पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना
२४ साउन २०८२
•
९ मिनेट पाठ
पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना
तराईको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरु भएको उनको जीवन यात्रा हाल अन्तर्राष्ट्रिय जगतसम्म फैलिएको छ। एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उनका अनुभव यस आलेखमा खोतल्ने प्रयास गरिएको छ। उनले नेपालमा लगानीका लागि गरेका प्रयासहरू कस्ता रहे त? उनबाट यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरिएको छ।




नेपाली मूलका क्यानडेली व्यवसायी। ‘अर्डर अफ क्यानडा’ प्राप्त सफल उद्यमी। डिजी मार्केट इन्टरनेसनलका संस्थापक। महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिएका हुन्, आदित्य झा। उन नेपालमा उद्यमशीलता विकास गर्नका लागि लोभलाग्दा अवसर रहेको बताउँछन्।  

झाको दाबी छ, 'यदि मलाई नेपालमा काम गर्ने मौका दिइयो भने म परिणाम पनि दिन सक्छु। कसरी जम्मा एक जनाले सिंगापुर बनाउन सक्छ? किन नेपालमा त्यस्तो दूरदर्शी नेता छैन?'

थुप्रै नेपाली विदेश गएर उद्यम व्यवसायीमा जमेका छन्। लोभलाग्दा सफलता छन्। उनीहरूले नेपाललाई साँच्चिकै माया गर्छन् र फर्किएर यहीँ काम गर्न चाहन्छन्।  

त्यसका लागि के गर्नुपर्ने हो?

'पलायन नेपालमा सामाजिक रोग बनेको छ। किनभने यहाँका धेरैजसो युवाले सोच्छन्– हामी गरिब छौँ, हाम्रो जीवन राम्रो छैन। सरकारी जागिर खोज्ने वा विदेश जानुलाई जीवनको ठूलो उपलब्धि ठान्छन्। तर उनीहरूलाई साना व्यवसायमार्फत आत्मनिर्भर बनाउन सकिन्छ। रु ५० हजारदेखि १० लाखसम्मको पुँजी दिएर क्रमिक रूपमा सशक्त उद्यमी बनाउन सकिन्छ,' उनी विश्वासका साथ भन्छन्।

सन् २०१८ देखि २०२३ सम्म झा नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत खरिद व्यवस्थापनमा जोडिएको सफ्टवेयर प्रणाली सञ्चालनसँग जोडिए। 'मेरो कम्पनीले त्यहाँ पाँच वर्षसम्म काम गर्‍यो। ठूलो टोली थियो। तर पछि अर्को कम्पनीलाई काम दिइयो। अहिले सुनिरहेको छु, खरिदसँग सम्बन्धित अनलाइन प्रणाली फेरि अस्तव्यस्त छ,' उनले सुनाए।

नेपालको खरिद प्रक्रियालाई ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजनाले काम गरेको उन सुनाउनुहुन्छ। तर अस्थिरता र भ्रष्टाचार? को कोपभाजनमा पर्‍यो उनको योजना। 'नेपालमा न काम हुन्छ न भ्रष्टाचार रोकिन्छ। अरू देशमा पनि भ्रष्टाचार हुन्छ, तर कम्तीमा काम त हुन्छ। यहाँ त केवल भ्रष्टाचार हुन्छ, काम नै हुँदैन,' यो उनको कटु अनुभव हो।

'सबैभन्दा पहिले खराब कर्मचारी र विचौलियाबाट बचाइदेऊ। किनभने अहिले भइरहेका धेरै काममा आसेपासेहरूले फाइदा उठाइरहेका छन्,' उनको भनाइ थियो। 

नेपालमा झाका नराम्रा अनुभव मात्रै रहे। उनलाई लाग्छ, आलोचनात्मक राजनीतिक सोच राखेर इमान्दारीपूर्वक काम गर्ने र योग्य मान्छेहरू ल्याएर जिम्मेवारी दिने हैसियत अहिले नेपालको राजनीतिमा छैन। नेपाल त्यसका लागि तयार पनि छैन। सूचना प्रविधि र कृत्रिम बौद्धिकताको क्षेत्रमा नेपालले धेरै गर्न सक्छ। तर त्यसका लागि व्यवसायीलाई कुनै हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ।

'बीस वर्षअघि भियतनाम कहाँ थियो र नेपाल कहाँ थियो? तर अहिले भियतनाम कहाँ पुग्यो? नेपाल किन रोकियो भन्ने कसैले प्रश्न गर्दैन।' उनको बुझाइमा राजनीतिक दूरदर्शिता भएको नेतृत्व नेपालल पाउन सकेन। नागरिकमा पनि ‘यो मेरो देश हो’ भन्ने भावना नहुनु र देशलाई माया गर्ने भावना हराउनुलाई पनि उनी समस्या देख्छन्।  

'राष्ट्रको समृद्धिमा राजनीतिज्ञको ठूलो भूमिका हुन्छ,' उनले जोड दिएर भने।  

'कस्तो भूमिका?'

'मुलुकको समृद्धि भनेको दियोजस्तो हो। दियो आफैँ बल्छ, तर हावा चल्दा निभ्न नदिन केही चाहिन्छ। राजनीति भनेको त्यही हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो।'

उनले भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुलाई उदाहरण दिँदै भने, 'एक नेताको भिजनले हैदरावादलाई आइटी हब बनायो। जब उनले हैदरावादलाई सूचना प्रविधिमा लैजान सुरु गरे, त्यसबेला कसैले हैदरावाद चिनेका थिएनन्। भारतमा बैङ्गलोर, चेन्नई, दिल्ली र मुम्बई मात्र चर्चामा थिए। तर अहिले हैदरावाद कहाँ पुग्यो?'

उनलाई लाग्छ, यस्तै केही राजनीतिक दृष्टिकोण भएका नेताहरू र केही उद्यमीहरू मिलेर अघि बढ्न सके नतिजा देखिन्छ।

'नेपालले सूचना प्रविधि, कृत्रिम बौद्धिकताजस्ता क्षेत्रलाई प्राथमिकता दिएर पाँच–दश उद्यमी पहिचान गरेर भन्नुपर्छ, हामी तिमीहरूलाई छुँदैनौँ, जाऊ, संसार जितेर आऊ, नेपालबाट केही बनाऊ, त्यसपछि हेरौँ, कस्तो नतिजा आउँछ,' झाको उत्साही निष्कर्ष थियो।

नेपाल अहिले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइरहेको छ। झाको विज्ञताको क्षेत्र पनि आईटी भएकाले यस क्षेत्रमा किन नजाने? जवाफमा उनले अर्को तितो अनुभव सुनाए।

आइटीमा आफूले पाएको सफलताको अनुभवमा उनी भन्छन्, 'तपाईँ नेपालको आइटी क्षेत्रमा काम गर्नुहुन्छ भने तपाईँको सफलता फरक हुन्छ, त्यही व्यक्ति पटना (भारत) मा आइटी पेसामा भए अर्को हुन्छ।'

अहिले झा विद्युतीय सार्वजनिक खरिद (इ–प्रोक्युरमेन्ट) र बोलपत्र व्यवस्थापन गर्ने विश्वकै पुरानो र ठूलो कम्पनीमध्ये कम्पनी डिजिमार्केट इन्टरनेसनल इन्कको नेतृत्व गरिरहेका छन्। यो कम्पनीका नौ देशमा कार्यालय छन्। कतै एक जना मात्र कर्मचारी छन्, कतै तीन जना। भारतमा सबैभन्दा धेरै ८० हाराहारी कर्मचारी छन्। तर झाको सपना भनेको नेपालमै यसलाई विशाल बनाउने थियो।

किन यस्तो सफलता नेपालमै सम्भव भएन? क्यानडा नै किन जानुपर्यो? किन यस्तो सफलता नेपालमै बन्न सक्दैन? किन मानिसहरू विदेश गएर मात्रै राम्रो गर्छन्? यहाँ यो किन सम्भव भएको छैन? अनि विदेश गएर सफल भएका नेपालीहरूले फर्केर यहाँ आएर यस्तो बनाउन सक्छन् कि सक्दैनन्?'

उनलाई लाग्छ – सायद नेपालको राजनीतिक अस्थिरता, प्रशासनीक उल्झन, भनसुनको प्रवृत्ति मुख्य समस्याहरू हुन्।

'म टोरन्टोमा बसेको मान्छे, मलाई थाहा छैन त्यहाँको प्रहरी कमिस्नर को हुन्। मलाई थाहा हुनु पनि पर्दैन। तर नेपालमा मानिसहरू गर्वका साथ भन्छन्, 'म फलानो डिएसपीलाई चिन्छु, फलानो मन्त्री, फलानो जिल्लाको सिडिओलाई चिन्छु,' झाको जवाफ थियो।

भनसुन प्रवृत्ति नेपालको समस्या हो। अरु देशमा नागरिकलाई सबै नेताको नाम थाहा नहुन सक्छ। किनभने उनीहरूलाई थाहा हुनुपर्ने नै हुँदैन। 'तपाईँ आफ्नो काम गर्नुहोस्, त्यसैमा महत्व छ। यो नै सभ्य समाजको चिनारी हो।'

उनले अगाडि थपे, 'हामी नेपाल सानो देश भन्छौँ। तर सिङ्गापुर पनि त सानो नै हो। युरोपका धेरै देश त नेपालभन्दा पनि साना छन्। तर तिनको विकासमा भूगोलले कहिले रोक लगाएन। समस्या हाम्रो सोचाइ र संरचनामा छ।'

सन् २००३ तिर झालाई व्यावसायिक सफलता मिलिरहेको बेला उनको मनमा एउटा सपना पलायो, 'नेपालमा पनि आइआइटीजस्तो संस्था कसरी सुरु गर्न सकिएला?'

त्यो बेला भारतमा जम्मा चार/पाँच वटा मात्र आइआइटी थिए। अहिले त्यो सङ्ख्या निकै बढिसकेको छ।

उनले सम्झे, 'तपाईँ इतिहास हेर्नुहोस्, अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्डजस्ता विश्वविद्यालयहरू पनि व्यापारीहरूको आर्थिक सहयोगबाट नै राम्रो बनेका हुन्। तर ती विश्वविद्यालय स्वतन्त्र थिए। व्यवसायीहरूले पैसा त दिए, तर चलाउने उनीहरूले होइन।'

झाले नेपालका विद्यालयहरूलाई सहयोग गर्ने चाहना राखेका थिए। तर नेपालमा अवस्था फरक छ। उनी भन्छन्, 'कुनै ट्रस्ट बनाइयो भनेर नाफारहित त भनिन्छ, तर नाफा चाहिँ व्यक्तिको खल्तीमा जान्छ। अस्पताल ट्रस्टको नाममा खोलिन्छ, तर पैसा घुमाएर उनीहरूकै खल्तीमा। यो प्रवृत्ति नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा उस्तै छ।'

नेपालमा काम गर्ने उनका अनुभव खासै राम्रो रहेनन्।

'जब मैले राम्रो पैसा कमाएँ, तब लाग्यो– किन काठमाडौं वा नेपालमा एउटा आइआइटीजस्तो संस्था हुँदैन,' उनले दुई दशक अघिको प्रयास सम्झिए। नेपालमा करिब १०० करोड लगानी गरेर एउटा इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्ने। व्यवसाय वा नाफाका लागि होइन, सरकारी मापदण्डमा चल्ने तर प्राइभेट– हार्वर्ड, एमआइटीजस्तै।

झाले अनुभव सुनाए, 'म करिब एक वर्षसम्म त्यसमा लागेँ। क्यानडाबाट मान्छे झिकाएँ। तर म असफल भएँ। त्यो बेला म अलि अनुभवहीन थिएँ। आजको दिनमा गर्ने भए अर्कै शैलीमा गर्थेँ। किनकि अहिले मैले नेपाललाई धेरै बुझिसकेको छु।'

त्यो प्रोजेक्ट व्यावसायिक फाइदाको लागि थिएन भन्ने बुझाउन सकिएन कि जस्तो लाग्छ झालाई।

उनको दोस्रो अनुभव पनि उस्तै।

अमेरिकामा बस्ने झाका एकजना प्रोफेसर साथी आएर भने, 'आदित्यजी, तपाईँले काठमाडौंका स्कुलमा कम्प्युटर बाँड्नका लागि लागि पैसा दिनुपर्छ।'

झाले सोधे, 'कति चाहिन्छ?'

साथीले भने, '१० वटा स्कुलका लागि डेस्कटप।'

सायद झाले करिब १० हजार डलर दिए।

केही महिनापछि थाहा भयो – कम्प्युटर स्कुलमा त पुगेछन्, तर चल्दैनन्।

भएछ के भने, झाले विश्वास गरेको व्यक्ति नेपालका एक मन्त्रीका भतिजा रहेछन्। उनीहरूले नयाँ कम्प्युटर किन्नुपर्नेमा पुराना किने। ढुवानीमा धेरै पैसा खर्च गरेँ। अनि ती कम्प्युटर स्कुलमा राखिदिए।

यो कुरा झालाई थाहा भएपछि झाले आफ्नो साथीलाई त्यो प्रोजेक्टबाट आफ्नो नाम हटाउन भने। यो प्रयास पनि असफल भयो।

तेस्रो, कसैले उनलाई सुनाए, 'तपाईँ त तराईको मान्छे, जनकपुरका स्कुललाई सहयोग गर्नुस्।'

त्यसबेला अमेरिकामा ‘वन ल्यापटप पर चाइल्ड’ नामको प्रोजेक्ट चलिरहेको थियो। त्यो अवधारणा नेपालमा पनि लागु गर्न सकिने सोच बनाएर एक सय थान कम्प्युटर किनेर उनले जनकपुर पठाए। धेरै दुःख गरेर रेलमा सीतामढी हुँदै ल्याएर भन्सार तिरी ती कम्युटर जनकपुर आइपुगे। तर स्कुलमा कम्युटर ल्याब बनाउन अझै पूर्वाधार तयार थिएन। केही समयका लागि ती कम्प्युटर जिल्ला प्रशासनको रोहवरमा एउटा कोठामा राखियो, ताला लगाइयो, सिल गरियो।

तर केही महिनापछि झालाई फोन आयो, 'आधा कम्प्युटर हरायो।'

झाले सोधे, 'तपाईँले सिल गर्नुभएको थिएन?'

जवाफ आयो – 'सिल छ, ताला छ, तर ल्यापटप छैन।'

त्यसपछि बाँकी कम्प्युटर स्कुललाई दिइयो। केही समयपछि फेरि फोन आयो– 'स्कुलबाट फेरि २५ वटा कम्प्युटर हरायो। अब के गर्ने?'

झाले भने, 'अब मलाई मतलब छैन। जेसुकै गर।'

नेपालमा यति धेरै असफलता भोगेपछि झाले आफ्नो परोपकारी कामलाई क्यानडामै केन्द्रित गरे। अहिले उनको नामबाट तीन विश्वविद्यालय र दुई कलेजमा १४ वटा अक्षयकोष स्थापना छन्– टोरन्टो मेट्रोपोलिसन युनिभर्सिटी, योर्क युनिभर्सिटी, ट्रेन्ट युनिभर्सिटी, जर्ज ब्राउन कलेज, सेन्टेनियल कलेजमा झाका अक्षयकोषबाट करिब ७० हजार क्यानाडियन डलर बराबरको छात्रवृत्ति हरेक वर्ष वितरण हुन्छ। बीसभन्दा बढी विद्यार्थी लाभान्वित हुन्छन्। उनको लक्ष्य यो बढाएर डेढ करोड क्यानाडियन डलरसम्म पुर्‍याउने छ। साथै उन क्यानाडाका आदिवासी (अबोरिजिनल) समुदायलाई पनि उद्यमशील बनाउन खटिरहेका छन्।

यद्यपि अहिले पनि झाका मनमा एउटा ठूलो सपना बाँकी छ – नेपाल र बिहारका साना उद्यमीलाई सहयोग गर्ने। यस पटक भने उनको ध्यान ‘आइटी’ वा शिक्षा क्षेत्रमा छैन, उद्यमशीलतामा छ।  

'नेपालमा झण्डै एक हजारदेखि पाँच हजारसम्म र त्यति नै सङ्ख्यामा विहारमा पनि साना उद्यम सिर्जना गर्न चाहन्छु,' उनी भन्छन्।

गाईपालन, बाख्रापालन, कुखुरापालन, तरकारी पसल, सैलुनजस्ता साना स्वरोजगारमूलक व्यवसायमा मानिसहरूलाई कसरी लगानी गर्ने, व्यवसाय चलाउने र पुँजी जोगाउने भनेर सिकाउने उनको मुख्य ध्येय हो।

'यदि मैले ५० जिल्लामा पुगेर हरेक जिल्लामा कम्तीमा २०–२५ जनालाई व्यवसाय गराउन सक्छु भने त्यसको प्रभाव निश्चित रूपमा देखिनेछ। मेरो टोलीले उनीहरूलाई उद्यम कसरी गर्ने र नाफामा कसरी लैजाने भनेर सिकाउनेछ। यही मेरो अन्तिम सपना परियोजना हुनेछ। यही मेरो पूजा हुनेछ। यही पशुपति, काशी र केदारनाथ हुनेछ।'

झालाई लाग्छ – नेपालमा शिक्षाभन्दा उद्यमशीलता अझ धेरै प्राथमिकताको विषय हो।
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
३७ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस