तलब वृद्धि लगायतका दर्जनौं माग राखेर आन्दोलन गरिरहेका नेपाल सरकारका नायब सुब्बाहरुले मंगलबार बिदा बसेर मन्त्री र सचिवहरुलाई उनीहरुको मोबाइलमा सन्देश पठाएका छन्।
उनीहरुले आफ्नो सन्देशमा भनेका छन्, ‘काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु।’ यो बाहेक उनीहरुले आफ्ना गूनासा र मागहरु समेटेर बिहानदेखि नै सन्देश पठाउन थालेका हुन्। सन्देश पठाउने क्रम साँझसम्म जारी हुने उनीहरुले बताएका छन्।
पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरु मंगलबार बिदामा बसेका छन्। नायब सुब्बाहरुले सामान्य प्रशासन मन्त्री, अर्थमन्त्री, मुख्य सचिव, कानुनमन्त्री, समान्य प्रशासन मन्त्रालयको सचिवलाई एसएमएस पठाएका निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले जानकारी दिए।
एसएमएस सन्देशमा उनीहरुले ‘माननीय ज्यू। नायब सुब्बा लगायतका अंकित कर्मचारीको वृत्ति विकास खोइ?, काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु, रा.प तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत र आन्तरिक प्रतिस्पर्धा २० प्रतिशत कायम गरियोस्, तहगत प्रणाली लागू गरियोस्! बढीमा १० वर्ष सेवा अवधि पुगेकोलाई स्वतः बढुवा गरियोस्, बढुवा प्रतिशत घटाउने? आन्तरिक परीक्षा हटाउने? नियतमा खोट देखियो श्रीमान्!, योग्यता पुगेका राजपत्र अंकित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस्।’ भन्दै सन्देश पठाएका हुन्।
कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन्। अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन्।
पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिका नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए।
पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारीपछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ। प्रहरी कार्यालय सिरहाका अनुसार कर्ण फरार रहेको र खोजी जारी रहेको छ। सिरहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले फरार कर्णको ‘केवाइसी’ अध्ययन भइरहेको र प्राप्त भएका निवेदनका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने छ बताए।
आफूहरूलाई प्रलोभनमा पारी रकम असुली गरिएको औरही गाउँपालिका– २ स्थित तुलसीपुरकी पुनिता महतोले बताए। उनले भने, ‘ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन्। कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशले अग्रिम अनुदानको आधा रकम बुझाइयो। तर अहिले न ट्र्याक्टर पाइयो, न रकम फिर्ता नै।’ उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए। तर उक्त खातामा पर्याप्त रकम नभएको बैंकले बताएको थियो।
महतोजस्तै सुखीपुर नगरपालिका– ५ का राजकिशोर यादव पनि ठगी गरी कर्ण फरार भएपछि आफू मानसिक तनावमा परेको बताए। यादवमार्फत सिरहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ स्थानीयले जम्मा रू ९६ लाख कर्र्णलाई ट्र्याक्टर पाउने आश्वासनमा बुझाएको जानकारी दिए। उनका अनुसार प्रत्येक पीडित व्यक्तिबाट पाँचदेखि नौ लाखसम्म लिइएको थियो। केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको यादवले जानकारी दिए।
पीडितहरूको यकिन तथ्यांक नभए पनि सयौँको संख्यामा हुनसक्ने स्थानीय मनोज यादव बताउँछन्। उनका अनुसार नागरिकको कम्तीमा पनि १० करोड रुपैयाँबराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन्। फरार कर्णको सिरहा नगरपालिका–१० स्थायी घर हो। अहिले दैनिक दर्जनौँ पीडित व्यक्ति घर पुग्ने गरेको कर्णको बुवा कृष्णदेवलाल कर्णले जानकारी दिए। छोराको बदमासीका कारण यतिबेला आफू तनाबमा परेको जनाउँदै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएको उहाँले बताए।
कृषि ज्ञान केन्द्र सिरहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगी मात्र भएको जानकारी दिएको छ। पीडितका अनुसार कर्णले नायब सुब्बाको परिचयपत्र झुड्याएको बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगी मात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको जानकारी दिए। कर्णले सर्वसाधारणको रकम हिनामिना गरेको सम्बन्धमा आफू जानकार नभएको प्रमुख महासेठले बताए। –रासस
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...