जेन-जीको माग र दबावपछि जलजलेस्थित पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग लिमिटेड’ सुचारु भएको छ । ओली सरकारले निजीकरण गर्ने निर्णयसँगै ८ महिनायता ठप्प रहेको उद्योग सोमबार फाईरिङ भएको हो ।
त्रियुगा नगरपालिका ६ जलजलेमा रहेको उद्योग विगत ८ महिनायता पूर्णरुपमा बन्द थियो । गत वैशाख अन्तिमतिर ओली सरकारले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग, गोरखकाली रबर उद्योगलगायत विभिन्न ७ वटा पूर्ण सरकारी स्वामित्वका उद्योग तथा कलकारखाना निजीकरण गर्ने निर्णय गर्दै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।
स्थानीयको विरोधका बावजुद सरकारले हेटौँडा र उदयपुर सिमेन्ट उद्योग निजीकरण गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वका उद्योगबाट सिमेन्ट उत्पादन हुन रोकिएको थियो ।
भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि निजीकरणको प्रक्रिया केही समय रोकिएकै बेला स्थानीय युवाहरुको टोलीले उद्योगमन्त्रीलाई भेटेर तत्काल उद्योग सुचारु गर्न माग गरेका थिए । त्रियुगा नगरपालिका ६ का वडा सदस्य प्रवेश खड्का नेतृत्वमा युवाहरुको प्रतिनिधिमण्डल टोलीले उद्योगमन्त्री अनिलकुमार गुप्तासँग भेट्दै उद्योग तत्काल सुचारु गर्न माग गरेको थियो ।
युवाहरुको माग बमोजिम मन्त्री गुप्ताले केही दिनभित्रै उद्योग सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रतिबद्धता बमोजिम उद्योग सुचारु गर्ने गरि सोमबार फाईरिङ भएको वडा सदस्य खड्काले बताए ।
खड्काले कुनै पनि हालतमा सरकारी उद्योग निजीकरण नगर्न चेतावनी दिदै मन्त्री गुप्तालाई सो निर्णय कार्यान्वयन नगर्न पनि माग गरेको बताएका छन् । खर्बौँको सम्पत्ति कौडीको भाउमा बेच्नलाई निजीकरणको निर्णय गरिएको निश्कर्ष आफुहरुको रहेको भन्दै सो निर्णयप्रति स्थानीयबासी र युवाहरुको कडा आपत्ती रहेको उनले बताए । निजीकरण गर्ने निर्णयविरुद्ध जुनसुकै र जस्तोसुकै कदम चाल्न पनि युवाहरु बाध्य भएको खड्काको भनाई छ ।
‘उदयपुर सिमेन्ट उद्योग नेपाली सिमेन्ट बजारमा दक्षिण एसियामै कहलिएको र मानक बनिसकेको गैँडा ब्राण्ड उत्पादक कारखाना हो’ खड्काले भने ‘अर्को कुरा यो मित्र राष्ट्र जापानको अनुदान सहयोगमा स्थापित पूर्ण सरकारी स्वामित्वको उद्योग हो । त्यसैले यसको निजीकरण गर्ने कुरै हुन्न, बरु के गरि, कति बजेट लाग्छ, मर्मत र स्तरोन्नति गरेर निरन्तर उत्पादन गर्नेगरि सञ्चालनमा ल्याउन मन्त्रीलाई आग्रह गरेका छौँ ।’
उद्योग व्यवस्थापनले हाललाई २५ दिनसम्म चल्न पुग्ने कच्चा पदार्थ (कोइला, डिजल, जिप्सन, रातोमाटो र चुन ढुङ्गा)को व्यवस्था गरि फाईरिङ गरिएको जनाएको छ । प्रशासन महाशाखा प्रमुख गम्भीरजङ खत्रीले अहिले २५ दिनसम्म चल्ने १ हजार ५ सय टन कोईला मौज्दात रहेको र आवश्यक डिजललगायत कच्चा पदार्थ रहेको बताए । उनका अनुसार रातोमाटो र चुन ढुङ्गा आफ्नै खानीमा रहेकाले कोईला, डिजल र जिप्सन मात्र किन्नु पर्ने हुन्छ ।
२५ दिन पुग्ने कोईला र डिजेल व्यवस्थाका लागि आवश्यक रकम यसअघि १० दिन उद्योग सञ्चालन हुँदा उत्पादित सिमेन्ट बिक्रीबाट गरिएको खत्रीले बताए । एक वर्षदेखि मर्मत नहुदा बन्द भएको उद्योग अवकाश प्राप्त निमित्त महाप्रवन्धक महेशकुमार साहले जागीरको उत्तराद्र्धमा गत वैशाखमा १० दिन सञ्चालन गरेका थिए । बजेट अभावले मर्मत हुन नसक्दा बन्द हुन पुगेको उद्योगलाई पुँजीगत खातामा रहेको रकम चालुमा परिणत गरेर वैशाख ४ गतेदेखि १४ गतेसम्म सञ्चालन गर्दा झण्डै १ लाख बोरा सिमेन्ट उत्पादन भएको थियो ।
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।
सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।
रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।
‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’
उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।
‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’
अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।
नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।
‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।
उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’
एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्।
ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए।
‘उनको भन्सार जाँच पास गराउनुपर्यो भने अहिले पनि समस्या । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’
उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।
भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’
उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।
‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।
पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।
जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।
कच्ची सडक भएको र यो वर्षको बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...