गोलभेडा सस्तो, किसानको दुःख महँगो
१५ असार २०८३
•
३ मिनेट पाठ
गोलभेडा सस्तो, किसानको दुःख महँगो
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितपोलमा व्यावसायिक रूपमा गोलभेडा खेती गर्दै आएका किसान रिखेश्वर भट्टराईको बारीमा अहिले सबैतिर लटरम्म राताराता गोलभेडा फलेका छन् । फागुन १० गतेदेखि रोपेको गोलभेडा सबैतिर लटरम्म फल्दा उनको मुख हँसिलो हुनुपर्ने थियो । तर विडम्बना, त्यसो हुन सकेको छैन, बरु उनको अनुहारमा गहिरो निराशा देखिन्छ ।




हरियालीले ढाकिएको गोलभेडाको बारी हेर्दा यसपालि राम्रो आम्दानी हुने आशा पलाएको थियो । तर फलेको गोलभेडा अहिले प्रतिकेजी १२ रुपैयाँमा बेच्नुपर्दा उनलाई चित्त दुखेको छ । “१२ रुपैयाँमा गोलभेडा बेच्नु भनेको उत्पादन बेच्नु होइन, घाटा बेच्नु हो,” उनी भन्छन्, “यति मूल्यले त मजदुरलाई गोलभेडा टिप्न दिएको ज्याला पनि पुग्दैन । बरु खेतमै कुहिन दिनु नै सस्तो पर्छ जस्तो अवस्था आएको छ ।”

यति गोलभेडा फलाउन उनले बीउदेखि मल, विषादी, सिँचाइ, प्लास्टिक टनेल, डोरी, बाँस, यातायात र मजदुरीसम्म जोड्दा लाखौँ रुपैयाँ लगानी परेको सुनाए । उनले ४५ रोपनी जग्गा भाडामा लिएर झण्डै एक दशकदेखि व्यावसायिक गोलभेडा खेती गर्दै आएको जनाए । उनका अनुसार जग्गाको भाडा मात्रै वार्षिक १५ लाख रुपैयाँ तिर्नुपर्छ ।

उनी भन्छन्, “एक केजी गोलभेडा टिप्न मजदुरलाई १५ देखि २० रुपैयाँसम्म ज्याला दिनुपर्छ । अहिले बजारले दिएको मूल्य १२ रुपैयाँ मात्रै छ । यसरी बेच्दा प्रत्येक केजीमा घाटा हुन्छ ।”

उनी आफूसहित श्रीमती र कलेज पढ्ने एक छोरी पूर्ण रूपमा यही काममा लागेको बताउँछन् । यतिले मात्रै नपुगी एक दर्जन मजदुरलाई मासिक तलब दिएर काम गराइरहेको जानकारी गराए ।

उनका अनुसार आफूले प्रतिकेजी १२ रुपैयाँमा गोलभेडा बेच्दा पनि उपभोक्ताले बजारमा ४०, ५० वा ६० रुपैयाँसम्म तिर्नुपरेको छ । बीचको मूल्य कहाँ जान्छ? यो प्रश्न वर्षौँदेखि दोहोरिँदै आएको छ । किसानले न्यून मूल्य पाउँछन्, उपभोक्ताले महँगो किन्छन्, तर दुवै सन्तुष्ट छैनन् । यसले कृषि बजार व्यवस्थापनमा अझै पनि गम्भीर कमजोरी रहेको स्पष्ट संकेत गर्ने उनको भनाइ छ ।

बजारमा उत्पादन बढी भयो भने मूल्य एकाएक घट्छ । उत्पादन कम भयो भने उपभोक्ताले महँगो मूल्य तिर्नुपर्छ । दुवै अवस्थाको भार अन्ततः किसान र उपभोक्ताले नै बोक्नुपर्ने उनको दुखेसो छ ।

कृषि विज्ञहरूका अनुसार शीतभण्डारको अभाव, प्रशोधन उद्योगको कमी, प्रभावकारी बजार सूचना प्रणाली नहुनु, न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन नहुनु तथा बिचौलियाको प्रभाव बढ्नु यस समस्याका प्रमुख कारण हुन् । यही कारण पछिल्ला वर्षहरूमा धेरै युवाहरू आधुनिक व्यावसायिक खेतीतर्फ आकर्षित भए पनि सन्तुष्ट हुन सकिरहेका छैनन् । विदेशबाट फर्किएर पनि धेरैले कृषि रोजे, तर बारम्बार दोहोरिने मूल्य अस्थिरताले उनीहरू निराश बन्दै गएका छन् ।

कृषकहरू उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रणाली, सरकारी खरिद, शीतभण्डारको विस्तार, प्रशोधन उद्योगको स्थापना तथा बिचौलियाको नियन्त्रणको माग गरिरहेका छन् । उनीहरूको भनाइ छ, किसानले उत्पादनको उचित मूल्य पाए मात्रै कृषि पेशा दिगो र सम्मानजनक बन्न सक्छ । कृषि उत्पादनको मूल्य निर्धारणदेखि बजार व्यवस्थापनसम्म राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेसम्म यस्ता समस्या दोहोरिरहने किसानहरूको गुनासो छ ।

नेपाललाई कृषिप्रधान देश भनिए पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउने अवस्था कायम रहँदासम्म त्यो नारा व्यवहारमा सार्थक बन्न नसक्ने किसानहरूको भनाइ छ । त्यसकारण आफूहरूलाई सहानुभूति होइन, उचित मूल्य, न्यायपूर्ण बजार व्यवस्था र दीर्घकालीन कृषि नीति आवश्यक भएको उनीहरू औँल्याउँछन् । किसानको पसिनाको सम्मान हुने दिन मात्रै नेपालको कृषि क्षेत्र वास्तवमै समृद्धिको आधार बन्न सक्छ, उनीहरूको भनाइ छ ।

विगत १० वर्षदेखि च्याउ खेती गर्दै आएका भक्तपुरका अर्का किसान दयाराम मचामसी आफूले च्याउखेती थाल्दा प्रतिकेजी च्याउ १५० रुपैयाँमा बेच्ने गरेको र अहिले १० वर्षपछि पनि प्रतिकेजी १५० देखि २०० रुपैयाँमै बेच्दै आएको जानकारी गराए । “यसरी किसान कहिले उकासिन्छ?” उनको गम्भीर प्रश्न थियो ।
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
३२ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस