपाएको व्यावसायीको गुनासो छ।  
‘२०८१ मा भोग्नुपरेका मध्येका केही समस्या योवर्ष करिब करिब समाधानको बाटोमा छन्। त्यसले गर्दा २०८२ मा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गर्न सकिन्छ,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘पर्यटनका लागि २०८१ मध्यम वर्ष रहेको हो। पर्यटन क्षेत्रले पूर्ण रुपले सन्तोष मान्ने अवस्था छैन। तर, सुधारको बाटोमा रहेकोले अबका दिनमा पर्यटनबाट आशा भने गर्न सकिन्छ।’

पराजुलीको विचारमा पर्यटन क्षेत्रलाई चलायमान बनाउनेगरि पोखरामा २०८१ मा केही कार्यक्रम भएका छन। पोखरालाई अघिल्लो वर्ष नै पर्यटनको राजधानी घोषणा गरेकोले त्यसको प्रभावले पोखराको पहिचान केही फराकिलो बनेको उनको भनाई छ। त्यसबाहेक पोखरा महानगरपालिकाले पनि यही समयमा पोखरा भ्रमण वर्षको रुपमा प्रवद्र्धन थालेको छ।  

‘कतिपय नौला कामको थालनी भएकै हो। तर, आवश्यकताका केही काम पोखराले गर्न भने सकेन। त्यसको मार पर्यटनमा पर्छ। पोखरालाई सफा र सुन्दर बनाउने, नयाँ पर्यटकीय प्रडक्ट थप्ने विषयमा पोखराले खासै प्रगति गर्न सकेको छैन। यति हुँदाहुँदै पनि तीनवटै तहका सरकारले पोखरालाई चिनाउने गरि कतिपय कार्यक्रम गरेका छन,’ उनले भने, ‘यसले पोखरालाई धेरथोर सहयोग त गरेको हो। तर, ती गतिविधि मात्र पर्याप्त होईनन।’  

उनको बुझाईमा पोखराको पर्यटन क्षेत्र कोराना भाइरस संक्रमणपछि सामान्य अवस्थामा फर्किन खोजेको थियो। पूर्वअवस्थामा फर्किन खोजेको पर्यटन क्षेत्रलाई थला पार्नेगरि २०८१ मा मुलुकमा घटनाक्रम थपिए। त्यसको मार छिमेकी मुलुकका भारतीय पर्यटक आगमनदेखि आन्तरिक पाहुनाको चलायमानमा पनि परेको उनी बताउँछन्। ‘सहजै आउजाउ गर्न सक्ने भारतीय पर्यटकका लागि पनि २०८१ उत्तिसारो फापेन। आन्तरिकलाई त असर परेकै हो,’ उनले भने, ‘सिजनको समयमा पनि आन्तरिक पाहुना भित्रिन सकेनन। अरु विदेशी त असर पर्ने नै भयो।’  

पोखरामा बढी भन्दा बढी पर्यटक भित्र्याउनका लागि सुन्दरता थप्नुपर्ने भएपनि त्यसमा पोखरा चुकेको उनले बताए। ‘पोखरालाई स्वच्छ, हरियाली सहर बनाउनबाट चुकेकै हो,’ उनले भने। २०८१ को अन्तिममा आउँदै गर्दा पोखराले पर्यटन क्षेत्रले सबैभन्दा बढी आशा गरेको पृथ्वी राजमार्गको पहुँचमा भएको सुधार र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको अन्तर्राष्ट्रिय उडानले केही उत्साह थपेको पराजुली बताउँछन्।  

‘२०८१ सम्म राजमार्गको यात्रा नै सकसपूर्ण थियो। त्यो सकस अब पुरा हुन थालेको छ। पूर्वाधार विकासमा  रहेका केही समस्या हट्दै गएका छन,’ उनले भने, ‘त्यसले आन्तरिक र बाह्य पर्यटक आउजाउमा सहजता थप्नेछ।’ पर्यटक आउजाउमा सबैभन्दा बढी सकस मानिएको पृथ्वी राजमार्गको बिस्तारको गतिले यात्रामा केही सहजता दिएको प्रभावस्वरुप यतिबेला पोखराका होटलको अकुपेन्सी करिब ९० प्रतिशत हाराहारीमा उक्लेको उनी बताउँछन्।  

त्यस्तै २०८१ को अन्तिमतिर पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई संचालन गर्न सकेकोले त्यसलाई अझ गति दिन सकेको खण्डमा आगामि वर्ष तेश्रो मुलुकका विदेशी पर्यटकको आकार बढाउन सकिनेमा आशावादी रहेको उनले बताए। 

‘२०८२ मा पर्याप्त पर्यटक भित्रिनका केही सहज बनेको छ। पहुँचमा सुधार भएकोले आन्तरिक र बाह्य पर्यटक भित्रिने सम्भावना छ,’ उनले भने। अघिल्ला वर्ष भएका केही घटनाक्रमले पोखराको मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रमा मार परेको पराजुली बताउँछन्। पछिल्लो समय पोखराले अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धनमा पनि उत्तिकै चाँसो देखाएसँगै पोखराले २०८२ मा अहिले भन्दा बढी संख्यामा पर्यटकलाई स्वागत गर्ने अवसर पाउनेमा आशावादी रहेको उनले सुनाए।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका विचारमा २०८१ मा पर्यटन क्षेत्र उत्ति सफल भएको होइन। कोरोनापछिको अवस्थामा नेपालको पर्यटन क्षेत्रमा समग्रमा सुधार भएपनि पर्यटन क्षेत्र अझै सफल भएको भन्न नमिल्ने उनी बताउँछन।

 ‘पर्यटन क्षेत्र कोरोनाको संक्रमणको अप्ठेरोबाट माथि उक्लिँदै गर्दा पोखराले त्यो अनुभव पटक्कै गर्न पाएन। होटल, सवारी, रेस्टुरेन्ट गन्तव्यका हिसाबले जति पाहुना आगमन हुनुपर्ने हो, त्यो हुन सकेन,’ उनले भने, ‘पर्यटक आउन नसकेपछि पर्यटनमा सुधार भन्न मिल्दैन।’
सापकोटाका बुझाईमा अस्थिर राजनीति, बाटोघाटोको पहुँचमा रहेको समस्या, वायु प्रदूषण, काठमाडौंमा बाढी पहिरो, हवाई र स्थलमार्गको दुर्घटनाका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका कारण हवाई क्षेत्र डाइभर्ट, हवाई भाडा वृद्धि लगायतका कारण २०८१ मा पर्यटन क्षेत्रले ठूलो नोक्सान खेप्नुपरेको उनी बताउँछन्। ‘मुख्य सिजन नै राम्रो हुन सकेनन। अहिले पनि केही सुधार भएको देखिएपनि यो भीड अस्थायी हो,’ उनले भने।

उनका अनुसार अहिले पोखरा–मुग्लिन राजमार्गको सुधारले केही सकारात्मक देखिएपनि मुग्लिन –काठमाडौं खण्डमा सुधार नभएसम्म आन्तरिक र बाह्य पर्यटक पोखरा भित्रिन नसक्ने उनले बताए । ‘मुग्लिन पोखरा सुधार भएको छ। तर, मुग्लिन–काठमाडौं राम्रो नभएसम्म पर्यटनलाई लाभ हुँदैन,’ उनले भने, ‘यो सिजनले उत्साही बनाउन सकेन। बरु, आगामि सिजन राम्रो हुनसक्छ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, राजमार्गको आउजाउ तुलनात्मक रुपमा सहज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिस्तार सम्पन्न हुनुले पनि २०८२ मा केही राम्रो हुने अपेक्षा रहेको उनले बताए।  

पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने कोरोनाले शुन्यमा झरेको पर्यटनमा करिब ९५ प्रतिशत सुधार हुँदैगर्दा आगामि दिनमा पर्यटक आगमनमा अझ सकारात्मक अवस्था देखेको बताउँछन्। उनका अनुसार नेपालको पर्यटन क्षेत्र कोरोना अघिको अवस्थाको तुलनामा २०८१ मा निकै नै राम्रो देखिनेगरि ‘रिभाईभ’ भएको छ। 

सार्क मुलुकका पर्यटकको आगमन कोरोना अघि भन्दा अहिले ६ प्रतिशत बढिसकेको छ। त्यस्तै अमेरिकी बजार पनि २ प्रतिशतले वृद्धि भईसकेको छ। एशियाली बजार भने अझै १० प्रतिशत बढाउन जरुरी रहेको उनले बताए। यूरोपको बजार पनि २ प्रतिशत मात्र कमजोर देखिएको छ।  

‘कोरोना अघिको अवस्थामा फर्किनै थालेकोले पर्यटन क्षेत्रमा निरन्तर सुधार देखिएकै छ,’ उनले भने, ‘अब त अझै आशा गर्ने ठाउँ पनि देखिएको छ। अघिल्लो वर्षसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै संचालनमा रहेकोमा अहिले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल पनि थपिएकाले पर्यटक आगमनमा सुधारको संकेत रहेको उनले बताए। मुख्य राजमार्ग पनि बिस्तारको गतिमा रहेकोले आन्तरिक पाहुना पनि चलायमान बन्दै गएको उनले बताए।

‘२०८१ मा पर्यटन क्षेत्रलाई असर पर्नेगरि केही घटना भए। त्यसले गर्दा भारतीय पर्यटन क्षेत्र समेत प्रभावित भएकै हो। आन्तरिकलाई पनि ती घटनाक्रमले असर पारेको हो,’ उनले भने, ‘काठमाडौंमा घटना भएपछि त्यसको मार देशब्यापी पर्यटन क्षेत्रमा परेको हो। पर्यटन क्षेत्र पनि त्यो अप्ठेराबाट जोगिन नसकेको हो तर, अब भने सुधारको बाटो देखिएको छ। पूर्वाधार पनि करिब अन्तिम चरणमा पुगेका छन। प्रर्वद्धन पनि भएकै छ। त्यसले गर्दा २०८२ पर्यटनका हिसाबले सुखद हुने सम्भावना छ।’
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस