कामदार अभावले इँटा उत्पादन घट्दै
१६ कार्तिक २०८३
•
४ मिनेट पाठ
कामदार अभावले इँटा उत्पादन घट्दै
कोसी प्रदेशका इँटाभट्टाहरूमा कामदार अभाव हुँदा उत्पादनमा कटौती गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना हुने भएको छ। कोइला र माटोमा महँगो पैसा खर्चनुपरेका बेला मजदुर सहज ढंगले नपाउँदा उत्पादनमा कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको हो।




कोसी प्रदेशमा कुल ६० वटा रहे पनि अहिले ४२ वटा हाराहारी सञ्चालनमा आएका छन्। यी सबै इँटाभट्टाले दक्ष कामदार भारतबाटै अनिवार्य रूपमा ल्याउनुपर्ने बाध्यता छ। ‘हामी प्रायः गरेर भारतको पश्चिम बंगालका कामदार ल्याएर काम लगाउने गर्छौं, यसपटक मेरै उद्योगका लागि २२५ जना कामदार खोजेर आएको अहिलेसम्म १२५ मात्र कामदार आइपुगेका छन्, अरु आएनन्’, कोसी प्रदेश इँटा व्यवसायी संघका अध्यक्ष् समेत रहेका सुनसरी दुहवी– ९ मा सञ्चालित जयबाबा इँटा उद्योगका सञ्चालक खगेन्द्र श्रेष्ठले भने, ‘अब कामदार खोजी गर्न भारत जाने तयारीमा छु।’

उनका अनुसार भारतको पश्चिम बंगालबाट इँटा व्यवसायीले विभिन्न सर्तमा कामदार लोभ्याएर ल्याउने गर्छन्। प्रायः व्यवसायीले बस्ने र खाने व्यवस्था गरेर प्रतिइँटाका हिसाबले कबोल गरेर मजदुर  ल्याइने गरिन्छ।

‘मैले मजदुर ल्याउँदा प्रति इँटा एक १२ पैसाका हिसाबले ल्याउने गरेको छु’, उनले भने, ‘कामदार ठुलो संख्यामा नआउँदा यस वर्ष धेरै ठुलै संख्यामा इँटा उत्पाखनमा कटौती हुने अनुमान गरिएको छ।’

जयबाबा इँटा उद्योगले बर्सेनि एक करोड ५० लाख हाराहारी इँटा उत्पादन गर्दै आएको छ। अब कामदार तोकिएअनुसार नथपिएमा यस वर्ष ७५ लाख हाराहारी मात्र इँटा उत्पादन गर्न सकिनेछ।

‘नेपाली कामदारले माटोको कामै गर्न जान्दैनन्’, उनले भने, ‘भारतकै कामदारको भर पर्दा भनेअनुसार आइदिँदैनन्।’ नेपाली युवा श्रमशक्ति ठुलो संख्यामा खाडी मुलुक, मलेसिया र पछिल्लो समय मौसमी कामदारका रूपमा दक्षिण कोरिया र युरोपतर्फ आकर्षित हुँदा पनि कोही इँटा उद्योगमा काम गर्न रुचाउँदैनन्।

अर्कातिर नेपाली कामदारमा काम गर्ने संस्कारको समस्या रहेको पनि व्यवसायीले बताएका छन्। इटहरी– १५ मा सञ्चालित अन्नत इँटाभट्टाका कर्मचारी सुरज दाहालका अनुसार नेपाली कामदार एक त खट्न सक्दैनन्, अर्कातिर विभिन्न पर्व आउँदा बिदा लिएर धेरै समय बसी दिने गर्छन्। ‘चाडपर्वमा बिदा लिने अनि धेरै दिनसम्म काम गर्न नआउँदा उत्पादनमा कटौती गर्नुपर्ने अवस्था हुँदा प्रायः कामदार भारतबाटै ल्याइने गरिएको छ’, उनले भने, ‘भारतबाट ल्याइएका कामदारले ६ महिनासम्म काम गर्छन् अनि फर्कन्छन्।’

भारतबाट ल्याइएका कामदार आफ्नो परिवारसहित आउने गर्छन्। उनीहरूका लागि इँटाभट्टा परिसरमै बस्ने व्यवस्था मिलाइने हुँदा बिहानदेखि राति अबेरसम्म काम गर्ने गर्छन्। जसले गर्दा उद्योगले अपेक्षा गरेअनुसारको उत्पादनमा सहज हुने गर्छ।

इँटाभट्टामा इँटा थाप्ने (काँचो इँटा बनाउने), भित्र हुल्ने, पकाउने र पाकेको इँटा बाहिर निकाल्ने काम गर्नुपर्छ। यी सबै काम गर्नका लागि भारतीय कामदार मात्र दक्ष हुने गर्छन्। इँटाभट्टामा तीस वर्षअघि यहाँका थारु पुरुषले गरे पनि त्यसपछिको पुस्ताले गरेनन्। त्यसपछि यहाँका इँटा व्यवसायीले भारतबाटै कामदार ल्याउने गरेका छन्।

‘अब चाँडै इँटाभट्टाका लागि नयाँ नयाँ मेसिनको आविस्कार नभए चार/पाँच वर्षपछि इँटाभट्टा बन्द गर्नुपर्ने अवस्था आउँछ’, इटहरी– १६ मा सञ्चालित एनएम इँटाभट्टाका सञ्चालक बनोद अग्रवालले भने।

उनका अनुसार केही वर्षअघिसम्म इँटा बनाउनका लागि माटो मुछ्ने काम मजदुरले गर्थे। अचेल भने मेसिनद्वारा माटो मुछने काम हुने गरेको छ। यसरी हरेक काममा मेसिनबाट गर्न थालेमा मात्र उद्योग चलाउन सहज हुने र उत्पादनमा पनि वृद्धि गर्न सकिनेछ।

त्यसो त कतिपय इँटाभट्टाले पनि मजदुर अभावले गर्दा प्राविधिक मजदुर भारतबाट ल्याउने र अरु स्थानीयबाट पनि काम चलाउने गरेको विराट इँटाभट्टा विराटनगरका सञ्चालक तथा कोसी इँटा व्यवसायी संघका कार्यवाहक अध्यक्ष लिलाराज पराजुलीले बताए। उनका अनुसार भारतमै स्थानीय स्तरमा रोजगारीका अवसर उपलब्ध हुँदा भारतीय कामदार आउन झन्झट मान्ने गरेका छन्।

‘नेपाल र भारतका इँटाट्टा सञ्चालन गर्न सिजन लगभग मिल्दो भएकाले गर्दा पनि उतै (भारत) कामदारलाई भ्याइनभ्याई हुँदा नेपाल ल्याउन कठिनाइ हुने गरेको छ’, पराजुलीले भने। इँटा उद्योग प्रायः गरेर असोजबाट सुरु भएर वैशाख अन्तिम वा जेठको दोस्रो सातासम्म सञ्चालन हुने गर्छन्।

त्यसो त इँटाभट्टाका लागि पछिल्लो समय कोइला खरिद र माटोको मूल्यमा महँगो पर्दा पनि समस्या हुँदै आएको छ। इँटा पोल्नका लागि मुख्य इन्धनका रूपमा प्रयोग हुने कोइला पहिला–पहिला भारतबाट आउने गथ्र्यो। पछिल्लो समय अमेरिकाबाट आउने गरेको छ। ‘अमेरिकाबाट आउने कोइलाको मूल्य महँगो पर्छ’, कोसी इँटा व्यवसायी संघका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘अमेरिकाबाट आउने कोइलाको मूल्य बढी पर्छ, भारतबाट न्यून मात्र आउने गर्छ।’

उनका अनुसार सामान्यतया एउटा इँटा उद्योगलाई आवश्यकताअनुसार सिजनमा सात सयदेखि एक हजार टनसम्म कोइला आवश्यक पर्छ।

इँटाभट्टाका लागि पछिल्लो समय माटो अभाव झेल्नुपरेको व्यवसायीले बताउँदै आएका छन्। एउटा इँटा उद्योगलाई दस चक्के टिप्परको १६/१७ हजार टिप्पर माटो आवश्यक पर्छ। तर माटो धनीले माटोको मूल्य नबढाएता पनि ढुवानीको मूल्य स्वाभाविक रुपमा बढ्ने गरेको छ। ‘प्रायः नजिकै माटो भेटिँदैन, माटो खोज्न टाढा जानुपर्दा ढुवानी खर्च बढ्ने गरेको छ’, व्यवसायी लिलाराज पराजुली भन्छन्।

कोसी प्रदेशमा यतिबेला प्रायः सबै इँटा व्यवसायीले इँटा थाप्ने (काँचो इँटा बनाउने) काम युद्दस्तरमा गरिरहेका छन्। यसरी तयार गरेको इँटा सरकारी नियमअनुसार माघदेखि पोल्न पाइन्छ। माघदेखि सुरु भएको पोल्ने काम मौसमले साथ दिएमा जेठको दोस्रो सातासम्म गर्न सकिन्छ। त्यसपछि भने बर्खा लागेर काम रोकिने गरेको छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१० घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस