खुला सिमानाको असर : वार्षिक लक्ष्य घटाउँदा पनि राजस्व सङ्कलन भएन
१८ साउन २०८२
•
५ मिनेट पाठ
खुला सिमानाको असर : वार्षिक लक्ष्य घटाउँदा पनि राजस्व सङ्कलन भएन
खुला सीमानाकाबाट हुने अवैध चोरी पैठारी र निकासी नरोकिँदा वीरगञ्जका दुई भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा वार्षिक लक्ष्य घटाउँदा पनि सोहीअनुसारको लक्ष्य सङ्कलन गर्न चुकेका छन्।




पर्सामा एक सय सात किलोमिटर खुला सीमानाका र सीमावर्ती वीरगञ्ज महानगरसहित पर्साका सर्वसाधारणले अत्यावश्यक सरसमान पनि सीमावर्ती भारतीय बजारबाटै खरिद गर्ने भएकाले पनि लक्ष्यअनुसारको राजस्व भेट्टाउन मुस्किल भएको हो।

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई गत आवमा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो। तर कार्यालयले सो अवधिमा लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात् रु एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व सङ्कलन गरेको छ। विभागले कार्यालयलाई अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य पनि रु २६ अर्ब ९३ करोडले घटाइदिएको थियो।  

जबकि अघिल्लो आव २०८०/८१ मा भने रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रकममात्र राजस्व सङ्कलन गरेको थियो।  

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चोरी पैठारी र निकासी खुला सीमानाकाका कारणले चुनौतीपूर्ण रहेको बताए। 'सीमावर्ती क्षेत्रमा दुवै मुलुकका जनता सहजै रूपमा आउजाउ गर्ने र रोटीबेटीको सम्बन्धका कारणले पनि खुला सीमानाका चुनौतीपूर्ण रहेको छ,' उनले भने।  

विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई गत आवमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर कार्यालयले गत आवभरिमा भने रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ। विभागले अघिल्लो आवमा भने सुक्खाबन्दरगाहलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार सङ्कलन गरेको छ।  

प्रमुख भन्सार प्रशासक लामिछानेले भन्सार विभागले अघिल्लो आवको तुलनामा गत आवमा वार्षिक भन्सार सङ्कलन गर्ने लक्ष्य घटाएता पनि गत आवमा करिब १२ प्रतिशत भन्सार राजस्व सङ्कलनमा वृद्धि भएको बताए। 'समग्रमा अर्थव्यस्थामा देखिएका समस्याका कारणले पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको हो, तर अघिल्लो आवमा भन्दा गत आवमा राजस्व बढ्नुमा भने आर्थिक गतिविधि बढ्नु नै हो,' उनले भने।

प्रमुख भन्सार प्रशासक लामिछानेले सीमावर्ती क्षेत्रका जनताले व्यापारिक हिसाबले भन्दा पनि सामान्य घरव्यवहार र दैनिक उपभोग्य सरसमान ल्याएको हुनसक्ने दाबी गर्छन्। सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल नेपाल र प्रहरीले सीमानाका वा सहरी क्षेत्रबाट बरामद हुने भन्सार छली तथा बिलबिजक नभएका सामानको बरामदको तथ्याङ्कले पनि जिल्लामा अवैध चोरीपैठारी र निकासी हुने कुरालाई थप पुष्टि गर्दछ।

भारतसँग जोडिएको खुला सीमानाका, स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार प्रशासनको प्रभावकारी ढङ्गले काम नहुँदा पनि सीमावर्ती क्षेत्रमा अवैध चोरीपैठारी र निकासी अपेक्षाकृत ढङ्गले नियन्त्रण हुन भने सकिरहेको छैन।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले नीतिगत रूपमा वैध कारोबारभन्दा अवैध कारोबारले प्रक्षय पाएकाले पनि सीमावर्ती क्षेत्रमा अवैध चोरीपैठारी तथा निकासी हुने गरेको बताउँछन्। 'राज्यका निकायले मुलुकको अर्थतन्त्र लयमा फर्किएको जतिसुकै दाबी गरे पनि अझैसम्म पनि लयमा फर्किएको छैन। जसको कारणले पनि अपेक्षाकृत ढङ्गले राजस्व बढ्न सकिरहेको छैन,' उनले भने, 'उद्योग व्यवसायीको मनोबल बढाउने खालका गतिवधि नगर्दा पनि सोहीअनुसारको राजस्व सङ्कलन हुन सकेन।'

वीरगञ्ज भन्सार कार्यालयले गत आवमा सबैभन्दा धेरै राजस्व  पेट्रोलियम पदार्थको आयातबाट मात्र रु ८० अर्ब ९२ करोड र यातायातका साधन र तिनका पार्टपुर्जाबाट भने रु १९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ। अध्यक्ष गौतमले राज्यले अपनाएको गलत भन्सार नीतिका कारणले नै सीमावर्ती क्षेत्रमा औपचारिकभन्दा अनौपचारिक ढङ्गले वस्तु तथा सामान आयात हुने प्रवृत्ति रहेको बताए।  

दुवै सुरक्षा निकायद्वारा पर्सामा अर्ब बढीका सामान बरामद

पर्सामा रहेका दुवै सुरक्षा निकायले एक वर्षमा रु एक अर्ब मूल्य पर्ने भन्सार छली तथा बिलबिजक नभएका सामान बरामद भएको जनाएका छन्। जिल्ला प्रहरी कार्यालयले गत आवमा बिलबिजक नभएको भन्दै रु ५२ करोड चार लाख ५८ हजार २९३ मूल्य पर्ने ९१ वटा मालबाहक सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ। त्यस्तै गत आवमा पर्सा प्रहरीले रु सात करोड ८९ लाख ४३ हजार ११० मूल्य पर्ने भन्सार छलीका सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ।  

पर्सा प्रहरीले विशेषगरी बिलबिजकभन्दा धेरै सामान बोकेका मालबाहक सवारीसाधन, सवारीसाधनका पार्टपुर्जा हार्डवेयर, इलेक्ट्रिक्स, लत्ताकपडा, ड्राइफ्रुट्सलगायत सरसामान बरामद गर्दै आइरहेको जनाएको छ। पर्साका ग्रामीण क्षेत्रमा भारतबाट भैँसी, कुखुराको चल्ला, विभिन्न प्रकारका गुट्खा, ड्राइफुट्सलगायत वस्तु तथा सामान तस्करी हुने गरेको स्रोतले दाबी गरेको छ।

'सहरी क्षेत्रमा पनि क्यारिङमार्फत लत्ताकपडा र मोर्टसपार्टस् अवैध रूपमा भित्रिरहेको देखिन्छ। ग्रामीण क्षेत्रमा त खुला सीमानाकाको फाइदा उठाउँदै तस्करीका गतिविधि त सामान्य भइहाल्यो नि, सो कुरा सुरक्षा निकायले गोदाममा छापा मारेका सामानबाटै पनि पुष्टि हुने गर्छ,' स्रोतले भन्यो।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सीमा क्षेत्रबाट हुने अवैध चोरीपैठारी तथा निकासी नियन्त्रणका लागि प्रयास गरिराखेको दाबी गरे। 'खुला सीमानाका भए पनि अधिकतम तस्करी रोकथामको प्रयासमा जुटिरहेका छौँ,' उनले भने।

वीरगञ्जस्थित सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयले संयुक्त रूपमा वीरगञ्जको सहरी क्षेत्रमा अवैध रूपमा सञ्चालन गरिँदै आएको गोदाममा छापा मारेर औसतमा सातामा दुई पटकसम्म करिब रु सात लाखदेखि १५ लाखसम्मका अवैध  लत्ताकपडा र सवारीसाधनका पार्टपुर्जालगायतका घरासयी प्रयोजनका सामान पनि बरामद गर्दै आइरहेको छ। अर्काेतर्फ सशस्त्र प्रहरीका जिल्लामा भएका अन्य युनिटले सोही परिमाणका सरसामान बरामद गर्दै आइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटर पर्साले गत आव २०८१/८२ मा रु ४० करोड ९१ लाख ९७ हजार ३७७ मूल्य पर्ने भन्सार छली तथा बिलबिजक नभएको सामान बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरीले गत आवमा भन्सार छलीका रु २८ करोड ९२ लाख ५० हजार १९९ मूल्यका सामान भन्सार कार्यालयमा बुझाएको थियो।

त्यस्तै गत आवमा भने रु ११ करोड ९९ लाख ४७ हजार १७८ मूल्य पर्ने बिलबिजक नभएका सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको थियो। वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी पनि विशेष सूचनाको आधारमा भन्सार कार्यालय र सशस्त्र प्रहरीले भन्सार छली गरेर अवैध रूपमा सामान सङ्कलन गरेको गोदामबाट विभिन्न प्रकारका सामान बरामद गर्दै आइरहेको बताउँछन्। रासस
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
३ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
यो पनि पढौँ
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस