काठमाडौं-जलविद्युत उत्पादन, यसको बजारीकरण र क्षेत्रीय बजार खोज्ने उद्देश्यका साथ नेपालले ६ नाकाबाट भारतमा बिजुली बेच्न सक्ने आधार तय भएको छ। दुवै देशले संयुक्तरुपमा तयार पारिरहेको 'नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन गुरुयोजना'ले यस्तो आधार तय गरेको हो।
नेपालमा सन् २०३५ सम्म ४४ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने आधारमा तयार भइरहेको गुरुयोजनाअनुसार नेपालमा बढी भएको बिजुली उक्त नाकाबाट भारत निकासी गर्न सकिनेछ। यसले दुई देशको सहकार्यमा भारत हुँदै नेपालको बिजुली तेस्रो मुलुकसम्म पुग्ने ढोका खुल्ने अपेक्षा गरिएको छ।
दुहबी, ढल्केबर, बुटवल, कोहलपुर, लम्की र अत्तरियालाई बिजुली बिक्री तथा निकासी गर्न सकिने नाकाको रुपमा पहिचान गरिएको छ। ती नाकामा ४ सयदेखि ७ सय ६५ केभीसम्मका अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने योजना छ। यस्तै, त्यहाँबाट बिजुली उच्च मागको समयमा २३ हजार र कम माग हुँदा १२ हजार मेगावाटसम्म निर्यात गर्न सकिने अनुमान छ।
दुई देशबीच प्रसारण लाइन निर्माणको आधार तय भएकाले यहाँ उत्पादित बिजुली अब सजिलै भारतीय बजारसम्म पुर्याशउन सकिने ऊर्जा मन्त्रालय नीति महाशाखा प्रमुख केशवध्वज अधिकारीले बताए। 'गुरुयोजनाको काम गत कात्तिक ४ मा भएको नेपाल–भारत विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयनको निरन्तरता हो,' उनले भने, 'अब खुलारुपमा भारतमा बिजुली बेच्न सकिने बाटो खुलेको छ।'
उक्त गुरुयोजनाको आधारमा नेपालको बिजुली तेस्रो मुलुकसम्म पनि बेच्न सकिने अधिकारीले दाबी गरे। बंगलादेशले यहाँको जलविद्युत क्षेत्रमा लगानी गर्न र सुरुमा ५ सय मेगावाटसम्म किन्न चाहेको सार्वजनिक गर्दै आएको छ। नेपालबाट बंगलादेश बिजुली लान भारतीय भूमि प्रयोग गर्नुपर्छ। यो गुरुयोजना त्यसका लागि समेत सहायक हुन सक्ने उनको भनाइ छ।
असार २१ देखि २३ सम्म दिल्लीमा सम्पन्न 'ऊर्जा क्षेत्र सहकार्य नेपाल–भारत संयुक्त प्राविधिक समिति'को दोस्रो बैठकले नेपालमा उत्पादन हुन सक्ने बिजुली र खपत आँकलन गर्दै गुरुयोजनाको खाका तयार पारेको हो। समितिमा नेपालका तर्फबाट विद्युत विकास विभागका उप–महानिर्देशक नवीनराज सिंह तथा नेपाल विद्युत प्राधिकरणबाट निर्देशकद्वय राजीव शर्मा र हितेन्द्रदेव शाक्य छन्।
समितिमा भारतका तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका निर्देशक रविन्दर गुप्ता, पावर ग्रिड इन्डियाको योजना हेर्ने सहायक महानिर्देशक र प्राविधिक एसएस बरपन्द छन्। प्रसारण लाइन निर्माणका लागि ६ नाका पहिचान भएकाले यहाँ उत्पादित बिजुली बढी भए खपत तथा बिक्री गर्न समस्या नहुने प्राधिकरण ग्रिड विभाग निर्देशक शर्माले बताए।
'सन् २०२० पछि नै यहाँ उत्पादित बिजुली बर्खामा खेर जाने देखिएको छ, भोलिका दिनमा बढी भएको बिजुली सजिलै भारतीय बजारमा बेच्न सकिनेछ,' उनले मंगलबार नागरिकसँग भने, 'उत्पादन गर्न सकिएन भने यो गुरुयोजना कागजमै सीमित हुन्छ।' यद्यपि, यसले भविष्यमा उत्पादन हुने बिजुलीको बजार खोज्ने आधार तय गरेको उनले बताए।
अहिले निर्माणमा गएका, विद्युत खरिद सम्झौता (पिपिए) भएका, वित्तीय व्यवस्थापन भएका, उत्पादन र अध्ययन अनुमतिपत्र लिएका आयोजनालाई आधार मानेर गुरुयोजनाको खाका बनाइएको विभागका उप–महानिर्देशक सिंहले बताए। 'अहिलेसम्म २ सय ८१ आयोजना निर्माण, पिपिए, वित्तीय व्यवस्थापनलगायत चरणमा छन्,' उनले भने, 'यही आधारमा सन् २०३५ सम्म उत्पादित बिजुली खपत र बिक्री वितरणको योजना बनाइएको हो।'
गुरुयोजनाले बुटवलदेखि पूर्वतर्फ नेपालमा बिजुलीको माग बढी र पश्चिमतर्फ कम तर भारतमा सीमा जोडिएका पश्चिमी क्षेत्रमा बढी माग देखाएको छ। गत वर्ष साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदासमेत भारतसमक्ष लम्की–बरेली ७ सय ६५ केभी प्रसारण लाइन निर्माणको प्रस्ताव गरिएको थियो।
हाल निर्माणाधीन ४ सय केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनसमेत गर्दा ७ नाकाबाट भारतमा बिजुली बेच्न र आवश्यक पर्दा किन्न सकिन्छ। नेपालतर्फ ४० र भारततर्फ १ सय किलोमिटरको यो प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जानकारी दिएको छ। यो प्रसारण लाइनबाट नेपालले २५ वर्षसम्मका लागि १ सय ५० मेगावाट बिजुली किन्ने सम्झौता भएको छ।
दिल्लीमा भएको प्राविधिक समितिको दोस्रो बैठकले सन् २०३५ सम्मको बिजुली उत्पादन खपतको योजना तयार पारेको हो। आगामी भदौ दोस्रो साता काठमाडौंमा हुने समितिको तेस्रो बैठकले सन् २०२५ सम्म उत्पादन हुने बिजुली र यसको खपत, बिक्री तथा वितरणको योजना बनाउने सिंहले जानकारी दिए।
सन् २०२५ सम्मको योजना बनेपछि पुनः सन् २०२१/०२२ भित्र उत्पादन हुने बिजुली बजारीकरणको योजना बन्नेछ। कात्तिक पहिलो सातासम्म प्रसारण लाइनको समग्र गुरुयोजना टुंग्याउने योजना छ। गुरुयोजना तयार भएलगत्तै जलविद्युत आयोजना निर्माणतर्फ जोड दिनुपर्ने प्राधिकरणका अधिकारी बताउँछन्।
गुरुयोजनाले कर्णाली चिसापानी, पञ्चेश्वर र सप्तकोसीबाट मात्र १८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको छ। सम्भाव्यता अध्ययनले चिसापानीबाट १० हजार ८ सय, पञ्चेश्वरबाट नेपालले पाउने ३ हजार ३ सय ६० र सप्तकोसीबाट ३ हजार ४ सय मेगावाट बिजुली उत्पादन गर्न सकिने देखाएको छ। सन् २०२५ सम्म १३ हजार ७ सय मेगावाट उत्पादन हुने र त्यहीअनुसार प्रसारण लाइन निर्माण र विस्तारको योजना बनिरहेको पनि सिंहले जानकारी दिए।