वीरगन्ज- पछिल्लो ६ महिनामा नेपालमा साढे ६ लाख लिटरभन्दा बढी विदेशी रक्सी खपत भएको सरकारी तथ्यांकले देखाएको छ। वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भएर चालु आर्थिक वर्ष २०७१/०७२ को ६ महिनामा उक्त परिमाणमा विदेशी रक्सी भित्रिएको हो। उक्त परिमाणको रक्सी किन्न ३८ करोड ७१ लाख ३ हजार रुपैयाँ बिदेसिएको छ।
यसपालिको रक्सी आयात पोहोरको ६ महिनाको तुलनामा ७.५४ प्रतिशत बढी हो। उक्त बाटोबाट गएको साउनदेखि पुससम्ममा कडा रक्सी, वाइन र बियर गरी ६ लाख ६४ हजार ४ सय ६२ लिटर आयात भएको छ। पोहोर यस्तो परिमाण ६ लाख १६ हजार ९ सय ८५ लिटर थियो। यसपालि आयात भएको मदिरा पोहोरको भन्दा ४७ हजार ४ सय ७७ लिटर बढी हो।
यो परिमाणमा अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री सपमा किनेर हाते झोलामा ल्याइने रक्सी समावेश छैन। यसरी आउने रक्सीको मात्रा पनि निकै हुने गर्छ।
तेस्रो मुलुकबाट भारतको कोलकता बन्दरगाह हुँदै सिर्सिया सुक्खा बन्दरगाह भएर विदेशी मदिरा आयात हुन्छ। ह्विस्की, भोड्का र जिनजस्ता तयारी रक्सीको आयात ६ महिनामा २ लाख १० हजार २ सय ४१ लिटर भएको छ। पोहोरको १ लाख ८५ हजार ४ सय ९१ लिटरको तुलनामा यसपालिको १३.३४ प्रतिशतले बढी हो। २५ करोड १० लाख ६४ हजार रुपैयाँ बराबरको तयारी रक्सीको आयातबाट सुक्खा बन्दरगाह भन्सारले ३८ करोड ४७ लाख २८ हजार रुपैयाँ राजस्व प्रप्त गरेको छ।
बियर आयात पोहोरको तुलनामा ७५.८६ प्रतिशत बढेको तथ्यांक छ। साउनदेखि पुससम्ममा यसपालि १ लाख १३ हजार ७ सय ६० लिटर बियर आयात भएको छ। पोहोर ६४ हजार ६ सय ८६ लिटर आएको थियो। १ करोड ७२ लाख ६८ हजार रुपैयाँ बराबरको बियर आयातबाट भन्सारले ३ करोड १ लाख ४५ हजार रुपैयाँ राजस्व लिएको छ।
वाइन आयात भने ७.४० प्रतिशतले घटेको छ। पोहोर साउनदेखि पुससम्म ३ लाख ६७ हजार ७ सय ८ लिटर वाइन आयात भएको थियो। यसपालि ३ लाख ४० हजार ४ सय ६१ लिटर आएको छ। ११ करोड ८७ लाख ७३ हजार रुपैयाँ बराबरको वाइन आयातबाट १७ करोड ३४ लाख ४ हजार रुपैयाँ राजस्व भन्सारलाई प्राप्त भएको छ।
विदेशीको ठाउँमा स्वदेशी वाइनले बजार लिन थालेको रक्सी बितरक बताउँछन्। 'पहिले हामीले बेच्ने वाइन मुख्य रुपमा विदेशी नै हुन्थे, अब स्वदेशीको पनि बिक्री बढेको छ,' स्वदेशी तथा विदेशी मदिराका बितरक श्री मनोकामना स्टोर्सका सञ्चालक अग्नि भुसालले भने।
वाइन आयात केही मात्रामा घटे पनि समग्रमा भने मदिरा आयात बढेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत देवीप्रसाद भण्डारीले बताए। विदेशी मदिरा आयाताबाट राजस्व असुली पोहोरको तुलनामा यसपालि २१.६९ प्रतिशतले बढी भएको छ।
मदिराबाट साउनदेखि पुससम्ममा ५९ करोड ८२ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको छ। पोहोर ४९ करोड १६ लाख १३ हजार रुपैयाँ उठेको थियो। यसपालि ६ महिनामा रक्सी किन्न ३८ करोड ७१ लाख ३ हजार रुपैयाँ बिदेसिएको छ। यो पोहोरको ३४ करोड ५४ लाख ६८ हजार रुपैयाँभन्दा १२ प्रतिशत बढी हो।
नेपालमा विदेशी मदिरा प्रायः जसो बेलायत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र फ्रान्सबाट आयात हुने गरेको सुक्खा बन्दरगाह कार्यालयको अभिलेखले देखाउँछ। विदेशी मदिरा वितरक काठमाडौंस्थित ग्लोबल ट्रेडिङ कन्सर्नका भन्सार क्लियरिङ एजेन्ट सुरेशप्रसाद साहका अनुसार जोनी वाकर ब्रान्डको आयात बढी छ।